आर्थिक पत्रकारिताको दायित्व
सन् १८४३ मा बेलायतबाट प्रकाशन भएको ‘द इकोनोमिस्ट’लाई विश्व आर्थिक पत्रकारिताको प्रस्थानबिन्दु मानिए पनि सुरुका दिनहरूमा यसले खासै चासो पाउन सकेको थिएन । प्रथम विश्वयुद्धको समाप्ति र दोस्रो विश्वयुद्धको सुरुवातअघिको समयमा पुँजीबजारको विकास हुँदै जाने क्रममा आर्थिक पत्रकारिताले चासो पाउन थालेको हो । दोस्रो विश्वयुद्धपछि आइपुग्दा भने औद्योगिक लगानी, पुँजीबजारको विकास र प्रविधिमा आएको उन्नतिले गर्दा विश्वमा आर्थिक पत्रकारिता फस्टाउँदै गएको हो ।
नेपालको सन्दर्भमा गोरखापत्रमा केही छिटफुट आर्थिक समाचारहरू छापिँदै आए पनि उदारीकरणको बढ्दो विस्तारले सन् १९७० पछि आर्थिक पत्रकारिताले व्यापकता पाएको देखिन्छ । मुलुकमा उदार अर्थनीतिलाई द्रुत गतिमा अघि बढाइएसँगै बैंक तथा वित्तीय संस्था एवम् इन्स्योरेन्स कम्पनीहरूको संख्या वृद्धि भयो र पुँजीबजारको पनि विकास हुँदै गयो । यसका साथै अर्थतन्त्रका नवीन क्षेत्र पनि खुला हुँदै गए । यस क्रममा बजारले आफैं आर्थिक समाचारको माग गर्न थाल्यो ।
परिणामस्वरूप विभिन्न पत्रपत्रिका तथा रेडियो, टेलिभिजनमा यस्ता सामग्रीले प्रश्रय पाउन थाले । आज आएर आमसञ्चारमाध्यममा आर्थिक पत्रकारिता नै राजनीतिपछि पहिलो प्राथमिकतामा पर्ने गरेको छ । राजधानी होस् वा राजधानीबाहिर सबैतिर प्रकाशन हुने पत्रपत्रिकाहरूमा आर्थिक विषयले छुट्टै प्राथमिकता पाउन थालेको छ । पत्रिकाहरूमा छुट्टै आर्थिक पृष्ठ राखेर समाचार प्रकाशन गर्ने र आर्थिक लेखहरूलाई पनि प्राथमिकता दिने गर्न थालिएको छ ।
हाल नेपालमा आर्थिक अभियान, कारोबार र आर्थिक नामक पत्रिकाहरूले आर्थिक पत्रकारिताको नेतृत्व गरिरहेका छन् । इन्टरनेटको विकाससँगै अर्थ सरोकार, मेरो लगानी, बैंकिङ खबर र सेयर बजार डटकमजस्ता थुप्रै डिजिटल र अनलाइन माध्यमहरूले पनि आर्थिक समाचारलाई उत्तिकै प्राथमिकता दिन थालेका छन् । खासगरी २०६२-६३ को जनआन्दोलनपछि मिडियामा आर्थिक विषयवस्तुले प्राथमिकता पाउन थालेको हो । आर्थिक पत्रकारिताकै कारण देशमा आर्थिक सूचनाको पहुँच र सचेतना बढाउन योगदान पुगेको छ । यद्यपि, यस क्षेत्रमा अझै केही चुनौतीहरू बाँकी छन्, जसलाई थप सुधार गर्नु जरुरी छ ।
चुनौतीबीच आर्थिक पत्रकारिता
पछिल्लो समय नेपालमा आर्थिक पत्रकारिताको विकास हुँदै गए पनि अधिकांश रिपोर्टिङ समाचार प्रवाहमा केन्द्रित हुने गरेको पाइन्छ । समाचारहरू विश्लेषणात्मक र अनुसन्धानमूलक नहुँदा आम मान्छेले त्यसलाई बुझ्न कठिन बनेको छ । त्यसैले अबका दिनहरूमा नागरिकलाई आर्थिक नीतिको वास्तविक प्रभाव र दीर्घकालीन असरबारे विस्तृत जानकारी दिन आर्थिक पत्रकारिता अग्रसर हुनुपर्छ ।
