आयो लेमिनार, मुलुक टायलमा आत्मनिर्भर उन्मुख
काठमाडौं– उपभोग्य वस्तुदेखि अन्य अधिकांश सामानमा परनिर्भर हुनुपरेको बेला टायल उत्पादनमा भने मुलुक आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेको छ । केही वर्षअघिसम्म मुलुकभित्र एउटै पनि टायल उद्योग खुलेको थिएन । आन्तरिक बजारमा खपत हुने सबै टायल छिमेकी मुलुक भारत र अन्य देशहरुबाट आयात गर्नुपर्ने अवस्था थियो । अहिले भने अवस्था फेरिएको छ ।
मुलुकभित्र टायल उत्पादन गर्ने उद्योगहरु क्रमशः खुल्दैछन् । त्यसले मुलुकलाई टायल उत्पादनमा आत्मनिर्भर बनाउन सुरु गरेको छ भने विदेशी मुद्रा बाहिर जानबाट रोकिएको छ । अहिले विदेशी लगानीसहित नेपालमा पाँच वटा टायल उद्योग खुलेका छन् । कजारिया, पशुपति र नेपोभिट टायलले यसअघि नै उत्पादन सुरु गरेका थिए । सोमानी उत्पादनको तयारीमा छ ।
पछिल्लो समय लेमिनार टायलको उत्पादन सुरु भएको छ, जुन शतप्रतिशत भिट्रिफाइड हो । यी सबै उद्योगमा करिब १३ अर्ब रुपैयाँ लगानी भएको छ । सबै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने हो भने टायल आयात गर्नुपर्ने अवस्था रहँदैन । देशभित्र टायल उद्योग खोल्ने यही सिलसिलाको पछिल्लो उदाहरण लुम्बिनी सेरामिक्स लिमिटेड बनेको छ । यही भदौ एक गतेदेखि उत्पादन सुरु गरेको यो उद्योग बर्दियाको गुलरिया नगरपालिका–८ मा छ । तीन अर्बभन्दा बढी लगानी गरिएको यो उद्योगले ‘लेमिनार’ ब्रान्डमा टायल उत्पादन सुरु गरेको हो ।
उद्योग साढे १२ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालमा वार्षिक रुपमा करिब १२ अर्ब रुपैयाँबराबरको टायल आयात भइरहेको छ । नेपालमा खुलेका सबै पाँच कम्पनीले क्षमताअनुसार टायल उत्पादन गरे मुलुक आत्मनिर्भर बन्न सक्छ । अहिले नेपालमा आउने टायलमध्ये सबैभन्दा बढी हिस्सा भारतीय कम्पनीहरुको छ । नेपाली उत्पादनले भारतीय कम्पनीसँग प्रतिस्पर्धा गर्न सके मुलुक टायलमा आन्तनिर्भर हुन असम्भव छैन ।
लुम्बिनी सेरामिक्सका अध्यक्ष सुर्वत धिताल पनि टायल उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याएको बताउँछन् । ‘अहिले मुलुकभित्र खुलेका सबै उद्योग क्षमताअनुसार सञ्चालनमा आउने हो भने आन्तरिक बजारको मागभन्दा बढी उत्पादन हुनेछ,’ उनले कारोबारसँग भने, ‘हाम्रो लक्ष्य टायल आयातमा मुलुकको विदेशी मुद्रा बाहिर नजाओस् भन्ने हो ।’
कम्पनीका निर्देशक अभिनव चुरिवाल भन्छन्, ‘उच्चस्तरीय प्रविधिबाट उत्पादित गुणस्तरीय टायल उपभोक्ताले प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले लेमिनार टायल बजारमा ल्याइएको हो ।’ उनका अनुसार मुलुकमै पहिलो पटक भिट्रिफाइड टायल उत्पादन गर्ने कम्पनी लुम्बिनी सेरामिक्स मात्र हो । भिट्रिफाइड टायल भनेको चम्किलो र पानी नसोस्ने विशेषता भएको टायल हो । यसलाई चम्किलो बनाउन थप टल्काउन पर्दैन ।
अर्कोतिर सेरामिक टायलको तुलनामा यो मजबुत हुन्छ । यो मुलुकमा सञ्चालनमा रहेका मध्येको सबैभन्दा ठूलो उद्योग भएको उनको भनाइ छ । उद्योगमा स्पेन, इटाली, चीन र भारतीय प्रविधि प्रयोग भइरहेको छ । ‘अहिलेलाई नेपाली उपभोक्तालाई आफ्नो उत्पादनप्रति विश्वास दिलाउन सके निर्यात गर्नुपर्ने आवश्यकता छैन,’ निर्देशक चुरिवालले भने, ‘अर्कोतिर नेपालमा उत्पादन भएपछि बजारमा टायलको मूल्य घट्नेछ र भारतलगायत देशबाट हुने आयत विस्तारै विस्थापन हुनेछ ।’
