मौद्रिक उपकरण र बैंकिङ क्षेत्रमा प्रभाव
सामान्यतया मौद्रिक उपकरण भनेको कुनै पनि देशको केन्द्रीय बैंकद्वारा लागू गरिने ती नीति तथा साधन हुन् जसले मुलुकको आर्थिक व्यवस्थालाई सन्तुलित राख्न, मुद्रास्फीति नियन्त्रण गर्न र वित्तीय स्थिरता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । नेपालमा नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणहरूको निष्कासन र वित्तीय क्षेत्रमा प्रयोग गराई नियमनसमेत गर्ने गर्छ । आर्थिक विकास, विनिमय स्थिरता, बचत तथा लगानीबीच सन्तुलन कायम गर्नु यसको मुख्य उद्देश्य हो ।
नेपालमा विगत केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा बचत र लगानीबीच असन्तुलन पैदा हुन गई तरलता समस्या बारम्बार देखिरहेको विद्यमान अवस्था छ । अधिक या न्यून तरलता समस्याले गर्दा अर्थतन्त्रमा ब्याजदर छिटो–छिटो परिवर्तन भई लगानी र बचतमा अस्थिरताको स्थिति सिर्जना गर्छ, जसले गर्दा मौद्रिक नीतिका मुख्य चरहरू नै बढी प्रभावित भई अपेक्षित परिणाम हासिल हुन सक्दैन । मौद्रिक नीतिका मुख्य संवाहक भनेका बैंक तथा वित्तीय संस्थाहरू नै हुन्, यिनीहरूको असल चरित्रबिना मौद्रिक अधिकारीको उपयुक्त मौद्रिक नीति मात्र पनि आर्थिक स्थायित्वका लागि पर्याप्त मानिँदैन ।
नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गरी समग्र आर्थिक स्थायित्व र मूल्य स्थिरता कायम गर्न समयानुकूल विभिन्न किसिमका मौद्रिक उपकरण जारी गरी सोको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको सुरुमा मौद्रिक नीति लागू गर्छ, जसले गर्दा तरलता प्रवाह सन्तुलनका लागि उपयुक्त निर्धारण अनुपात र वैधानिक तरलता अनुपातको समायोजन गर्छ । आवश्यकताअनुसार बजारमा सरकारी ऋणपत्र खरिद तथा बिक्री गर्ने तथा उपयुक्त रूपमा ब्याजदरको परिमार्जन गरी स्थायित्व राख्ने प्रयास गर्छ ।
मौद्रिक उपकरणहरूले नेपालको बैंकिङ क्षेत्रमा ठोस प्रभाव पार्ने भएकाले तिनीहरूको कुशल प्रयोग जरुरी छ । नेपाल राष्ट्र बैंकले यी उपकरणहरूको सन्तुलित प्रयोग गरी आर्थिक स्थायित्व र वित्तीय विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्छ । तर, यसका लागि नीतिगत स्थायित्व, नियमनको प्रभावकारिता र सार्वजनिक सचेतनामा सुधार आउन जरुरी छ । तसर्थ, मौद्रिक उपकरणहरूको प्रभावकारी प्रयोगले स्थिर आर्थिक वृद्धिका साथै उत्पादन र रोजगारीमा वृद्धि पनि सम्भव छ ।
मौद्रिक उपकरणको प्रयोग वित्तीय स्थिरता र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भए पनि यसको कार्यान्वयनमा विभिन्न किसिमका सीमितता हुने हुँदा नेपालजस्तो विकासोन्मुख देशमा यी सीमितताहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ । नियामक निकाय, वित्तीय साक्षरता, बैंकिङ संरचनामा सुदृढीकरण, प्रविधिको विकास, प्राविधिक दक्षतामा अभिवृद्धि तथा नीतिगत स्थायित्व र सरकारमा स्थायित्व हुन जरुरी देखिन्छ ।
मौद्रिक उपकरणका प्रकार
खासगरी मौद्रिक उपकरणलाई दुई भागमा विभाजित गरी हेर्न सकिन्छ ।
प्रत्यक्ष मौद्रिक उपकरण
निर्धारण दर (क्यास रिजर्भ अनुपात) : बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेपको नेपाल राष्ट्र बैंकद्वारा तोकिएको केही प्रतिशत निश्चित रकम राष्ट्र बैंकमा राख्नुपर्ने नियम हो । यसले बजारमा तरलता व्यवस्थापन गरी ग्राहकको विश्वास जोगाइराख्न मद्दत गर्छ ।
