नागढुंगा-सिस्नेखोला सुरुङको प्रगति ८२.७० प्रतिशत
काठमाडौं– नागढुंगा–सिस्नेखोला जोड्ने सुरुङमार्गको भौतिक प्रगति ८२.७० प्रतिशत पुगेको छ । यो नोभेम्बरसम्मको प्रगति हो । अहिलेसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसक्नुपर्ने आयोजना कहिले पूरा हुने अन्योल छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङ फिनिसिङको काम भइरहेको छ ।
काठमाडौं–धादिङ जोड्ने यो सुरुङमार्ग २ हजार ८ सय ८८ मिटर लामो छ । आयोजना शिलान्यास सन् २०१९ अक्टोबर २१ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । शिलान्यासको १४ महिनापछि २०२० डिसेम्बर २२ देखि निर्माण थालिएको थियो । सुरुको लक्ष्यअनुसार काम भएको भए २०२३ अप्रिल २६ मा आयोजना पूरा हुनुपर्ने थियो । लक्ष्यअनुसार काम नभएपछि २०२४ अप्रिल २५ सम्म म्याद थप गरिएको थियो ।
पछिल्लो समय फेरि म्याद थपेर २०२५ अक्टोबरसम्म पुर्याइएको छ । समयमा काम नहुनुमा कोभिड महामारी, भारतीय नाकाबन्दी र स्थानीय बासिन्दाको पटक–पटकको अवरोध पनि कारण बनेका छन् । थपिएको समयमा पनि आयोजना पूरा नहुने आशंका देखिएको छ । आयोजना उपनिर्देशक सञ्जय पन्थीका अनुसार फिनिसिङको काम भइरहेको छ । उनले भने, ‘आयोजनाले काम गर्न पाएको खण्डमा समयअगावै पूरा हुन्छ ।’ अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति ८२ प्रतिशतमात्र भएको छ ।
यो आयोजना जापानको हाज्मा आन्दो कर्पोरेसनले बनाउन सुरु गरेको हो । नेपाल र जापानको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो सुरुङले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्नेछ । सम्झौताअनुसार नेपाललाई जापान सरकारबाट १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) उपलब्ध हुनेछ । नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी हुनेछ । तत्कालिन समयमा ४० वर्षका लागि ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण सम्झौता भएको थियो । नेपाल सरकारले जग्गा प्राप्ति र अन्य प्रशासनिक खर्च व्यहोर्ने सम्झौता भएको थियो । सुरुङमार्गको सर्भे जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाईका) ले गरेको हो ।
आयोजनाको समग्र भौतिक प्रगति धेरै नभए पनि सुरुङ खन्ने मुख्य काममा प्रगति भएको थियो । गत वैशाख पहिलो हप्ता सुरुङ ब्रेकथ्रु भएको थियो । काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरको हो । यसमध्ये २ हजार ६ सय ७४ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । अर्को निकासी सुरुङमार्गको २५ सय ५७ मिटर सुरुङ खन्ने काम गत साउन २२ मा सकिएको थियो । वर्किङ अडिट १ सय २६ मिटर र क्रस प्यासेज १ सय २८ मिटर खन्ने काम पूरा भएको छ । अहिले मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम भइरहेको छ ।
आयोजनाले निर्माण गर्नुपर्ने ३ अन्डरपास, ४ बक्स कल्भर्ट, १ ओभरपास र ३ पुल निर्माण पूरा भएको छ भने एउटा फ्लाइओभरको ९५ प्रतिशत काम पूरा भएको छ । काठमाडौंको बलम्बुबाट सडक निर्माण भएर आयल निगमको डिपोभन्दा उत्तरमा रहेको टुटे पाखाबाट सुरुङ सुरु हुन्छ । सुरुङसँगै यस क्षेत्रमा ४ सय मिटर लम्बाइको पहिलो फ्लाइओभर बलम्बुमा निर्माण हुँदैछ ।
सुरुङबाट निकालिएको माटोबाट धादिङको सिस्नेखोलामा राजमार्ग सेवा केन्द्र (रोडसाइट सर्भिस स्टेसन) स्थापना हुनेछ । यसमा अन्तर्राष्ट्रिय स्तरको चमेना गृह र व्यापारिक कक्ष बनाइनेछ ।
पूर्व–पश्चिम एप्रोच रोडसमेत निर्माण हुनेछ । पूर्वतिर २३ सय ७ मिटर र पश्चिमतर्फ ५ सय ६५ मिटर लामो सडक निर्माण हुनेछ । आयोजनाअन्तर्गत ७ साना पुल र ११ बक्स कल्भर्ट बन्नेछन् । यसैगरी मर्मतसम्भार र ट्राफिक मनिटरिङ बिल्डिङ निर्माण हुनेछ । यो सुरुङमार्ग बनेपछि करिब ४० मिनेट समय बचत हुनेछ भने ८ किलोमिटर राजमार्गको लम्बाइ कम हुनेछ । यो आयोजनाका लागि आवश्यक १ सय ९ रोपनी जग्गामध्ये ४४ रोपनी अधिग्रहण गरिएको थियो । यसका लागि ६ अर्ब रुपैयाँ खर्च भएको छ ।
आयोजनाले मुआब्जा नदिएको भन्दै यही मंसिर ९ गतेबाट स्थानीयले अवरोध गरेका छन् । अवरोधका कारण आयोजनाले गति लिन नसकेको उपनिर्देशक पन्थीले बताए ।