अर्थशास्त्र विषयका अनगिन्ती चर हुन्छन्, जसलाई नबुझी आर्थिक विषयको सही व्याख्या, विश्लेषण गर्न सकिँदैन । यस्ता आर्थिक एवम् वित्तीय विषयहरूबारे बुझ्न र व्याख्या गर्न पत्रकारहरूमा गहिरो ज्ञानको आवश्यकता पर्छ । त्यसैले यस विषयमा संलग्न पत्रकारहरूलाई पेसागत तालिम आवश्यक हुन्छ । आर्थिक पत्रकारिताका सन्दर्भमा आर्थिक समाचार र विश्लेषण बुझ्ने पाठकहरूको कमी हुनु पनि अर्को चुनौती हो । आर्थिक समाचारप्रति सामान्य पाठकको रुचि र ज्ञान अझै सीमित छ, जसले गर्दा आर्थिक पत्रकारितालाई लोकप्रिय बनाउनु सहज विषय होइन । त्यसैले आममानिसलाई सामान्य विषयहरूसमेत स्पष्ट हुने गरी वित्तीय एवम् आर्थिक साक्षरता दिलाउनु जरुरी हुन्छ ।
आर्थिक अनियमितता, कर छली, बैंकिङ फ्रड, सुनकाण्डकलगायतका विभिन्न प्रकरणका समाचार आउने भए पनि त्यस्ता समाचारको निरन्तर अनुगमन र खबरदारी हुन सकेको देखिँदैन । त्यसैले आर्थिक पत्रकारितामा आर्थिक अनियमितता र भ्रष्टाचारको तथ्य बाहिर ल्याउनु मात्र ठूलो कुरा होइन । बरु त्यस्ता समाचारको नियमित अनुगमन र खबरदारी पनि उत्तिकै जरुरी हुन्छ ।
आर्थिक पत्रकारिताका विषयवस्तु
आर्थिक विषय विभिन्न क्षेत्रसँग अन्तरसम्बन्ध राख्ने र जेलिएको विषय पनि हो । चोरी र वेश्यावृत्तिजस्ता विषयसमेत आर्थिक विषय बन्न सक्छन्, तर त्यसका लागि तिनले पार्ने आर्थिक प्रभावको विश्लेषण गर्न सक्नुपर्छ । त्यसैले पत्रकारमा समाचारको आर्थिक विश्लेषण गर्न सक्ने क्षमता जरुरी हुन्छ ।
सामान्यतया अर्थसँग सम्बन्धित विषय नै अर्थशास्त्रको विषयवस्तु हो । त्यसैले अर्थको प्राप्ति, सम्भार, वृद्धिजस्ता विषय नै आर्थिक पत्रकारिताको विषयवस्तुको सेरोफेरो हो । यसलाई एडम स्मिथको परिभाषाले पनि प्रस्ट पारेको छ । एडम स्मिथका अनुसार, अर्थशास्त्र यस्तो विज्ञान हो जसले समाजमा धनको उत्पादन, वितरण र उपभोगको अध्ययन गर्छ । उनले अर्थशास्त्रलाई मुख्य रूपमा राष्ट्रको सम्पन्नता वृद्धि गर्ने र आर्थिक गतिविधिलाई प्रभावकारी बनाउने विषयको रूपमा परिभाषित गरे । यसबाट पनि प्रस्ट हुन सकिन्छ कि आर्थिक पत्रकारिताको चासो धनको प्राप्ति, उपयोग, सम्भार र वृद्धिसँग रहेको हुन्छ, चाहे त्यो व्यक्ति वा संस्थासँग सम्बन्धित होस् वा राज्यसँग सम्बन्धित नै किन नहोस् । त्यसैगरी एडम स्मिथपछिका अर्थशास्त्रीहरूले अर्थशास्त्रको विषयबारे चर्चा गरेजस्तै मानव कल्याण, सीमित स्रोतको वैकल्पिक प्रयोग आदि विषय पनि आर्थिक पत्रकारिताको विषय बन्न जान्छ ।
उद्योग–व्यवसाय, वित्तीय कारोबार, मुद्रा र नाफा–घाटासँग सम्बन्ध राख्ने गतिविधिहरू आर्थिक पत्रकारिताका विषय हुन् । कृषि, पर्यटन, ऊर्जा, व्यवसाय, उद्योगजस्ता अर्थाेपार्जनका क्षेत्रहरूको समाचार पनि आर्थिक पत्रकारिताको दायराभित्र समेटिन्छ । त्यतिमात्र होइन, सरकारी योजना, वार्षिक बजेट, भ्रष्टाचार, गरिबीको अवस्था, देशको आर्थिक विस्तार, फेसन र मनोरञ्जनलगायतका बहत् विषय पनि यसभित्रै अटाउँछन् । आर्थिक पत्रकारितामा वर्तमानमा भइरहेका आर्थिक गतिविधिका साथै आर्थिक समस्या र तिनको समाधानका निम्ति अपनाउनुपर्ने सतर्कता र नीतिगत पहलका विषयमा पनि चर्चा गरिनुपर्छ । त्यसैले मुलुकको आर्थिक पहरेदार पनि हो, आर्थिक पत्रकारिता ।