उनका अनुसार भारतबाट आउने टायलभन्दा यहाँ उत्पादन हुने उही गुणस्तरको टायल २० प्रतिशतसम्म सस्तो पर्नेछ । अहिले नेपालमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको टायल आइरहेको छ । उद्योग आफ्नो बजार हिस्सा कुल मागको २५ प्रतिशत पुर्याउने लक्ष्यका साथ अगाडि बढेको चुरिवालले जानकारी दिए । विश्व बजारमा भिट्रिफाइड टायल लोकप्रिय छ । नेपालमा भने यसका बारेमा धेरै कमलाई मात्र जानकारी छ । यही जानकारीका अभावमा केही कम्पनीहरुले उपभोक्तालाई छलिरहेका छन् ।
कम्पनीका महाप्रबन्धक निमिसकुमार भाटियाले बजारमा केही कम्पनीले उपभोक्तालाई गुणस्तरका विषयमा छलिरहेको जानकारी दिए । उनका अनुसार अधिकांश टायल कम्पनीले नभएको गुणस्तर देखाएर उपभोक्तामाथि खेलवाड गरिरहेका छन् । ‘यस्तो अवस्थामा हामीलाई अरुको र हाम्रो टायलमा के भिन्नता छ भनेर आम उपभोक्तालाई बुझाउने र सुसूचित गर्ने चुनौती छ,’ भाटियाले कारोबारसँग भने, ‘सेरामिक वा अन्य टायलभन्दा भिट्रिफाइड टायल गुणस्तरदेखि अरु विभिन्न विषयमा फरक छ । यही विषयलाई उपभोक्तामाझ बुझाउनु जरुरी छ ।’
निर्देशक चुरिवालका अनुसार उद्योगमा तीन सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । केहीको संख्यामा उच्च प्राविधिक कर्मचारी विदेशी छन् भने बाँकी सबै स्वदेशी कर्मचारी हुन् । यो उद्योगको उत्पादन क्षमता चौविस घण्टामा एक लाख ४० हजार वर्गफिट छ । उद्योग २४ सै घण्टा सञ्चालनमा छ । पहिलो वर्ष कम्पनीले ८० प्रतिशत क्षमतामा उद्योग चलाइरहेको छ । उद्योगले दैनिक ३५ हजार युनिट बिजुली खपत गरिरहेको छ । अहिले उद्योगले १६-१६, २-२ र २-४ फिट गरी तीन किसिमका टायल उत्पादन गर्दै आएको छ ।
आगामी दिनमा अरु दुई किसिमका टायल उत्पादन गर्ने योजनामा कम्पनी छ । टायल आवासीय तथा व्यावसायिक भवन दुवैमा प्रयोग गर्न सकिन्छ । नेपालमा खुलेका टायल उद्योगहरुले केही माटो स्वदेशकै प्रयोग गर्छन् भने केही भारतबाट ल्याउने गरेका छन् । यो कम्पनीले सबै माटो भारतको राजस्थानबाट ल्याउने गरेको बताएको छ । निर्देशक चुरिवालका अनुसार कम्पनीले अहिलेसम्म आफूलाई चाहिने गुणस्तरको माटो नेपालभित्र फेला पारेको छैन । त्यही कारण भारतबाट ल्याइरहेको छ । तर, अन्य आवश्यक खनिज पदार्थ भने डडेल्धुरामा फेला परेको छ । त्यहाँ चाँडै उत्खनन् सुरू गर्ने उनले जानकारी दिए ।
उद्योगको अर्को विशेषता वातावरणलाई असर नपारी टायल उत्पादन गर्नु हो । सरकारले निर्धारण गरेको मापदण्डभित्र रहेर कार्बन उत्सर्जन कायम गर्न कम्पनीले उद्योगमा विभिन्न किसिमका उपकरण राखेको छ । त्यो मात्र होइन, टायल उत्पादनको समयमा गुणस्तर कायम गर्न (टालयमा धुलो पर्न नदिन) दुई भवन बीचको दुरी फराकिलो बनाइएको छ । कम्पनी २०१९ मा स्थापना भए पनि छोटो समयमै लिमिटेडमा परिवर्तन भएको छ । यसैले कम्पनीले आगामी दिनमा साधारण सेयर जारी गर्ने योजना बनाएको छ ।