नुवाकोटका ऐतिहासिक गढीहरू ओझेलमा
धादिङ– एकीकृत नेपालको राजधानी काठमाडौं आसपासका जिल्लामा गढीहरू भएको इतिहासमा पढ्न पाइन्छ । पछिल्लो समय गढीहरूको संरक्षरण गरेको पनि देख्न सकिन्छ । हालको संघीय राजधानी काठमाडौंसँग सिमाना जोडिएको जिल्ला हो नुवाकोट । नुवाकोट जिल्ला ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वको जिल्लाको रूपमा परिचत छ । सूर्यगढी गाउँपालिका–३ चोकदे बजारमाथि रहेको छङ्गाछुर पहाडको टुप्पोमा ऐतिहासिक सूर्यगढी छ ।
गढीको दुई किलोमिटर जति पश्चिमतिरको टुप्पोमा सहायक गढीका रूपमा चन्द्रगढी छ । दुवै गढीका बीचमा वागेश्वरी भञ्ज्याङ छ । केही माथितिर बागेश्वरी मन्दिर छ । यी ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थल अहिले सामुदायिक जंगलको क्षेत्रभित्र पर्छन् । नेपाल र तिब्बतबीचका लडाइँमा नेपाललाई जोगाएका ऐतिहासिक गढी सूर्यगढी, चन्द्रगढी, गेर्खुगढी, जितगढी र दुधेगढी अहिले महत्त्व र संरक्षणको अभावमा अलपत्र अवस्थामा छन् ।
विसं १८४९ मा चिनियाँ फौजले नेपालले जितेको ल्हासा, कुती, केरुङदेखि नेपाली सेनाको फौजलाई लखेट्दै लखेट्दै सूर्यगढी आइपुगेको थियो । यसै क्षेत्रमा रहेका पाँच गढीबाट नेपाली फौजले एकैपटक हमला गरेर चिनियाँ फौजलाई आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । यो लडाइँमा पराजित भएपछि चिनियाँ फौजले युद्ध टुंग्याएर बेत्रावतीमा सम्झौता गरेको इतिहासमा उल्लेख भएको अनुसन्धाता, अध्येता शिवबहादुर भण्डारीले बताए ।
समुद्री सतहबाट सूर्यगढी १६ सय ७३ मिटर उचाइमा पर्छ । यो गढी रहेको डाँडाको उत्तरतर्फ सीधा पारिपट्टि धैबुङको अग्लो डाँडा (रसुवा) पर्छ । दुवै डाँडाको बीचभागबाट गहिरो खोंच भएर बग्ने फलाखु (बेत्रावती नदी)ले नुवाकोट र रसुवाको सिमानाको काम गरेको छ । यो गढी रहेको स्थल रमणीय छ । सूर्यगढीकै नामबाट हाल सूर्यगढी गाउँपालिकाको नामाकरण गरिएको छ ।
ऐतिहासिक गढीहरूको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य बनाउने योजना रहेको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ बताए । ‘हामीले संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं । पर्यटन पूर्वाधारजस्तै बाटो, पाटी, सत्तल आदि बनाउन आश्वासन पनि प्राप्त भएको छ,’ अध्यक्ष तामाङले बताए । नुवाकोटलाई सुरक्षित आधार तयार पार्नका लागि फलाखु खोलावरिपरिको किल्ला मजबुद बनाउने क्रममा नेपाली सेनाले चोकदे–गेर्खुको डाँडाभरि बलिया गढी बनाएको भण्डारीले बताए ।
