Logo

सात करोड खर्चेर रारा–घोड–मानेचौर सडक निर्माण

जुम्ला– तिला गाउँपालिका भैगोलिक रूपमा जिल्लाकै विकट पालिका हो । नौवटा वडा र ३४ वटा बस्तीमा छरिएको तिला गाउँपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भए पनि सवारी नगुड्दा ओझेलमा परेको छ । गाउँगाउँमा करोडौं खर्चिएर सडक निर्माण भए पनि गाडी पुग्न सकेका थिएनन् ।

तर वर्षाैंपछि तिला–१ रारासेरीस्थित तिला नदीमाथि १४ करोड लगानीको पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएसंँगै तिला गाउँपालिकाले ग्रामीण सडक निर्माण तथा पुराना सडकको स्तरोन्नति कार्यलाई अघि बढाएको छ । निर्माण सम्पन्न भएर मोटरसाइकल गुडिसकेका छन् भने चारपाँग्रे गाडी केही समयमै सञ्चालन हुनेछन् । पुल पूर्णरूपमा सञ्चालन हुनुअगावै गाउँगाउँमा पुग्ने सडक निर्माण र स्तरवृद्धि गर्न पालिकाले करोडाैं लगानीमा काम गरिरहेको छ ।

जसअन्तर्गत, तिला गाउँपालिकाको केन्द्र रारादेखि विकट मानेचौरसम्मको सडक निर्माण काम अघि बढाइएको छ । चालु आर्थिक वर्षमा विनियोजित संघ, प्रदेश र स्थानीय तहको गरी कुल सात करोड २६ लाख लगानीमा निर्माण हुने गरी रारा–घोडे–सुडि–रिपि हुँदै मानेचौर जोड्ने सडक निर्माणको काम भइरहेको तिला गाउँपालिकाका प्रवक्ता जंग रोकायाले बताए । पालिकाले भौगोलिक विकटतालाई मध्यनजर गरी सडक पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

तिला–७ का वडाध्यक्षसमेत रहेका रोकायाले भने, ‘हाल रारादेखि मानेचौर जोड्ने सडक निर्माणको काम भइरहेको छ । उक्त सडक पालिकाको रिङ रोड पनि हो । पालिका केन्द्र रारा बजारदेखि वडा नम्बर ६ घोडे, सुडी, रिपि भएर मानेचौर सडक निर्माणले समग्र पालिकालाई जोड्ने छ । विभिन्न शीर्षकको सात करोड बजेटले सडक निर्माण भइरहेको छ ।’ सडक निर्माणको लागत कुल सात करोडमध्ये कुल दुई करोड ६० लाख संघीय समपुरक अन्तर्गत पालिकाले विनियोजन गरेको छ ।

यस्तै प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत एक करोड ७० लाख बजेट विनियोजन भई पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का खोली काम अघि बढाएको छ । साथै संघीय सरकारकै दुई करोड बजेटमध्ये चालु आवमा सडक डिभिजन जुम्लाले एक करोडको ठेक्का खोली निर्माण प्रक्रिया अघि बढाएको छ भने सोही सडकअन्तर्गतकै विभिन्न खण्ड निर्माणका लागि स्थानीय पूर्वाधार कार्यालय सुर्खेतले एक करोडको ठेक्का भए पनि सम्झौता हुन बाँकी छ ।

तीनै तहका सरकारको विभिन्न शीर्षकअन्तर्गत सात करोड बढीको लगानीमा निर्माण हुने उक्त सडकले तिलाका विकट गाउँ घोडे, रिपि, सुडि, राँसामालापानी, जुम्लाकोटजस्ता दर्जनौ बस्तीलाई यातायातको पहुँचमा पुर्‍याउने लक्ष्य राखिएको वडाध्यक्ष रोकायाले उल्लेख गरे । तिलाको प्रमुख नगदे बाली स्याउ, सिमि र ओखर हो । स्थानीय हरि रोकाया भन्छन्, ‘वर्षाैंपहिला निर्माण भएका सडक जीर्ण थिए । गाडी गुड्न पुल थिएन । अब पुल पनि बनिसकेको छ । पालिकाले सडक सुधारको काम अघि बढाएको छ । यसले सहज यातायात पहुँच पुग्ने र उत्पादनले बजार पाउने आशा छ ।’

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले व्यवस्थालाई स्थायित्व बनाउने भनेकै पूर्वाधार भएको हुनाले भवन, सडकलगायतका पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिएको बताए । उनले भने, ‘तिलाका अधिकांश बस्तीमा सडक पुगिसकेका छन् । पुल नभएकै कारण गाउँमा गाडी पुगेका थिएनन् । तर ढिलै भए पनि सडक डिभिजनले पुल निर्माण गरेको छ । गाउँमा गाडी पुगेपछि उत्पादनले बजार पाउने र यात्रामा सहजता हुने अपेक्षा छ ।

तिलाका दुर्गम बस्तीलाई राजमार्गको पहुँचमा पुर्‍याउन तिला गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीले पुल निर्माणको पहल गरेका थिए । सडक डिभिजनले राजमार्ग क्षेत्रमा मात्रै सडक पुल बनाउँछ । निर्वतमान अध्यक्ष योगी भन्छन्, ‘सडक डिभिजनको क्षेत्र नभए पनि तत्कालीन डिभिजन प्रमुख लीलाबहादुर भण्डारीसँंग छलफल गरी कठिनाइका बीच पुल बनाउन सफल भएको हो । तिलाको समृद्धि परियोजनाका रूपमा पुल निर्माण सुरु गरेका थियांै । सपना साकार भयो । जनतासँगै म पनि खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्