Logo

कार्यपालिका सदस्यबाट सहकारीको ११ करोड अपचलन

लमजुङ– लमजुङको बेसीशहरमा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ११ करोड रकम अपचलन भएको छ । मस्र्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगालेले उक्त सहकारीको ११ करोड २२ लाख रुपैयाँ किर्ते कागज गरी अपलन गरेको आरोप लागेको हो । प्रहरीले बगालेसहित सहकारीको ङादीसेवा केन्द्रका प्रमुख वीरेन्द्र गुरुङलाई पक्राउ गरेको छ ।

मस्र्याङदी गाउँपालिका– ९ बाट वडा सदस्यमा निर्वाचित बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । बगालेले सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसका लागि उनीहरूले भुलभुलेमा रहेको हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेको प्रहरीले जनाएको छ ।

संस्थामा सदस्यसमेत नरहेकी बगालेले सहकारीका सेवा केन्द्र प्रमुखसँग मिलेमतो गरी करोडौं रकम अपचलन गरेको थाहा पाएपछि सहकारीले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई जाहेरी दिएको थियो । कार्यालयले यस सम्बन्धमा आवश्यक छानबिन गरिदिन सहकारी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेपछि रजिष्ट्रारको कार्यालयले विज्ञ पठाएर छानबिन गरेको हो ।

छानबिनका लागि सहकारी रजिष्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमसहितको टोली खटाएको थियो । वित्तीय विश्लेषक गौतमको टोलीले उक्त सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानबिन गरी प्रतिवेदन तयार गरी प्रहरीलाई बुझाएपछि प्रहरीले सेवा केन्द्र प्रमुख गुरुङलाई आइतबार र बगालेलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

छानबिनका क्रममा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख भएको श्रीवास्तवले बताए । छानबिन प्रतिवेदनमा उनीहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकोले उनीहरू उपर सम्पत्ति शुद्धीकरण ऐन २०६४ (संशोधन समेत) को कसुर गरेको पाइएकाले सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान गरी पीडित सहकारीका नाममा रकम भराउनु पर्ने राय व्यक्त गरिएको छ ।

देशभर सहकारी ठगीमा सहकारीका सञ्चालकहरू पक्राउ परे पनि यस प्रकरणमा जनकल्याण सहकारी आफै ठगिएको छ । संस्थाकै कर्मचारीको मिलेमतोमा सहकारीको करोडौं रुपैयाँ अपचलन भएको अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले बगाले र गुरुङलाई अदालत उपस्थित गराएको छ । जिल्ला अदालत लमजुङले आरोपीमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्