यसले समाजलाई राज्यका आर्थिक गतिविधिबारे सजग मात्र गराउँदैन, बरु आममान्छेलाई आर्थिक रूपमा सुसूचित गराई समृद्धिको बाटो पहिल्याउँछ । आर्थिक पत्रकारिताकै जगमा उभिएर आर्थिक रूपले सम्पन्न मानिसका सफलताका कथा पनि मानिसका निम्ति प्रेरणाका स्रोत बन्न सक्छन् । कुना–कन्दरामा रहेर ठेला परेका हातहरूले अर्थतन्त्रमा पुर्याएको योगदानको सम्मानमा समेत कलम चलाउन सकिन्छ । करेसाबारीदेखि कतारको पसिना चुहिने गर्मीमा गरिने श्रमको चर्चासमेत यसैअन्तर्गत समेटिन सक्छ ।
विभिन्न राजनीतिक दलका आर्थिक एजेन्डाको चिरफार पनि उत्तिकै आवश्यक विषय हो । राजनीतिक दलका आर्थिक नीति तथा कार्ययोजनाहरूबारे जनताको सहज पहुँच हुनुपर्छ । यसका लागि आर्थिक पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आर्थिक पत्रकारिताले मुलुकको आर्थिक विकासको एजेन्डा स्थापित गराउन र त्यसका निम्ति जनसमर्थन जुटाउन प्रयास गर्नुपर्छ । आर्थिक समृद्धि, रोजगारी प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण, राजस्व चुहावट, भ्रष्टाचार तथा कालोबजारी नियन्त्रणजस्ता विषयलाई आर्थिक पत्रकारले केन्द्रमा राख्नुपर्छ । अहिले आर्थिक बेथितिहरूको अन्त्य गर्दै मुलुकको आर्थिक समृद्धिका निम्ति मिसन पत्रकारिता आवश्यक छ ।
आर्थिक पत्रकारिताको आवश्यकता
आर्थिक उदारीकरणको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि मुलुकको आर्थिक अवस्था उकालो लाग्न सकिरहेको छैन । मुख्य रूपमा आर्थिक मुद्दामा राजनीतिक दलहरू संवेदनशील हुन नसक्दा मुलुकको आर्थिक अवस्था जर्जर हुँदै गएको हो । सामाजिक र सांस्कृतिक क्रान्तिको नाममा अर्थतन्त्रको उपेक्षाले देशलाई आर्थिक रूपमा झन् पछाडि पारिरहेको सहज अनुमान लगाउन सकिन्छ । मुलुकलाई आर्थिक बेथितिले गाँजेको छ । जबसम्म यो बेथितिको अत्य हुँदैन, तबसम्म मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिँदैन । यही कारणले गर्दा पनि राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्रबाट आर्थिक विषयवस्तुहरूलाई मुख्य प्राथमिकतामा राख्नु जरुरी छ ।
समाचार, लेखरचना, अन्तर्वार्ता, समाचार टिप्पणी, समाचार विश्लेषण आदिमा आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक क्रान्तिको नेतृत्व पत्रकारिता जगत्बाटै गर्नु आजको आवश्यकता हो । खासगरी नेतृत्व वर्गलाई आर्थिक विषयमा गम्भीर बनाउन सके मुलुकको आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहज हुने थियो । यस्ता कुरामा पत्रकारिता जगत् सचेत हुनैपर्छ ।
