Logo

व्यावसायिक खेती हुँदै आएको अधिकांश जमिनको माटो राम्रो

लमजुङ– लमजुङमा व्यावसायिक खेती हुँदै आएको अधिकांश जमिनको माटो तटस्थ पाइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक खेती हुँदै आएको जमिनको माटो नमुना संकलन गरी परीक्षण गर्दा अधिकांश स्थानको माटो तटस्थ पाइएको हो ।

ज्ञान केन्द्रले चालु आर्थिक वर्षमै जिल्लाको सुन्दरबजार, राईनास लगायतका विभिन्न क्षेत्रको माटो नमुना संकलन गरी परीक्षण गरेको हो । कार्यालयले दुई पालिकामा शिविरको आयोजना गरी ८६ स्थानको माटो परीक्षण गरेको हो भने सदरमुकामस्थित कार्यालयको प्रयोगशालामा विभिन्न आठ स्थानको माटो परीक्षण गरेको जनाएको छ ।

विभिन्न ९४ स्थानबाट माटो नमुना संकलन गरी गरिएको परीक्षणका क्रममा ८९ स्थानको माटो तटस्थ रहेको कार्यालय प्रमुख सुदिप खतिवडाले बताए । कार्यालय प्रमुख खतिवडाका अनुसार नमुना परीक्षण गरिएको माटोमध्ये चारस्थानको माटोमा अम्लियपन र एकस्थानको माटोमा अधिक क्षारीय भेटिएको थियो ।

कार्यालयले गरेको माटो परीक्षण नतिजाअनुसार ४३ स्थानको माटोमा नाइट्रोजन मध्यम रहेको पाइएको छ भने ३० स्थानमा कम र २१ स्थानमा उच्च भएको पाइएको छ । त्यसैगरी सोही माटो परीक्षण गर्दा आठस्थानमा कम फोस्परस, ४३ स्थानमा मध्यम र ४३ स्थानमा उच्च रहेको पाइएको छ । सोबाहेक ५२ स्थानको माटोमा मध्यम पोटास भेटिएको छ भने ४२ स्थानको माटोमा कम पोटास भेटिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा नमुना परीक्षण गरिएको माटोमध्ये चार दशमलव २५ प्रतिशत माटो अम्लीय भेटिएको छ भने एक दशमलव ०६ प्रतिशत माटो क्षारीय भेटिएको छ । कुल नमुना परीक्षण गरीएको माटोमध्ये ९४ दशमलव ६८ प्रतिशत माटो तटस्थ रहेको कार्यालय प्रमुख खतिवडाको भनाइ छ ।

कार्यालयले व्यावसायिक खेती हुँदै आएको जमिनको माटो परीक्षण गर्दा अधिकांश तटस्थ भेटिए पनि जिल्लाको अधिकांश माटोमा अम्लियपन बढ्दै गएको हुनसक्ने अनुमान गरेको छ । पछिल्लो वर्षमा विषादीको बढ्दो प्रयोग र प्राकृतिक रूपमा हुने विभिन्न कारणले पनि माटोको गुणस्तर ह्रास हुँदै गएको अनुमान गरिएको छ ।

माटो जीवनको अर्को स्वरूप हो । उर्वर माटोबिना मानव, जीवजन्तु, वन्यजन्तु, बोटबिरुवा तथा यो पृथ्वीमा जीवनको परिकल्पना गर्न कठिन हुने विज्ञहरू बताउँछन् । रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोगलगायतका कारण अधिकांश माटोको गुणस्तर कमजोर हुँदै गएको विज्ञहरू बताउँछन् । उत्पादनका मुख्य आधार माटो, पानी र मौसम हुन् ।

कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने विज्ञहरूको भनाइ छ । भूक्षय तथा वर्षाको पानीले माटो बगाएर लैजाने गर्दा नेपालको अनुमानित वार्षिक १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । जसमध्ये पहाडी क्षेत्रबाटै २० देखि ३० टन माटो बग्ने गरेको बताइन्छ । सोबाहेक पानीको शुद्धीकरण र भण्डारणमा माटो महत्त्वपूर्ण हुन्छ । एक हेक्टर माटोले एक लाख ५० हजार लिटर पानी बहन गर्ने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्