ठमेलमा नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’
काठमाडौं– पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामो समय पर्यटन र सेवा उद्योमा क्रियाशील राजन सिंखडा र मोहन लम्सालको अग्रसरतामा सेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो ।
नेपालको मध्य पहाडी क्षेत्रको खाना प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने तथा सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालक राजन सिम्खडाले बताए । सिम्खडा नेपाली खानाको आधार नै अचार भएको बताउँछन् । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने उनले बताए ।
थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर नेपाली स्वाद दिने कोसिस गरिएको छ । गोल्डेन थालीमा मासुसहित विभिन्न १५ परिकार समावेश गरिएको छ । नेपालमा चल्तीमा रेस्टुरेन्टका समेत थाली सेटमा विकल्प खासै छैनन् । तर गोल्डेन थालीमा कतिपय परिकारमा विकल्प छन् । मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ ।
ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको छ । यस्तै गोल्डन थालीमा तरकारीका परिकारमा झोल तरकारी, मौसमअनुसार ग्रेभी तरकारी, सुक्खा तरकारी मौसमअनुसार साग उपलब्ध गराइन्छ । यहाँ एकै पटकमा एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता छ । हाल बिहान ११ देखि राति १० बजेसम्म गाउँले परिकारको स्वाद लिन सकिने सिम्खडा बताउँछन् ।