होमस्टेको नयाँ गन्तव्य बन्दै अयरपानी
स्याङ्जा– आन्तरिक र बाह्यि पर्यटकलाई होमस्टेमार्फत स्वागत गर्ने पहिलो जिल्ला हो स्याङ्जा । स्याङ्जाको फेदिखोलामा रहेको अयरपानी सामुदायिक होमस्टेका महिलाहरु पाहुँनाहरुकै स्वागत सत्कारमा रमाउदै आएका छन् ।
होमस्टेबाट उनीहरुले राम्रो आम्दानी लिइरहेका छन् । स्याङ्जामा नेपालकै पहिलो होमस्टे सिरुवारी सञ्चालमा आएपछि जिल्लाका विभिन्न गाउँमा होमस्टे संञलन गर्ने बढ्न थालेका छन् । घरमै बसेर पाहुनाको स्वागत सत्कार गरि सजिलै आम्दानी बटुल्न सकिने भएपछि होमस्टे गर्ने गाउँहरु क्रमश बढ्न थालेका हुन् । जहाँ होमस्टे सञ्चालनमा आएका छन् त्यहाँ बसाइसराई पनि कम हुने गरेको तथ्यांकले देखाएको छ ।
सिरुवारीपछि फेदिखोला गाउँपालिका–१ मा रहेको अयरपानी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । जसका कारण आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सिरुवारीपछि यी दुई गाउँमा रहेको होमस्टे आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन् । विशेष गरि अयरपानी होमस्टेमा अग्र्यानिक उत्पादित खानकै लागि पाहुना आउने गरेको अयरपानी सामुदायिक होमस्टे सञ्चालक निवु गुरुङ बताउँछिन् ।
स्थानीय माटोमा उत्पादन हुने तरकारी र कोदोका परिकार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको गुरुङको भनाइ छ । दैनिक पाहुना आइरहने भएकाले होमस्टे सञ्चालक खाली बस्न नपरेको गुरुङले भोगाइ छ । होमस्टेमा आउने पाहुनालाई फूलमाला र सेतो चामलको टीका लगाई स्वागत गर्ने प्रचलन छ । यहाँ आउने विशेषता भनेकै गाउँमै उत्पादन भएको खाना खान पाइने हो । प्याकेजमा एक दिनको एक जनालाई १२ सय रुपैयाँ खर्च लाग्ने सञ्चालकहरु बताउँछन् ।
यो होमस्टेमा आउने पाहुनाले स्थानीय उत्पादनका परिकार खुवाउने होमस्टे सञ्चालक बिन्दु गुरुङले बताइन् । यहाँ आउने पर्यटकले ७० प्रतिशत स्थानीयस्तरमै उत्पादन हुने वस्तुहरु खान पाइने गुरुङको भनाइ छ । ‘हरेक दिन पाहुना आउनु हुन्छ’ उनले भनिन्, ‘उहाँहरुलाई खुवाउने, नचाउने र रमाइलोमै हामी व्यस्त हुन्छौं ।’ होमस्टे आउने पाहुँनालाई खुशी बनाएर मात्रै पठाउने गरेको उनले सुनाइन् । फेदीखोला गाउँपालिकामा मात्रै तीन वटा होमस्टे सञ्चालनमा छन् । तीन वटै होमस्टेमा दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
पोखराबाट नजिक पर्ने भएकाले पनि यहाँ रहेका होमस्टे सञ्चालनमा कुनै कठिनाई नभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पनि स्थानीय परिकार बनाउन सहज होस भनेर विभिन्न तालिमसहित सहयोग गर्दै आएको फेदीखोला गाउँपालिका–१ का वडाध्यक्ष अमृत क्षेत्रीले बताए । गोरखा स्मारक, मट्टीखान भ्यूटावर, गण्डकी प्रदेशको राजधानी पोखराको भ्याली र हिमश्रृंखला देख्न र अवलोकन गर्न पाइने यी होमस्टेका विशेषता रहेको अध्यक्ष क्षेत्रीले बताए ।
सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा खण्डको कुभिण्डेबाट ५ किमि पक्की र कच्ची सडक यात्राबाट अयरपानी होमस्टे पुग्न सकिन्छ । यस्ता गाउँलाई सरकारले पूर्वाधारका विकासमा ध्यान दिने हो भने आन्तरिक मात्रै नभएर बाह्य पर्यटकको पनि गन्तव्य हुन सक्ने अध्यक्ष क्षेत्रीले बताए । होमस्टे सञ्चालनमा आएपछि गाउँ नै परिवर्तन भएको छ । स्याङ्जामा सिरुवारी पछि फेदीखोलामा सञ्चालनमा रहेका होमस्टे बढी सक्रिय छन् । स्याङ्जामा झण्डै १ दर्जन भन्दा बढी होमस्टे सञ्चालनमा छन् ।