कुनै पनि आयोजना स्थापना गर्नुपूर्व त्यसको औचित्यबारे प्रश्न उठाउने काम पत्रकारिता जगत्कै हो । आयोजना सञ्चालनका क्रममा देखा पर्ने ढिलासुस्तीबारे होस् वा योजना सम्पन्नपछिको गुणस्तर परीक्षण स्वयं भुक्तानी प्रक्रिया, सबै कुरामा दृष्टि लगाउने काम पत्रकारिताले गर्नु आवश्यक छ । कार्टेलिङका कारण हुने मूल्यवृद्धि, खुला सिमानाका कारण हुने अवैध व्यापार, किसानले बीउबिजन र मलखाद पाउन नसक्नुका कारण, उद्योग क्षेत्रमा हुने मिसावटजस्ता आर्थिक विषयहरूलाई पत्रकारिताले बाहिर ल्याउनु आवश्यक छ ।
मुलुकको पर्यटन क्षेत्रका सम्भावना, यहाँका धार्मिक तथा प्राकृतिक सम्पदा आदिबारे सञ्चारमाध्यमद्वारा विश्व जगत्मा ल्याउन सके नेपालको पर्यटनमा राहत हुन सक्थ्यो । यसका साथै आयात प्रतिस्थापन गर्न सकिने विषय र सफल व्यवसायीहरूका कथा पनि पत्रकारिताको महत्वपूर्ण विषय बन्नुपर्छ । विभिन्न औद्योगिक क्षेत्र, औद्योगिक करिडोर तथा सेजका विषयहरूलाई पनि पत्रपत्रिका एवम् सञ्चारमाध्यमहरूले महत्व दिनुपर्छ । उद्योग क्षेत्रले उचित वातावरण नपाउँदा मुलुकबाट पुँजी पलायन हुने खतरा बढिरहेको सन्दर्भमा यस्ता विषयले त्यहाँका समस्याको पहिचान र त्यस्ता समस्याको समाधानका उपाय पहिल्याउन मद्दत मिल्छ । यसप्रति पनि पत्रकारिता क्षेत्रको आँखा जानु जरुरी छ ।
र, अन्त्यमा
आमजनताले बुझ्ने भाषाशैलीमा आर्थिक पत्रकारिता अगाडि बढाउनु आजको मुख्य आवश्यकता हो । आर्थिक पत्रकारिताको नाममा क्लिष्ट एवम् प्राविधिक शब्दहरू राखेर पाना भर्दैमा त्यस्तो आर्थिक पत्रकारिताले कुनै पनि उपलब्धि दिन सक्दैन । यही कारणले गर्दा अब पत्रकारहरूलाई आर्थिक पत्रकारिताबारे तालिम दिएर भए पनि पत्रिका, रेडियो र टेलिभिजन एवम् युट्युब च्यानलहरूले आर्थिक विषयहरूलाई विशेष प्राथमिकतामा राख्नु जरुरी छ । त्यसो त पछिल्लो समय नेपाल आर्थिक पत्रकार समाजले बेलाबखत आर्थिक पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्दै आएको पनि छ । यो आफैंमा एउटा सुन्दर सुरुवात हो । तर, यतिमात्र पर्याप्त छैन । यसलाई अझै बढाउँदै जानुपर्ने देखिन्छ ।
समग्रमा राज्य सञ्चालकले आर्थिक मुद्दाहरूलाई बेवास्ता गरेको सन्दर्भमा उनीहरूलाई मार्गनिर्देशन गर्न, वित्तीय क्षेत्रलाई अनुशासित गराउन र आमजनतालाई वित्तीय साक्षरताका माध्यमले सुसूचित गराउन पत्रकारिता जगत्ले आफ्नो धर्म निर्वाह गर्नु जरुरी छ । समाचार सम्प्रेषण गर्दा विषयवस्तु मात्र होइन, त्यस्ता विषयवस्तुले मुलुकमा केकस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि संवेदनशील हुनुपर्छ । त्यसैले कृषि, पर्यटन र जलविद्युत्जस्ता मुलुकको सम्भावनाका क्षेत्रहरूबारे उजागर गर्ने, त्यस्तो क्षेत्रमा लगानी वृद्धि गर्नका लागि लगानीकर्तामा चेतना विस्तार गर्ने र सरकारलाई संवेदनशील बनाउने काममा पत्रकारिता जगत् केन्द्रित हुनुपर्छ ।