सिद्धबाबाको ८० प्रतिशत सुरुङ खनियो
बुटवल– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि दैनिक डेढ सयजति कामदार खटिएका छन् ।
कुल १ हजार १२६ मिटर सुरुङ निर्माण हुनुपर्नेमा अहिलेसम्म ८० प्रतिशत सुरुङ खन्ने काम सकिएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले अब २३० मिटर सुरुङ खन्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार यही डिसेम्बर अन्तिमसम्ममा सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य राखेर काम भइरहेको छ ।
मुख्य सुरुङसँगसँगै तीन वटा बाइपास सुरुङसमेत निर्माण गरिएको छ । बाइपास पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर लामो हुनेछ । हालसम्म पहिलो १४४.५ मिटर खनिएको छ । दोस्रो १४८.८ मिटर र तेस्रो बाइपास सुरुङ १२८.३८ मिटर खनिएको छ । मुख्य सुरुङमार्गमा यात्राका क्रममा सडक अवरुद्ध भएमा बाइपास सुरुङमार्ग प्रयोग गर्न सकिने आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताए ।
सुरुङमार्ग ब्रेकथ्रु अर्थात् छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि समग्रमा भौतिक प्रगति ३३.५९ प्रतिशतमात्र काम भएको छ । यो नोभेम्बरसम्मको प्रगति हो । ब्रेकथ्रुपछि अरु थुप्रै काम हुने अधिकारीको भनाइ छ । ‘सुरुङ खनेर सकिएपछि त्यहाँ लाइनिङ गर्नुपर्छ । भित्र पूरै ढलान गर्नुपर्छ । लाइट र फायर फाइटिङ जडान गर्नुपर्छ । पूरै सम्पन्न हुन अझै समय लाग्छ,’ उनले भने ।
सुरुङको काम सम्पन्न भएपछि बाहिरको दुई लेन सडक स्तरोन्नतिको पनि काम हुनेछ । सुरुङमार्गमा गाडी चल्न थालेपछि बाहिरको करिब ३ किलोमिटर सडकमा ब्यारियर रकसेड निर्माणको काम हुनेछ । रकसेडले माथिबाट आएको ढुंगा सडकमा आउन रोकिन्छ । सडकको जोखिमयुक्त ठाउँमा रकसेड निर्माण हुने अधिकारीले जानकारी दिए ।
सिद्धबाबा सुरुङको लागि सरकारले २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) सँग ठेक्का सम्झौता गरेको हो । यसको लागत ७ अर्ब ३४ करोड रुपैयाँ छ । २०८० माघ ४ गते सुरुङ खन्ने काम औपचारिक रुपमा सुरू भएको थियो । ठेक्का सम्झौताअनुसार सन् २०२७ मार्चसम्म सुरुङमार्ग निर्माण सक्नुपर्ने म्याद छ । हालसम्म लागतको २३ प्रतिशत बजेट खर्च भएको योजना प्रमुख अधिकारीले जानकारी दिए ।
सिद्धबाबा क्षेत्र सिद्धार्थ राजमार्गकै जोखिमयुक्त क्षेत्र हो । सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्रमा वर्षायाममा सडकमा ढुंगा तथा पहिरो झरिरहने समस्या छ । हिउँदमा समेत माथि भीरबाट ढुंगा झर्ने गर्छ । सिद्धबाबाको पहिरोका कारण थुप्रै यात्रुले ज्यान गुमाएका छन्, दर्जनौं सवारीसाधनमा क्षति पुगेको छ । समय–समयमा पहिरोका कारण सडक अवरुद्ध हुने गर्छ । यात्रुहरुलाई सडकमा पनि त्रसित भएर यात्रा गर्नुपर्ने अवस्था छ ।
चुनावको समयमा पाल्पाबासीको मुख्य विषय सिद्धबाबाको पहिरो समाधान हुने गर्छ । संघ तथा प्रदेश सांसदहरुले संसद्मा यो विषय जोडदारसँग उठाउने गरेका पनि छन् । सुरुङ निर्माण सुरु भएपछि भने पाल्पाबासीमा केही आशा पलाएको छ । पेशागत कामको लागि तिनाउ गाउँपालिका दोभानका विष्णुप्रसाद पाण्डे दिनहँुजसो बुटवल ओहोरदोहोर गर्छन् । ‘वर्षायाममा कहिले पहिरो खस्छ थाहै हुँदैन । डराई–डराई यात्रा गर्नुपर्छ,’ उनले भने, ‘सुरुङ बनिरहेको देखेपछि भविष्यमा सुरक्षित तरिकाले यात्रा गर्न पाइएला कि भन्ने आशा लागेको छ ।’ निर्माणको काम पनि तीव्र गतिमा भइरहेको आफूले देखिरहेको उनले बताए । बुटवलबाट यो सडक भएर गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बाग्लुङ, पर्वत, कास्कीसम्म यात्रा गर्ने गरिन्छ । सुरुङमार्ग बनेपछि बुटवलबाट पहाडी जिल्लामा यात्रा गर्न सहज हुनेछ ।