Logo

लगानीको वातावरण सिर्जना र आत्मनिर्भरता

नेपालमा लगानीको वातावरण सिर्जना गर्न सकिएन । सरकारले सामान्य काम पनि गर्न सकेन भनेर सर्वत्र चर्चा भइरहेको छ । यसका लागि राज्यले गर्नुपर्ने न्यूनतम कार्यसमेत गर्न सकेन भन्ने विषय पनि लगानीकर्ता तथा अन्य सम्बन्धित निकायमा हुने गरेका छन् ।

यसै समयमा फिच रेटिङ लिमिटेडले गरेको नेपालको सार्वभौम साख निर्धारण (सोभरिन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ प्राप्त गरेको छ । पछिल्लो समय केही सकारात्मक संकेत देखिएका पनि छन् । अर्थतन्त्रका सूचक सकारात्मक नभएकाले लगानीको वातावरण भएन भनेर निजी क्षेत्रका लगानीकर्ताले पनि चिन्ता व्यक्त गरिरहेका थिए । यता राज्यले पनि बेलाबेला सम्मेलन गरी स्वदेशी तथा विदेशी लगानीकर्ताको ध्यान नेपालमा तान्ने प्रयास गरेकै देखिन्छ ।

गत वर्षमात्र सरकारले सम्मेलनमार्फत लगानीको सुनिश्चितता गर्न सम्मेलन गरेको थियो । तर, त्यसले पनि उत्साह जगाउन नसकेको वास्तविकता रहेको छ । नेपाल सरकारले गत मंसिर ६ गते पत्रकार सम्मेलन गरी क्रेडिट रेटिङको नतिजा सार्वजनिक गरेको थियो । सो रेटिङले हाम्रो अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको छ । उक्त नतिजाले नेपालको साख क्षमता उच्च रहेको र वित्तीय तथा आर्थिक क्षमता सबल रहेको देखाएको छ । यसबाट आर्थिक क्षेत्रमा थप उत्साहको लहर आउने अपेक्षा गर्न सकिन्छ । यसले लगानीको वातावरणमा थप आशाको सञ्चार गरेको छ ।

नेपालले विभिन्न देशबाट ऋण लिनुपर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ । नेपाल सरकारले तत्कालीन समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लिएको अनुदान वा ऋण स्पष्ट पार्न नसकिरहेको अवस्थामा यस रेटिङले थप प्रस्ट बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ । नेपालको साख क्षमता वृद्धि भएको सकारात्मक सूचकले अवश्य पनि हाम्रो देशमा लगानीको वतावरण थप सहज बन्नेछ ।

सार्वभौम क्रेडिट रेटिङको नतिजाले हाम्रा निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । त्यति मात्र नभएर वैदेशिक लगानी थप आकर्षित गर्न सहयोग पुग्नेछ । यसले मूलतः अर्थतन्त्रका चार क्षेत्रलाई आधार बनाएर परिसूचकको विस्तृत लेखाजोखा गरिएको हुन्छ । पहिलो रहेको छ, अर्थतन्त्रको संरचनात्मक पक्ष, दोस्रो समष्टिगत आर्थिक उपलब्धि, तेस्रो सार्वजनिक आर्थिक परिसूचक र चोथो बाह्य क्षेत्रको आर्थिक परिसूचक । विस्तृत रूपमा लेखाजोखा गरी सूचक तयार गरिन्छ ।

सार्वभौम रेटिङ गर्दा माथि उल्लेख गरिएका सार्वभौम पक्षलाई रेटिङ मोडेल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्यांकन गरेर प्राप्त स्कोरलाई न्यूनतम डीदेखि एएएसम्म रेटिङ प्रदान गरिन्छ । रेटिङका आधार नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था र बाह्य क्षेत्रका आर्थिक परिसूचक रहेका छन् । यसै गरी १६ औँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्यांकको विश्लेषण गरेर साख निकालिएको थियो ।

रेटिङ निकाल्दा विभिन्न चरण पार गर्नुपर्ने हुन्छ, जसमा गुणात्मक मूल्यांकनको चरण एक हो । यसअन्तर्गत नेपालको विभिन्न समयमा भएको स्थलगत भ्रमण, जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारीसँग अध्ययन टोलीले परामर्श र छलफल गरेको थियो । यसैगरी निजी क्षेत्र र नेपालस्थित दुईपक्षीय तथा बहुपक्षीय विकास साझेदार, नेपालले लगानी गर्नका लागि तयार गरिएको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयनको मूल्यांकन गर्न नमुनाको रूपमा नेपालको ज्यादै महत्वको सुरुङमार्ग, जुन काठमाडौंदेखि धादिङको झ्याप्लेखोलानजिक रहेको छ, त्यसको अवलोकन समेत गरिएको थियो ।

