होला त विद्युतीय सवारीको बोलवाला ?

फोसिल फ्यूल (डिजेल/पेट्रोल) को भण्डारण निश्चित भएको र यस्ता इन्धनबाट चल्ने सवारीसाधनले अधिक प्रदूषण गरेकाले यसको विकल्पको रूपमा विद्युतीय सवारी आइरहेका छन् । विगतका वर्षहरूमा विद्युतीय कारको त्यति धेरै महत्व थिएन । तर, पछिल्लो समय विद्युतीय सवारीप्रति राज्य तथा नागरिकहरूमा चासो बढेको छ ।
विश्वका ठूला सवारी निर्माताहरूले समेत विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिन थालेका छन् । दुई पांग्रे सवारीमात्र होइन, चारपांग्रे सवारी हुँदै ठूला मास ट्रान्सपोर्टका साधन उत्पादनमा समेत विभिन्न कम्पनीहरूले ठूलो धनराशि खर्चन थालेका छन् ।
विश्वका मुख्य सवारी उत्पादक जनरल मोटर्स, फक्सवागन, डिमलर एजी, फोर्ड, टोयोटा, बीएमडब्लू, होन्डालगायत कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा प्राथमिकताका साथ लागेका छन् । विद्युतीय सवारी वास्तविक रूपमा नयाँ केही होइन । तर, यसको इतिहास उल्लेखनिय रहेको छ । व्याट्रिको शक्तिबाट चल्ने सवारीको क्षमताबारे सबै प्रष्ट भइनै सकेको छ ।
सन् १८९९ र १९०० मा अमेरिकामा अन्य सवारीको तुलनामा विद्युतीय कारहरू बढी बिक्री हुने गरेको थियो । अमेरिकामा १९०० मा ४ हजार १ ९२ कार उत्पादन भएकोमा त्यसमध्ये २८ प्रतिशत विद्युतीय कार थिए । पेट्रोल तथा स्टिम–पावर्ड इन्जिनको तुलनामा विद्युतीय सवारीको धेरै विशेषता उल्लेख गरिएको थियो १९०० मै । त्यतिबेला सवारी उत्पादकहरूले विद्युतीय सवारीले ध्वनी प्रदूषण नगर्ने, भाइब्रेसन नआउने, गन्ध नआउनेलगायत फाइदाको प्रचार गरेका थिए । विद्युतीय सवारी चलाउन समेत सजिलो हुने गरेको थियो ।
१९२० मा हेनरी फोर्डले पेट्रोलियम पदार्थ बाल्ने क्षमता भएको इन्जिन विकास गरिसकेका थिए । यो इन्जिन जडित कार विद्युतीय कारको तुलनामा सस्तो बनेको थियो । उक्त समयमा फोर्डले पेट्रोल इन्जिन युक्त गाडीको मास प्रोडक्सन थालिसकेको थियो । उदाहरणका लागि १९१२ मा इलेक्टिक कार १ हजार ७ सय ५० अमेरिकी डलमा बिक्री हुन्थ्यो भने पेट्रोल कार ५ सय ५० अमेरिकी डलरमै बिक्री हुन्थ्यो ।
१९६०/७० को दशकमा पुनः विद्युतीय कारप्रति सबैको चासो बढेको थियो । कारण थियो प्रदूषण नियन्त्रणको मुद्दा । योसँगै सवारी उत्पादकहरू ई–कार उत्पादनमै केन्द्रीत हुन थालेका हुन् । १९७० को दशकमा मिनिएचर कम्युटर कार ज्यादै लोकप्रिय हुन पुगे । त्यतिबेलाको ‘सिटीकार’ टप स्पिड ४४ एमपीएच थियो, जबकि सामान्य क्रुजकारको स्पिड ३८ एमपीएच र रेन्ज ५० देखि ६० माइल्स थियो । त्यतिबेलाको अर्को चर्चित कार एलकारको उच्च गति ४५ एमपीएच र रेन्ज ६० माइल्स थियो ।
सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारीको प्रविधि विकासमा लगानी बढाउन थाले । बीएमडब्लूले १९७२ को ओलम्पिकमा आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको थियो । उक्त कारमा टुवेल्भ लिड–एसिड स्टाटर व्याट्रि राखिएको थियो । त्यसमा ४२ हर्सपावर इलेक्ट्रिक मोटर रहेको थियो । यो कारको अधिकतम गति ६२ एमपीएच र रेन्ज ३७ माइल्स रहेको थियो । लामो खोज र अनुसन्धानपछि भारतले समेत विद्युतीय कार उत्पादन गरेको थियो सन् २००१ मा । भारतको पहिलो ई–कार रेभा हो । उक्त कारको लक्षित बजार बेलायत थियो । यद्यपि रेभाको बजार भारत नै हुनसक्ने बताइएको थियो । अहिले महिन्द्राले मात्र होइन, टाटादेखि मारुती सुजुकीसम्मले विद्युतीय सवारी उत्पादनको लक्ष्य लिइसकेका छन् । सन् २०१६ मा भारतमा भएको अटो एक्पोमा महिन्द्राले मात्र एउटा मोडलको विद्युतीय कार प्रदर्शनीमा राखेकोमा २०१८ को अटो एक्पोमा दर्जनभन्दा बढी कम्पनीका ४०/५० मोडलका विद्युतीय सवारी तथा कन्सेप्ट कार प्रदर्शन गरिएको थियो ।
अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले विद्युतीय सवारीको वृहत बजारका लागि ठूलो योजना ल्याएको छ । पहिलो पटक कम्पनीले मास मार्केटका लागि २०१७ मा मोडल–३ बजारमा ल्याउने जनाएको छ । यो मोडल–३ मा २ सय माइल्सभन्दा धेरै रेन्जसहितको विशेषता रहेको र यसको मूल्य करिब ३५ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।
लङ–रेन्ज इलेक्ट्रिक कार निर्माणमा फराडे फ्युचर विशेषता टेस्ला लगायतले प्रयोग गर्दै रहेका छन् । यसले विद्युतीय सवारी उत्पादनमा व्यापक परिवर्तन ल्याउने अनुमान गरिएको छ । फराडे प्युचर अझै विस्तार हुने अनुमान छ, तर यस्तो कार २०२० सम्ममा मात्र सडकमा आउने टेस्लाले जनाएको छ ।
किन भारतमा विद्युतीय कार उद्योग उल्लेख्य विस्तार हुँदैछ ?
विश्वभर विद्युतीय सवारीको चासो बढिरहेको छ । संसारका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी उत्पादनमा आफूलाई अब्बल सावित गर्न प्रयासरत छन् । सवारी उत्पादक कम्पनीहरूले मात्र होइन, धेरै मुलुकहरूले समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएका छन् । कतिपय देशहरूले एउटा सहरलाई इन्धनबाट चल्ने सवारी मुक्त सहरको रूपमा घोषणा गर्ने क्रममा छन् भने केहीले गरिसकेका छन् । छिमेकी मुलुक भारतमा समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकतामा राखिएको छ । निजी कारमात्र होइन, भारतमा सार्वजनिक सवारीमा समेत विद्युतीय सवारी प्रयोगमा आउने भएको छ ।
पछिल्लो समय भारतमा विद्युतीय सवारी उद्योग व्यापक विस्तार हुँदै गइरेको बताइन्छ । विद्युतीय कार उद्योगमा भएको विस्तारका केही कारणहरू यस्ता छन्– भारत सरकारले लिएको नीति अनुसार २०२० सम्ममा प्रदूषणदर निक्कै कम गर्नुपर्छ भने २०३० सम्म विद्युतीय सवारीमात्र दर्ता गर्न पाउने नीति सरकारले तर्जुमा गर्दै छ । उक्त अवधिसम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको तुलनामा प्रदूषण नगर्ने विद्युतीय सवारीप्रति आम मानिसको आकर्षण बढ्ने अनुमान गरिएको छ । भारतको न्यायालयले सरकारलाई प्रदूषण नियन्त्रणका लागि आदेश दिएकाले पनि सरकारले विद्युतीय सवारी उत्पादकलाई उच्च प्राथमिकता दिएको छ । आवश्यक नीति तय गरी प्रदूषण नगर्ने विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहन गर्न लागिएको हो ।
