Logo

सडक स्तरोन्नति गर्न १५ दिनको अल्टिमेटम

लमजुङ– निर्धारित समयमा काम सम्पन्न नभएपछि लमजुङको खत्रेठाँटी–कुन्छा–सोतीपसल सडक निर्माण सुचारु गर्न १५ दिनको अल्टिमेटम दिएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको सो सडक निर्धारित समयावधिको दोब्बर समयमा पनि काम नभएपछि समय निर्धारण गरेर काम सुचारु गर्न अल्टिमेटम दिएको हो ।

सडक निर्माणका लागि काठमाडाैंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको थियो । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता गरे पनि हालसम्म सडक निर्माणको काम सम्पन्न हुन सकेको छैन । सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पूर्वाधार विकास कार्यालयलले पटकपटक चेतावनी दिँदै आएको थियो ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार विगतमा सो निर्माण कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएकाले निर्धारित समयावधिमा पनि सन्तोषजनक काम नगरे कारबाहीको प्रकृया अघि बढाउने जनाएको छ । अन्तिम पटक काम सुचारु गर्न १५ दिनको समयसीमा निर्धारण गरी मौका दिइएको र सो अवधिमा पनि काम सुरु नभए ठेक्का रद्द गर्ने प्रकृया अघि बढाउने पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताए ।

सडक स्तरोन्नतिका लागि यसअघि अन्तिम पटक गत फागुनमा म्याद थप भएको थियो । थपिएको म्यादभित्र पनि निर्माण कम्पनीले काम गर्न नसकेपछि निर्माण कम्पनीप्रति नै अविश्वासको वातावरण सिर्जना भएको कार्यालयले जनाएको छ । जिल्लाको सुन्दरबजार र मध्यनेपाल अन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा पनि गण्डकी प्रदेश सरकारबाट थप दुई करोड बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारले सुरुको वर्ष सात करोड विनियोजन गरेको सो सडक स्तरोन्नति योजनामा सम्झौताअनुसार अघिल्लो वर्षकै असोजमा काम सम्पन्न भइसक्नुपर्ने थियो । तर ठेकेदारको लापरबाहीका कारण सडक निर्माण तथा स्तरोन्नतिमा अपेक्षित उपलब्धि हुन सकेको छैन । गत आर्थिक वर्षमा मात्रै सो सडकका लागि प्रदेश सरकारबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो । सुन्दरबजार–२, हाँडेटारदेखि मध्यनेपाल–१, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो ।

सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गर्दै आएको छ । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको थियो । निर्धारित समयमा हुनुपर्ने कार्यसम्पादन नभएपछि निर्माण पक्षलाई पटक पटक चेतावनी दिएको कार्यालयको दाबी छ । पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तिन किलोमिटर सडक ढलान गर्ने योजना थियो ।

सुन्दरबजार नगरपालिका अन्तर्गत जिल्लाकै पुरानो सदरमुकामसमेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने गर्नुपर्ने योजनामा उल्लेख छ । एक दशकअघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्यनेपालको दुईपिप्लेदेखि जिताटारसम्म यसअघि नै कालोपत्रे भइसकेको छ भने यता सुन्दरबजारको परेवाडाँडा अन्तर्गत करिब एक किलोमिटरमात्रै कालोपत्रे भएको छ ।

प्रतिक्रिया दिनुहोस्