वैधानिक तरलता अनुपात : बैंक तथा वित्तीय संस्थाहरूले कुल निक्षेपको नेपाल राष्ट्र बैंकद्वारा तोकिएको केही प्रतिशत निश्चित रकम राष्ट्र बैंकमा तरल सम्पत्तिको रूपमा राख्नुपर्ने नियम हो । यसले बजारमा संस्थाको स्थिरता व्यवस्थापन गरी ग्राहकको विश्वास जोगाइराख्न मद्दत गर्छ ।
अप्रत्यक्ष मौद्रिक उपकरण
पुन: वित्तपोषण दर (रिपो रेट) : तरलता अभाव भएका बेला केन्द्रीय बैंकले अल्पकालीन रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराएको ऋणमा लिने ब्याजदर हो ।
उल्टो पुन: वित्तपोषण दर (रिभर्स रिपो रेट) : तरलता बढी भएको बेला केन्द्रीय बैंकले अल्पकालीन रूपमा बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको निक्षेपबापत दिने ब्याजदर हो ।
खुला बजार सञ्चालन (ओपन मार्केट अपरेसन) : खासगरी तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकद्वारा ऋणपत्र खरिद–बिक्री गर्ने बजार खुला बजार हो ।
निक्षेप संकलन : तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आह्वान गर्ने निक्षेपलाई निक्षेप संकलन भनिन्छ ।
बैंक दर : भनेको बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर हो ।
ब्याजदर करिडोर (ब्याजदर गल्ली) : नेपाल राष्ट्र बैंकले ब्याजदर सन्तुलनमा राख्नका लागि बनाएको न्यूनतम र अधिकतम सीमाबीचको दर नै ब्याजदर गल्ली हो । यो बीचको दरलाई नीतिगत दर पनि भन्ने गरिन्छ । ब्याजदर गल्ली बैंकिङ प्रणालीमा ब्याजदर सन्तुलन राख्न र वित्तीय स्थिरता कायम गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण उपकरण हो ।
मूल्य नियन्त्रण : मूल्य स्थिरता कायम राख्न अपनाउने नीति मौद्रिक नीति हो ।
वित्तीय क्षेत्रमा मौद्रिक उपकरणले पार्ने प्रभाव
वित्तीय क्षेत्रले मौद्रिक उपकरणहरूको सही प्रयोग गर्नाले वित्तीय स्थिरता र आर्थिक वृद्धिमा योगदान पुर्याउने गर्छ । हरेक उपकरणका आ–आफ्नै विशेषताहरू छन्, तसर्थ तिनीहरूको प्रभाव यसरी उल्लेख गर्न सकिन्छ ।
तरलता व्यवस्थापन : खास गरी क्यास रिजर्भ रेसियो र वैधानिक तरलता अनुपातले बैंकहरूलाई लगानी तथा ग्राहकले विश्वास गर्नका लागि आधार तय गराउँछन्, जसले गर्दा बजारमा संस्थाहरूप्रति दीर्घकालसम्म विश्वास रहिरहन्छ । बैंकहरूले उल्लिखित अनुपात पालना गर्दा ऋण दिने क्षमतामा प्रभाव परिरहेको हुन्छ ।
मुद्रास्फीति नियन्त्रण : जब मुद्रास्फीति बढी हुन्छ तब राष्ट्र बैंकले कडाइ गर्न सुरु गर्छ, जसले गर्दा बैंकका हरेक क्रियाकलाप प्रभावित हुने गर्छन् । मौद्रिक उपकरणको प्रयोगले बजारमा पैसाको आपूर्ति बढाउने वा घटाउने कार्य गर्छन् ।
मुद्रा सन्तुलन : वैदेशिक मुद्रा सञ्चिति र त्यसको व्यवस्थापनका लागि पनि मौद्रिक उपकरण महत्त्वपूर्ण हुन्छन् । राष्ट्र बैंकले विदेशी मुद्राको यथेष्ट सञ्चय गरी विनिमय दर स्थिर राख्ने गर्छ ।
ऋण आपूर्ति र ब्याजदरमा प्रभाव : रिपो दर र रिभर्स रिपो दरमा हुने परिवर्तनले बैंक तथा वित्तीय संस्थाहरूको ऋण आपूर्ति र ब्याज निर्धारणमा सोझै असर पार्ने गर्छ । ब्याजदर घट्दा ऋणको माग बढ्ने हुन्छ भने बढ्दा माग घट्ने हुन्छ ।
कर्जा तथा निक्षेप ब्याजदरमा प्रभाव : बैंक तथा वित्तीय संस्थाहरूको मौद्रिक उपकरणका उद्देश्यको आधारमा कर्जा तथा निक्षेपको ब्याजदर निर्धारण गर्ने गर्छन् । यसले गर्दा ग्राहकको व्यापार तथा व्यवसायमा असर गरी लगानी तथा बचत गर्ने व्यवहारमा परिवर्तन देखा पर्छ ।
