Logo

हरियो सागमा ८२ प्रतिशतसम्म विषादी

काठमाडौं– आम उपभोक्ताको भान्सामा दैनिक भित्रिने सागमा नै अत्यधिक विषादी पाइएको छ । काठमाडौंको कालिमाटी तरकारी तथा फलपूmल बजारमा भएको विषादी प्रयोगशालाले गरेको नमुना परीक्षणमा रायो र चम्पा सागमा अत्यधिक विषादी भेटिएको हो ।

रायोमा ३९ देखि ८२ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको छ । बजारबाट लिएर सिधै खाने सागमा भेटिएको यो विषादी अत्यधिक हो । सरकारले तरकारीमा विषादीको अवशेषका बारेमा मापदण्ड निर्धारण गरेको छ । गत असोज १० मा प्रयोगशालाले परीक्षण गरेको चम्पा सागको नमुनामा ८२.१५ प्रतिशत विषादीको अवशेष फेला परेको छ । उक्त साग दोलखाबाट कालिमाटी बजारमा बिक्रीका लागि ल्याइएको विषादी प्रविधिक अस्मिता आचार्यले जानकारी दिइन् ।

उनका अनुसार असोज २ गते रायो सागको नमुनामा ७४.८२ प्रतिशत र भदौ २० गतेको नमुनामा ७९.०२ प्रतिशत विषादी अवशेष भेटिएको थियो । उनका अनुसार पछिल्लो समय धेरैजस्तो रायो सागमा विषादीको अवशेष भेटिने गरेको छ । ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ । यसैगरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखिए खान नहुने अर्थात् नष्ट गर्नुपर्ने मापदण्ड छ ।

कालिमाटी प्रयोगशालाले गरेको रायो सागको नमुना परीक्षणमा मापदण्डभन्दा दोब्बर विषादी देखिएको छ । प्रयोगशालाले परीक्षण गरेको रिपोर्टअनुसार अधिकांश भक्तपुर र काभ्रेबाट आएको सागमा विषादी भेटिएको छ । प्राविधिक आचार्यका अनुसार दैनिक १० देखि १२ वटा तरकारीको नमुनामा विषादी अवशेष परीक्षण हुन्छ । विभिन्न नमुनामध्ये रायोसागमा बढी खान नमिल्ने विषादी भेटिएको छ । यसैगरी काउली र हरियो खुर्सानीमा केही दिन राखेर खान मिल्ने विषादीको अवशेष भेटिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ सम्म कालिमाटी प्रयोगशालाले ९ सय ९३ वटा नमुना परीक्षण गर्दा रायो सागका ५ वटा नमुनामा खान नमिल्ने विषादी भेटिएको छ । यसैगरी केही दिन राखेर खान मिल्ने तीन वटा नमुना काउली, रायो साग र हरियो खुर्सानीका रहेका छन् । केन्द्रीय कृषि प्रयोगशालाको तथ्यांकअनुसार गत आर्थिक वर्षभर विभिन्न जिल्लामा गरी ६ हजार ७ सय ७८ वटा नमुना परीक्षण गर्दा २१ वटा खान नमिल्ने र १२ वटा केही दिन राखेर खान मिल्ने पाइएको थियो । बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बढेपछि सरकारले कालिमाटीमा भित्रिएको तरकारीका नमुनामा विषादी परीक्षण सुरु गरेको थियो । २०७१ असार ४ बाट यस्तो परीक्षण हुँदै आएको छ । देशभर १२ वटा स्थानमा विषादी परीक्षण हुने गरेको छ । काठमाडौंको कालिमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगञ्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषामा तरकारीको विषादी परीक्षण हुने गरेको छ ।

केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीका अनुसार चालु आथिक वर्षबाट थप ५ वटा नयाँ विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएका छन् । केन्द्रीय प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समूहका दुई वटा विषादी परीक्षण हुने गरेको छ । किसानलाई कृषि बालीमा १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति दिएको सरकारले १२ प्रकारका विषादीको मात्र परीक्षण गर्दै आएको छ ।

किसानले प्रयोग गर्दै आएका १ सय ५२ प्रकारका विषादीको परीक्षण नै भएको छैन । विषादी परीक्षणलाई व्यापक नबनाउँदा उपभोक्ताको भान्सामा विषादीयुक्त खाद्यवस्तु तथा तरकारी र फलफूल पुग्ने गरेको छ । अहिलेसम्म तरकारी बालीमा प्रयोग गरिने कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीमात्र परीक्षण हुँदै आएको छ । यी दुई समूहमा १२ वटा विषादी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्