Logo

विराटनगरको सडक सौन्दर्यकरणका लागि नविल बैंकको सहयोग

विराटनगर– विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।

बैंकले सोमबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, एसबिआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्‍याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र बिरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । मेयर कोइरालाले बैंकहरुको सहयोगकै कारण बरगाछीदेखि रोडशेषचोकसम्मको सौन्दर्यकरण भइसकेको जानकारी दिए ।नविल बैंकको कोशी प्रदेशमा ४० वटा शाखा छन् । जसमध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् ।

प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाए । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्