वित्तीय स्थायित्व : मौद्रिक उपकरणको माध्यमद्वारा जोखिम न्यूनीकरण तथा अर्थतन्त्रमा स्थायित्व सुनिश्चित गर्छ ।
जोखिम स्तरमा प्रभाव : मौद्रिक उपकरणको माध्यमद्वारा जोखिम स्तर घट्ने वा बढ्ने हुनाले प्रभाव पर्न सक्छ ।
हालको मौद्रिक नीतिका चुनौती
जतिसुकै सबल मौद्रिक नीति तर्जुमा गरिए पनि तिनीहरूका केही न केही कमजोरी अवश्य हुन्छन्, जसमा कमजोर वित्तीय साक्षरता, वित्तीय पहुँचमा असमानता, विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा समस्या, अत्यधिक तरलता वा न्यून तरलता, नियामक निकायको निर्देशनको पूर्ण पालना नहुनु आदि ।
सुधारका उपाय
नियमन तथा निर्देशनमा कडाइ, डिजिटल वित्तीय पहुँचमा विस्तार, संस्थागत विकास, विदेशी लगानीमा वृद्धि तथा नीति तथा कार्यक्रमहरूमा आवश्यक सुधार ।
बैंकिङ क्षेत्रमा मौद्रिक उपकरणका फाइदा
बैंकिङ उपकरणको प्रयोगले बैंकिङ प्रणालीलाई प्रभावकारी, स्थिर र कुशल बनाई समग्र अर्थतन्त्रको विकास र सन्तुलनमा उल्लेखनीय योगदान पुर्याउने गर्छ । खासगरी केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकद्वारा प्रयोग गरिने यी उपकरणले देशको आर्थिक व्यवस्थालाई सन्तुलित राख्न र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । उपयुक्त मौद्रिक उपकरणहरूको प्रयोग गराउँदै बैंकिङ क्षेत्रलाई सबल, सक्षम र सन्तुलित बनाउने कार्यमा नेपाल राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुन्छ । तसर्थ, यसका फाइदाहरूलाई तल उल्लेख गरिएको छ ।
तरलता व्यवस्थापन : यसले बैंकहरूलाई ऋण दिन र बजारमा निक्षेप संकलन गर्न सहज गराउँछ । बैंकिङ प्रणालीमा तरलताको अभाव वा अधिक हुँदा व्यवस्थापन गर्न सहजता प्रदान गर्छ । मौद्रिक उपकरण क्यास रिजर्भ अनुपात र वैधानिक तरलता अनुपातको प्रयोगले बैंकहरूलाई तरल रूपमा बलियो रहन सहयोग गर्छन् ।
जोखिम व्यवस्थापन : यसले बैंकहरूको वित्तीय स्थायित्वमा सुधार ल्याउँछ । यसको माध्यमबाट बैंकहरूले सामना गर्नुपर्ने विभिन्न किसिमका जोखिमहरू जस्तै तरलता जोखिम, डिफल्ट जोखिम, बजार जोखिम, कर्जा जोखिम जस्ता विषयहरूमा सहयोग गर्छन् ।
विदेशी मुद्रा व्यवस्थापन : यसले विदेशी मुद्रा व्यवस्थापन गर्न सहज गराउँछ । व्यापार घाटा र मुद्राको अवमूल्यन हुन नदिन रोकथामको काम गर्छ । विदेशी लगानीकर्तालाई आकर्षण गरी विकासमा सहयोग गर्छन् ।
वित्तीय समावेशन : ग्रामीण तथा दुर्गम स्थानहरूमा बैंकिङ सेवा पुर्याउन सहयोग गर्छ । उल्लिखित क्षेत्रहरूमा समेत सेवासुविधा विस्तार गर्न सहयोग गर्छन् ।
मुद्रास्फीति नियन्त्रण : मौद्रिक उपकरणले मुद्राको क्रयशक्ति घट्न नदिन सहयोग गर्छ । बजारमा पैसाको अभाव हुन नदिन सरकारी क्षेत्रबाट हुने नगद प्रवाहलाई बजारमा लैजाने गर्छ । समग्र अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग गर्छन् ।
ब्याजदर सन्तुलन : यसले बैंकहरूको ऋणको माग र आपूर्तिलाई सन्तुलित गर्न सहज गराउँछ । बैंकको ब्याजदरमा हुने उतारचढावलाई सन्तुलित गरी सहुलियत रूपको ब्याज प्रदान गर्छ । बैंक तथा यसका ग्राहकलाई लामो समयसम्मका लागि स्थायित्व प्रदान गर्दै सेवा प्रवाह गर्न मद्दत गर्छ ।