भण्डारीका अनुसार सोही क्रममा विसं १८४९ मा नेपाल–चीन, तिब्बत युद्धका बखत नेपाली सेनाले सूर्यगढीको निर्माण र प्रयोग गरेको थियो । जसको जगको केही अवशेष अझै देख्न सकिन्छ । घामको पहिलो किरण पर्ने ‘सूर्य झुल्कने गढी’को लम्बाइ ६६ फिट (पूर्व–पश्चिम), चौडाइ २६ फिट (उत्तर–दक्षिण), उचाइ आठ फिटभन्दा अग्लो, बिचको चौडाइ २४ फिट (उत्तरदक्षिण), पर्खालको मोटाइ ६ फिट थियो । २० फिटको दूरीमा भान्छा थियो जसको लम्बाइ ३६ फिट र चौडाइ आठ फिट थियो ।
यो गढी रहेको टाकुराको भाग वरिपरि मोटो पर्खाल लगाइएको थियो । जसको दुई–दुई फिटका अन्तरमा करिब चार इन्च जतिको प्वाल थियो र त्यसबाट बन्दुकको नाल छिराउन सकिन्थ्यो । त्यस्ता ३६ वटा प्वाल थिए । ती प्वाल उत्तरतिर थिए । जसबाट पारिपट्टि धैबुङमा चिनियाँ फौजको चहलपहल छर्लङ्ग देखिन्थ्यो । गढीभित्रको गतिविधि भने पारिबाट चिनियाँले देख्दैनथे । विसं २०४०/०४१ सम्म यो गढीको पर्खाल केही थियो । विसं २०२१ मा लामा गुफा बस्ने ठाउँ बनाउँदा गढीको पर्खालका वरपर छरिएर रहेका ढुंगा गढीको पर्खालमा थपिएका थिए ।
डाँडाका टुप्पामा सितिमिति मानिस जाँदैनथे । सूर्यगढीको थाप्लो एक छेउबाट अर्को छेउसम्म सर्लक्क परेको र भुइँमा घाँस हुनाले आकर्षक देखिन्थ्यो । सत्तरीको दशकमा त्यहाँ गरिएका निर्माणले थाप्लाको आकृति यथास्थितिमा रहन सकेन । डाँडाका टुप्पामा थुप्रै साना थुम्काथुम्की छन् । यस शृङ्खलामा सूर्यगढीदेखि पश्चिमपट्टि क्रमश: चन्द्रगढी, गेर्खुगढी, जितगढी, दुधेगढी गरी अरू चार गढी छन् । यहाँ पुग्न काठमाडौंदेखि मोटरबाटोको दूरी ८५ किलोमिटर र सदरमुकाम विदुरदेखि १७ किलोमिटर छ ।
बेइयानको पुस्तकमा उल्लेख भएअनुसार विसं १८४९ मा भदौ ८ देखि युद्ध सुरु भएको ठाउँ चोकदे–गेर्खुडाँडाको उत्तरी मोहडा पहिल्याउन सघाउ पुगेको छ । चोकदे–गेर्खुमा प्रतिरक्षामा तैनाथ नेपाली फौजलाई सो पर्वत शृङ्खलाले ड्याम्मै छेकिदियो । पारि धैबुङबाट चिनियाँ फौजले नेपाली फौजको गतिविधिबारे केही चाल पाउँदैनथे । यहाँको भू–बनावटले चिनियाँ फौजलाई प्रतिकूल र नेपाली फौजलाई अनुकूल अवस्थामा बदल्न मद्दत पुर्यायो । आधुनिक विकास निर्माणले हाम्रा मौलिक संस्कृति लोप हुने क्रम बढ्दै गएको छ ।
यस परिस्थितिमा यहाँका गढीका पर्खाल पनि बिग्रँदै गए । दामोदर पाँडेको नेतृत्वमा सेनाका पाँच कम्पनी चोकदेमा प्रतिरक्षा स्थितिमा तैनाथ थिए । सूर्यगढीमा तैनाथ सैनिक २४ सै घन्टा चनाखो भएर पारिको चिनियाँ फौजको गतिविधि चियो गरी होसियारीपूर्वक बस्थे । काजी दामोदर, सरदार प्रबल राना, सरदार पारथ भण्डारी र सुब्बा जोरवर बोगटी पाँच कम्पनी पल्टन लिई चोकदेमा घेरा दिई बसेका थिए । युद्धताका सो गढीमा साउनदेखि कात्तिकसम्म नेपाली सेना तैनाथ थिए ।
