नेपाल पे क्यूआर र आइसिटी अवार्डबीच सम्झौता
काठमाडौं– आइसिटी अवार्डको २०२४ को नवौं संस्करणमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेपाल पे क्यूआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो ।
उक्त अवार्ड कार्यक्रम पुस ५ गते काठमाडौंमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत् १६ वर्षदेखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ ।
आइसिटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न नेपाल पे क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध छन् । ग्राहकले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने अवस्था रहेको छ ।