गौतमबुद्ध विमानस्थलबाट नौ हजार उडे, कतारको उडान बन्द
भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ हजारभन्दा बढी यात्रुले सिधा उडान, अवतरण र ट्रान्जिट सुविधा लिएका छन् । गत कात्तिक १८ देखि मंसिर १५ सम्म यी यात्रुले विमानस्थल प्रयोग गरेका हुन् ।
यो विमानस्थलबाट कुवेत–भैरहवा–कुवेत तथा बैंकक–भैरहवा–बैंकक सिधा उडान भइरहेको छ भने दुबई–भैरहवा–काठमाडांै–दुबई तथा दोहा–भैरहवा–काठमाडौं–दोहा ट्रान्जिट उडान भइरहेको छ । २८ दिनमा सिधा उडानमार्फत २ हजार २ सय २७ यात्रु भैरहवा ओर्लंदा २ हजार ५२ जना यहाँबाट प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरण भैरहवाका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । त्यसैगरी यो विमानस्थलमार्फत ४ हजार ९ सय ३२ जनाले ट्रान्जिट सेवा लिएका छन् । फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलाइन्सले ट्रान्जिट उडान गर्दै आएका छन् ।
रावतका अनुसार सबैभन्दा बढी कुवेतबाट आउने र त्यहाँ जाने यात्रु छन् । जजिरा एयरवेजबाट १ हजार १ सय ५४ जना यात्रु भैरहवा ओर्लंदा १ हजार ६ सय ३१ जना कुवेत प्रस्थान गरेका छन् । जजिराले यो गन्तव्यमा साताको ३ उडान गर्दै आएको छ । यसको उडान नियमित भइरहेको छ । त्यसैगरी हप्ताको दुई उडान सुरु गरेको थाई एयर एसियाले भने लोडका कारण साताको एक उडानमात्र गर्दै आएको सूचना अधिकारी रावतले बताए । थाईबाट अहिलेसम्म ७२ जना यात्रु आउँदा ३ सय ७५ यात्रु सिधै बैंकक उडेका छन् ।
कतार एयरवेजले उडान तालिका ३० नोभेम्बरसम्मका लागि स्वीकृत गराएकोमा डिसेम्बर एकदेखि उडान बन्द गरेको छ । अब फेरि उडान गर्छ या गर्दैन निश्चित छैन । अन्य कम्पनीले भने नियमित तालिकाअनुसार नै उडान गरिरहेका छन् । जजिराले कुवेत हुँदै दुबई, दोहा, बहराइनलगायत गन्तव्यबाट समेत ट्रान्जिट सेवा उपलब्ध गराएपछि दुबई तथा दोहामा रहेका यात्रु पनि जजिराबाट सिधै भैरहवा आउने क्रम बढेको छ ।
अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भएपछि आशाको सञ्चार भएको पर्यटन व्यवसायीले बताएका छन् । ‘सुरुवात भएको छ, अब दिगो बनाउनुपर्छ । दिगो बनाउने काम सरकारको हो, निजी क्षेत्र आफ्नो तर्फबाट पछि हट्दैन,’ सिद्धार्थ होटल संघ नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने । यो मौसममा बढी हुस्सु लागेर उडान–अवतरणमा समस्या हुने भएकाले आईएलएस प्रविधि प्रयोग गर्नुपर्ने जानकारहरुले बताएका छन् । यो उपकरण जडान भए पनि भारतसँग सहमति हुन नसक्दा प्रयोगमा आउन सकेको छैन ।