कर्पोरेट हाउसहरूलाई विद्युतीय सवारी प्रयोग गर्न प्रोत्साहन गरिएको छ । भारतको विद्युतीय सवारी उत्पादक कम्पनी महिन्द्रा इलेक्ट्रिक्सले विभिन्न व्यावसायिक घरानाहरूलाई इलेक्ट्रिक सवारीको प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । लिथियम अर्बान टेक्नोलोजिज् लगायत कम्पनीहरूले बैंलोरमा स्टाफहरूको आवतजावतका लागि विद्युतीय सवारी प्रयोग गर्दै आएको छ । विश्वभर विद्युतीय सवारीमा प्रयोग हुने व्याट्रि निक्कै महँगो पर्दै आएको छ । विद्युतीय सवारीको यो नै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । २०११ मा १ एडब्लूएच व्याट्रिको मूल्य ६ सय अमेरिकी डलर पथ्र्यो । २०२० सम्ममा यो मूल्य घटेर प्रति केडब्लूएचको २ सय डलरमा झर्ने अनुमान गरिएको छ । विद्युतीय सवारी उत्पादनमा लगानी गरेका कम्पनीहरूले कसरी सस्तो मूल्यमा शक्तिशाली ब्याट्री उत्पादन गर्न सकिन्छ भनेर व्यापक अनुसन्धान गरिरहेका छन् ।
भारत सरकारले लिएको विद्युतीय सवारी मैत्री नीतिले पनि विद्युतीय सवारीको उत्पादन तथा प्रयोगमा व्यापक परिवर्तन आउने अनुमान गरिएको छ । त्यस्तै विश्वभर विद्युतीय सवारीमा प्रयोग हुने व्याट्रिको मूल्यमा आएको गिरावटले समेत यसलाई सहयोग पुराउनेछ । त्यस्तै व्याट्रिको क्षमतामा समेत व्यापक विस्तार भएको छ । विगतमा घण्टौं चार्ज गर्दा केही घण्टा/किलोमिटर मात्र सवारी कुद्न सक्थे । तर अहिले प्रविधिमा भएको विकासले केही घण्टा चार्ज गर्दा सयौं किलोमिटर कुद्नसक्ने व्याट्रिको विकास भइसकेको छ । यसका साथै विद्युतीय सवारीका लागि नभई नहुने कुरा चार्जिङ स्टेशन हो । यसमा पनि सरकारले चार्जिङ स्टेशनका लागि आवश्यक पूर्वाधार निमार्णलाई तिब्रता दिएकाले भारतमा विद्युतीय सवारीको प्रयोगमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
निजी कारमा मात्र होइन, ठूला बसमा समेत भारतले विद्युतीय सवारीलाई प्राथमिकता दिने देखिन्छ । भारतीय कमर्सियल सवारी उत्पादन कम्पनी टाटा, अशोक लेल्यान्डले समेत विद्युतीय बस उत्पादनमा ब्यापक लगानी विस्तार गरेको छ । त्यस्तै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडी पनि भारतीय बजारमा प्रवेश गरिसकेको छ ।
नेपालमा के होला ?
नेपालमा दुईपांग्रे सवारीमा दर्जनभन्दा धेरै विद्युतीय सवारी बजारमा आएका छन् । तर, त्यसले अपेक्षाकृत बजार लिन सकेको देखिँदैन । चारपांग्रे सवारीमा महिन्द्राको रेभाबाट सुरु भएको विद्युतीय सवारी महिन्द्राकै इटूओ, बीवाइडी, किया सोलइभी सडकमा देखिन्छन् । विद्युतीय सवारी पनि पेट्रोलियम सरह महँगो हुनु र पेट्रोलियमबाट चल्ने सवारीले जस्तो पावर नदिने हुनाले कममात्र चलेको हुनसक्छ । तर, सार्वजनिक सवारीमा भने ट्याम्पो बाहेक ठूला बसहरू विद्युतीय आउन सकेका छैनन् । भारतले २०३० सम्म विद्युतीय सवारी अनिवार्य गरे नेपालमा त्यसको स्वतः प्रभाव पर्नेछ । त्यसअघि नेपालले पनि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । काठमाडौं लगायत सहरी क्षेत्रमा विद्युतीय सवारीमात्र सञ्चालनमा ल्याउन सकेमा प्रदूषण न्यूनिकरणमा ठूलो सहयोग पुग्ने छ ।