बाँझो जग्गामा सुन्तला खेती बढाउँदै फस्कुका किसान
दोलखा– शैलुङ गाउँपालिका–७ साउतेका रत्नबहादुर बुढाथोकी उमेरले ८० पुगे । तर उनको जोस जाँगर हेर्दा कुनै वयस्ककोभन्दा कम छैन । ज्यानमा रोग पनि छैन । बुढाथोकीको दैनिकी सुन्तला बारी जाने गोडमेल गर्ने सिजनअनुसार मल, सिँचाइ, काँटछाँटको काम गर्ने नै हो ।
बुढाथोकी गाउँका नमुना किसान हुन् । गाउँमा पहिलो पटक २०५२ तिर सुन्तला रोपेर सुरुवात गरेका उनले २०६० मा एकै पटक पाँच रोपनी जग्गामा सुन्तलामात्रै रोपे । ती सुन्तला तामाकोसी र चरिकोट बजार लगेर बिक्री गर्थे । त्यसैले पनि उनले २०७४ सालमा कृषि विकास कार्यालय दोलखाबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरे । त्यसपछि उनको सक्रियता झन बढेको छ ।
सहर बस्ने छोरो गाउँमा फर्केर सुन्तला खेतीमै गाउँमा केही सम्भावना छैन भन्दै आजभोलि गाउँ छाड्ने र सहर पस्ने अनि विदेश जानेको लर्को नै छ । रत्नबहादुरको जागिर खान काठमाडौं छिरेको एक छोरो अहिले गाउँमै फर्केर सुन्तलाखेती विस्तारमा लागे । बुबाले पाँच रोपनीमा लगाएको सुन्तलाबाट हौसला मिलेपछि रत्नबहादुरका छोरा पुरुषोत्तम बुढाथोकीले अहिले खेती विस्तार गरी २० रोपनीमा पुर्याएका छन् ।
सुन्तलाभित्र घुसुवा बालीको रूपमा अदुवा, भटमास लगाएका छन् । घुसुवा बालीले सुन्तलालाई गोडमेल पनि पुग्ने र मल पनि भएकाले पनि उनले यसको प्रयोग गरेका हुन् । उनले अहिले वार्षिक सुन्तला र अदुवा २० लाख बढीको बिक्री गर्छन् । खरिदका लागि व्यापारी बारीमै आउँछन् । परम्परागत बालीबाट धेरै फाइदा नहुने भएपछि धेरै किसान विस्थापित भएका हुन् । तर बुढाथोकीले अहिले परम्परागत कोदो मकै रोप्न छाड्ने भए जति जग्गामा सुन्तला रोपेका छन् ।
आफूसँग जग्गा नपुगेर बाँझो रहेको थप जग्गा भाडामा लिएर पनि खेती विस्तार गर्ने तयारी गरेका छन् । वर्षौंदेखि खेती गर्न छाडेर जंगलमा परिणत भएको छिमेकीको जग्गा भाडामा लिएर सुन्तला र कागती खेती विस्तार गर्ने र कम्तीमा ५० रोपनीमा आफ्नो खेती पुर्याउने पुरुषोत्तमको लक्ष्य छ । पुरुषोत्तम अहिले गाउँकै नमुना किसान भएका छन् । फस्कुमा उनीजस्तै सुन्तलाखेती गर्नेहरू ६० भन्दा बढी किसान पुगेका छन् । हरेकले वर्षेनी खेती विस्तार गर्दै आएका छन् ।
‘खेती गर्न छाडेर गाउँ उजाडजस्तै भयो, सबै सहर र विदेश भनेर मात्रै हुन्न,’ उनले भने, ‘गर्दा हाम्रै माटोमै सुन फल्ने देखेर आफू गाउँ फर्केर सुन्तला खेतीमा लागेको हुँ ।’ सुन्तला खेतीका लागि सुक्खा सिजनमा सिँचाइ पनि आवश्यक पर्छ त्यसका लागि उनले थापा सिंँचाइको रूपमा प्लास्टिक पोखरी बनाएका छन् । शैलुङ गाउँपालिकाको वडा नं. ७ सुन्तला पकेट क्षेत्रको रूपमा गाउँपालिकाले पनि लिएको छ ।
यहाँ गाउँपालिका र कृषि विकास कार्यालय रामेछापबाट पनि सुन्तला खेती विस्तारका लागि विरुवा, तालिमको सहयोग गर्दै आएको छ । फस्कुबाट मात्रै वार्षिक एक करोड बढीको सुन्तला व्यापारीले तामाकोसी बजार हुँदै जिरी, चरिकोट, मन्थली, खुर्कोट र काठमाडौंसम्म पुर्याउँछन् । कृषि विकास कार्यालय रामेछापका चरिकोट इकाई प्रमुख नन्दराज ओली फस्कुमा सुन्तलाखेती विस्तार भइरहेको बताउँछन् । कृषि कार्यालयले गुणस्तरीय विरुवा, रोगकीरा नियन्त्रण र खेतीका लागि प्राविधिक तालिम सहयोग गर्दै आएको बताए ।
शैलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ७ का वडाध्यक्ष सुजन खड्का व्यावसायिक किसानका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । गाउँपालिकाले तल्लो क्षेत्रमा सुन्तलाखेती विस्तारको कार्यक्रम अनुसार किसानलाई सहयोग गर्दै आएको बताए । एउटै वडाबाट २/३ वर्षयता वार्षिक एक करोडको सुन्तला उत्पादन भएको उनको दाबी छ ।
सुन्तलाखेती नगदे बाली हो । रोपेको तीन वर्षदेखि फल्न सुरु गर्छ र राम्रो मल सिंँचाइ भएमा ३० वर्षसम्म फल्छ । रोगकीरा नियन्त्रण गर्दा एक पटक गोडमेल, काँटछाट गर्दा थोरै मेहेनत र लगानीमा राम्रो आम्दानी हुन्छ । परम्परागत खेतीबाट किसानलाई यस्ता नगदे र राम्रो मूल्य आउने खेतीमा लगाउन सके रोजगारी र व्यावसायिकता दुवै बढ्ने र गाउँ छाड्ने क्रम रोकिन सक्छ ।