आर्थिक वृद्धिमा सहयोग : बैंक तथा वित्तीय संस्थाहरूको उन्नति र यससँग जोडिएका ग्राहकको विकासले समग्र अर्थतन्त्रको विकासमा सहयोग गरी आर्थिक वृद्धिमा सहयोग गर्छ । देशभित्र लगानी र उत्पादनमा जोड दिई आर्थिक वृद्धिमा सहयोग गर्छ । रोजगारी सृजना गर्न आवश्यक सहयोग गर्छ ।
ऋण प्रवाहमा वृद्धि : यसले बैंकहरूलाई सस्तो दरमा ऋण दिन प्रोत्साहन गर्न हुँदा ऋण प्रवाहमा वृद्धि हुन्छ । यसले उद्यमशीलताको विकास गर्दै उत्पादन र रोजगारी सृजना गर्दै पूर्वाधार विकासमा सहयोग पुर्याउँछ ।
लगानीकर्तामा आत्मविश्वास वृद्धि : प्रभावकारी मौद्रिक उपकरणको माध्यमबाट वित्तीय क्षेत्रलाई सबल, सक्षम र पारदर्शी बनाई सुरक्षित समेत बनाउँछ, जसले गर्दा लगानीकर्तामा आत्मविश्वास पैदा गर्छ ।
वित्तीय स्थायित्व : प्रभावकारी मौद्रिक उपकरणको माध्यमबाट वित्तीय जोखिम न्यूनीकरण गराई बैंकिङ क्षेत्रलाई सबल बनाउँछ । सकेसम्म संकट आउन नदिने र आइहाले विभिन्न किसिमका उपकरणको माध्यमबाट वित्तीय क्षेत्रलाई सबल बनाउन भूमिका खेल्छ । मौद्रिक उपकरणको माध्यमबाट वित्तीय स्थायित्वमा सहयोग पुग्छ ।
बैंकिङ क्षेत्रमा मौद्रिक उपकरणका सीमितता
मौद्रिक उपकरणको प्रभाव तत्काल नदेखिन सक्छ । अधिक तलरता हुँदा व्यवस्थापन गर्न कठिन हुन सक्छ । मुद्रास्फीति नियन्त्रमा कठिनाइ । देशको फितलो नियन्त्रण प्रणालीका कारण संरचनागत कमजोरी हुन सक्छ । वित्तीय क्षेत्रको विकास र विस्तार न्यून भएका बेला निष्क्रिय हुन सक्छन् । पूर्ण रूपमा निर्देशन तथा कम्प्लायन्सको पालना नगर्न सक्छन् । कमजोर बैंकिङ संरचनाका कारण पुराना प्रविधि र प्रक्रियाको प्रयोग हुने भएकाले पूर्ण रूपमा प्रभावकारी नहुन सक्छ । विदेशी मुद्रा सञ्चिति कमजोर हुँदा विनिमय दरमा अस्थिरता आउन सक्छ ।
राजनीतिक हस्तक्षेप र दबाबले पूर्ण रूपमा मौद्रिक नीति कार्यान्वयन नहुन सक्छ । ग्राहक सचेतनाका कारण मौद्रिक नीतिको पालना र कार्यान्वयन फितलो हुन सक्छ । नेपालमा अन्तर्राष्ट्रिय बजार तथा राजनीतिको प्रभाव पर्ने हुँदा प्रभाव नियन्त्रण गर्न कठिनाइ छ । मौद्रिक उपकरणको अत्यधिक निर्भरता हुँदा आर्थिक सुधारका अन्य पक्षहरूमा ध्यान नजाने हुँदा आत्मनिर्भरतामा कमी आउँछ । नेपालमा ठूलो मात्रामा अनौपचारिक क्षेत्र रहेकाले सोको प्रभाव उल्लिखित क्षेत्रहरूमा नपर्न सक्छ ।
मौद्रिक उपकरणहरूको प्रभावकारी प्रयोगले बैंकिङ प्रणालीलाई मात्र नभई समग्र आर्थिक व्यवस्थालाई बलियो बनाउन योगदान पुर्याउँछ । नेपालजस्तो विकासोन्मुख देशमा यी उपकरणले वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । बैंकिङ क्षेत्रमा मौद्रिक उपकरणको लाभलाई दीर्घकालीन रूपमा प्रयोग गर्न सके यसबाट बैंकिङ क्षेत्र सबल र सक्षम भई आर्थिक स्थायीत्व तथा वृद्धि पनि हुने भएकाले समग्र विकासमा सहयोग पुग्दछ ।
मौद्रिक उपकरणको प्रयोग वित्तीय स्थिरता र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भए पनि यसको कार्यान्वयनमा विभिन्न किसिमका सीमितता हुने हुँदा नेपालजस्तो विकासोन्मुख देशमा यी सीमितताहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ । नियामक निकाय, वित्तीय साक्षरता, बैंकिङ संरचनामा सुदृढीकरण, प्रविधिको विकास, प्राविधिक दक्षतामा अभिवृद्धि तथा नीतिगत स्थायित्व र सरकारमा स्थायित्व हुन जरुरी देखिन्छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभागीय प्रमुख हुन् ।)