सुरुका दिन बेत्रावती पुल तरी तीन दिशातिर आक्रमण गर्न आएका चिनियाँ फौजमध्ये बागेश्वरी भञ्ज्याङ र सूर्यगढीतर्फ आक्रमण गर्न आएका एक हिस्साविरुद्ध सूर्यगढी–चन्द्रगढी डाँडाको वारपार धेरै माथिबाट चिनियाँ फौजविरुद्ध दामोदरको नेतृत्वको नेपाली फौजले अकस्मात् भयानक आक्रमण गर्दा उनीहरू भागेको इतिहासमा उल्लेख छ । चोकदे (सूर्यगढी)–गेर्खु (दुधेगढी) का उत्तरी पाखामा भएको त्यस युद्धमा चिनियाँ फौज पूरै पराजित भयो ।
सूर्यगढीबाट पारिपट्टि धैबुङमा रहेका चिनियाँ फौजको गतिविधि चियो गर्ने, सूचना सञ्चार गर्ने, कुवापानी महभीरतर्फका वनका ठाउँठाउँमा राखिएका सेना र चोकदे शिविरमा बसेका फौजका बीच खबर सञ्चार गर्ने कार्य भएको थियो । दामोदरको नेतृत्वमा चोकदेमा रहेका फौज बेलाबखत फलाखुपारि धैबुङ, बेत्रावतीमा दुस्मनमाथि सफल आक्रमण गरी यही सुरक्षित किल्लामा आएर बस्ने गरेको भनाइ पनि छ । यो चीन–तिब्बतको संयुक्त फौजलाई जस्तोसुकै मूल्य चुकाएर पनि रोकिछाड्ने अभिप्रायले ढालयुक्त पहाडका टुप्पामा युद्धका बखत नेपाली फौजले निर्माण गरेको गढी हो ।
जुन दामोदरको नेतृत्वमा चीन–तिब्बतको संयुक्त फौजसँग भीषण लडाइँ गरी खेदेको ठाउँ पनि हो । चीनको भीमकाय संयुक्त फौज युद्धमा पराजित भयो जसले गर्दा नेपालसँग चीन बेत्रावती सन्धि गर्न बाध्य भयो । यसले नेपाल र चीनबीचको सम्बन्धलाई झनै निकट बनायो । विसं १८४९ देखि ११५ वर्षसम्म उपहार आदान–प्रदान गर्ने परम्परा सुरु भयो । नेपाल र चीनबिच कूटनीतिका साथै सांस्कृतिक सम्बन्ध रहन गयो । यति महत्त्वपूर्ण ठाउँको केही वर्षयता खोज, अध्ययनका साथै पुनर्निर्माण प्रयास हुँदै आएको पनि छ । नेपाली सेनाले गढी किल्लाको संरक्षण गर्न चासो देखाएको छ ।
नुवाकोटमा तैनाथ श्रीनाथ गणका गणपति प्रमुख सेनानी विष्णु कार्कीले विगतमा पनि गढी, किल्लाको संरक्षण गरिएको र अहिले पनि केन्द्रसँग समन्वय र स्थानीयवासीसँग सल्लाह गरी संरक्षणका लागि खाका तयार गरिने जनाएका थिए । नेपाल सरकार, पुरातत्व विभागसँग समन्वय गरेर नेपाली सेनाको उपत्यका कमान्ड टोलीले सूर्यगढी संरक्षण गर्ने गुरुयोजना तयार गरेको छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक, भौगोलिक एवम् प्राकृतिक तथा देशभक्ति र वीरगाथाले भरिएको सो स्थलमा पर्यटन विकासको प्रचुर सम्भावना छ ।