Logo

विषादीमा लापरवाही नगरौँ

कुनै पनि खाद्य पदार्थमा कीटनाशक विषादीको प्रयोग हुनुलाई सामान्य रूपमा लिन मिल्दैन । यो सिधै मानव स्वास्थ्यसँग जोडिएको विषय हो । तर, प्राय: व्यावसायिक रूपमा गरिने खाद्य पदार्थमा विषादीको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । सरकारले यसलाई नियन्त्रण गर्न सकेको छैन । सरकारले विषादी नियन्त्रणका लागि खासै संयन्त्र र जनशक्ति परिचालन गरेको देखिँदैन । यही कारण सर्वसाधारण नागरिक विषादीयुक्त खाद्य पदार्थ सेवन गर्न बाध्य छन् ।

खाद्य पदार्थहरूमध्ये पनि प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, दलहनजस्ता खाद्य पदार्थमा विषादीको प्रयोग निकै न्यून छ । यी सबै बालीमा रासायनिक मल खासगरी युरिया र पोटास प्रयोग भइरहेको छ । जुन स्वास्थ्यका लागि त्यति धेरै हानिकारक छैनन् । तर तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, कुखुरा र माछाजस्ता उपभोग्य वस्तुमा विषादीको प्रयोग बढी छ । यसमध्ये पनि किसानहरूले तरकारीमा व्यापक रूपमा विषादी प्रयोग गर्दै आएका छन् । सरकारले केही समयअघि गरेको अनुसन्धानमा हरियो तरकारी सागमा ८२ प्रतिशतसम्म विषादीको मात्रा फेला परेको थियो ।

काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारस्थित विषादी प्रयोगशालाले गरेको नमुना परीक्षणमा रायो र चम्पा सागमा अत्यधिक विषादी भेटिएको थियो । प्रयोगशालाले परीक्षण गरेको चम्पा सागको नमुनामा ८२.१५ प्रतिशत विषादीको अवशेष फेला परेको छ । यो साग दोलखाबाट कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको थियो । विषादीको अवशेष फेला परेको यो पहिलो पटक होइन, पटक–पटक यस्तै नतिजा आएको छ । सरकारले तरकारीमा विषादीको अवशेषका बारेमा मापदण्ड निर्धारण गरेको छ, जसअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ ।

यसैगरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखिए खान नहुने अर्थात् नष्ट गर्नुपर्ने मापदण्ड छ । यस अर्थमा यस्तोमा सागमा भेटिएको यो विषादीको अवशेष निकै उच्च हो । सर्वसाधारणले पौष्टिक तत्त्व नष्ट हुने भन्दै सागलाई बफाएर वा कम पकाएर उपभोग गर्छन् । यस अर्थमा पनि सागमा विषादीको अवशेष फेला पर्नु नै गम्भीर विषय हो ।

कालीमाटीमा गरिने प्रयोगशाला परीक्षणबाट अधिकांश रूपमा भक्तपुर र काभ्रेबाट आएको सागमा विषादी भेटिने गरेको छ । कालीमाटीमा दैनिक १० देखि १२ वटा तरकारीको नमुनामा विषादी अवशेष भए–नभएको परीक्षण गरिन्छ । परीक्षणमा ल्याइएका नमुनामध्ये रायो सागमा खान नमिल्ने विषादी बढी मात्रामा भेटिने गरेको छ । सागका अतिरिक्त काउली र हरियो खुर्सानीमा पनि अवशेष फेला परेका छन् । तर, तिनमा केही दिन राखेर खान मिल्ने खालका विषादी हुन् ।

यो वर्षको मंसिर १५ सम्म कालीमाटी प्रयोगशालाले ९ सय ९३ वटा नमुना परीक्षण गर्दा रायो सागका ५ नमुनामा खान नमिल्ने विषादी भेटिएको हो । गत आर्थिक वर्षमा विभिन्न जिल्लामा गरी ६ हजार ७ सय ७८ वटा नमुना परीक्षण गर्दा २१ वटा खान नमिल्ने र १२ वटा केही दिन राखेर खान मिल्ने पाइएको थियो । किसानले तरकारी तथा फलफूलमा विषादी बढी प्रयोग गर्न थालेको र ती तरकारी तथा फलफूल बजारमा आउन थालेपछि सरकारले कालीमाटीमा २०७१ असारबाट विषादी परीक्षण सुरु गरेको थियो । अहिले देशभरमा गरी १२ वटा स्थानमा विषादी परीक्षण हुने गरेको छ ।

कालीमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगन्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषामा तरकारीको विषादी परीक्षण हुन्छ । सरकारले स्थापना गरेका प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समूहमा पर्ने दुई किसिमका विषादी मात्र परीक्षण हुने गरेको छ । अहिलेसम्म १२ प्रकारका विषादीको मात्र परीक्षण हुँदै आएको छ । तर, सरकारले किसानलाई १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति दिएको छ । किसानले प्रयोग गर्दै आएका १ सय ५२ प्रकारका विषादीको परीक्षणबिनै उपभोग भइरहेका छन् ।

विषादीको अत्यधिक प्रयोगले सर्वसाधारण नागरिकमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको छ । कृषि उत्पादन लागतदेखि वायु, माटो र जल प्रदूषण पनि बढेको छ । यसैले विषादीको प्रयोग घटाउन सरकारले सबैभन्दा पहिले बढी हानिकारक विषादीको आयातमा नै रोक लगाउनुपर्छ । आयात गर्न दिएका विषादीको अवशेष परीक्षणमा सरकार चनाखो हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्