यस रेटिङले नेपालको अर्थतन्त्रको संरचना मजबुत बन्ने अपेक्षा गरिएको छ । त्यतिमात्र नभई सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री रहेको देखाएको छ । जसका कारण नेपालमा लगानी गरिरहेकालाई थप उत्साहित गराएको छ । यस रेटिङले नेपालमा लगानी गर्न के होला, कस्तो वातावरणमा सुरक्षित रहला भन्ने अवस्थामा रहेका लगानीकर्तालाई अब ढुक्क भएर लगानी गर्ने वातावरणको सिर्जना गरेको छ ।

नेपालले पनि विगत लामो समयदेखि नै प्रयास भने गर्दै आइरहेको छ । यसका लागि गरिएको प्रयासका उदाहरण छन् । पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो भने दोसो २०१९ मा भएको थियो । यी लगानी सम्मेलनमा ४० देश र ३ सयभन्दा धेरै कम्पनीको सहभागिता रहेको थिथो । सो सम्मेलनमा ७ सय ३५ विदेशी पाहुना अनि ६ सयभन्दा बढी स्वदेशी लगानीकर्ताको सहभागिता थियो भने १ सय नेपाली कम्पनी सहभागी रहेका थिए । पछिल्लो वा तेस्रो लगानी सम्मेलन भने सन् २०२४ अप्रिल २९ मा काठमाडौँमा भएको थियो । यसरी लगानी सम्मेलन गरी विभिन्न तरिका अपनाए पनि अपेक्षित लगानी नआएको वास्तविकता छँदै छ ।

हाम्रो अर्थतन्त्रका बाह्य परिसूचक सकारात्मक रहेको अवस्थामा यस रेटिङले आम लगानीकर्तामा उत्साहको सञ्चार गराउनेछ भन्ने विश्वास सर्वत्र गरिएको छ । रेटिङसँग प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा हाम्रो व्यापार पनि जोडिएको हुन्छ । कसरी लगानी उत्पादनका क्षेत्रमा गरियो भने त्यसबाट उत्पादन वृद्धि भएर लाभ लिन सकिन्छ । दृष्टान्तका लागि जलविद्युत उत्पादन गरी भारतलगायतका देशमा निर्यात गरेर प्रशस्त मात्रामा आम्दानी गर्न सकिन्छ । पछिल्लो समय भारतमा मात्र नभएर भुटानमा पनि विद्युतको निर्यात भएकाले यसले थप सहज वातावरण सिर्जना गरेको छ । वर्तमान सरकारको महत्वपूर्ण कार्यमा यो पनि अग्रस्थानमा रहेको छ । हाम्रो व्यापारघाटा बढ्दै गइरहेको सन्दर्भमा लगानीको वातावरण सकारात्मक बन्दा स्वतः लगानी बढ्नेमा विमति रहँदैन ।

भारत हाम्रो मुख्य आयात हुने देश हो । यहाँबाट खाद्यान्न, तेलहन, फलफूल, लत्ताकपडालगायतका सयौँ उपभोग्य वस्तु तथा सामान आयात हुन्छ । यसरी आयात हुने सामान तथा उपभोग्य वस्तुका लागि नेपालले अर्बौं रकमको भार बेहोर्नुपरिरहेको अवस्थामा छ । यसलाई कम गर्न पनि लगानीमैत्री वातावरणले ज्यादै सकारात्मक भूमिका खेल्नेछ । हामी कृषिप्रधान देशका नागरिक तर खेतीपाती भने नगर्ने, उर्वर जमिन पनि बन्जर राख्ने गरिरहेका छौँ । यसपछाडिका कारण भने विविध छन् । पहिलो कारण हो, बजारको अभाव । किसानले बल्ल–बल्ल उत्पादन गर्छ अनेकौँ समस्याको सामना गरी, तर उसको उत्पादनले बजार नै नपाउने परिस्थिति बनेको देखिन्छ । कृषिलाई राज्यले प्राथमिकतामा राखेर प्रभावकारी काम गर्न नसक्नु नै प्रमुख कारण हो । अर्को कारण हो, युवा जनशक्तिको अभाव । कृषिक्षेत्रमा काम गर्ने श्रमिकको अभावका कारण पनि अचेल समस्या सिर्जना भइरहेको देखिन्छ । श्रमबजारमा कामदारको अभाव रहनुले पनि प्रस्ट हुन्छ, यसप्रति विकर्षणको अवस्था ।

आज श्रमशक्तिको लाम विमानस्थलमा देख्न सकिन्छ । शिक्षित मात्र होइन, साक्षरदेखि विज्ञ पनि बिदेसिने गरेका छन् । राज्यले स्वदेशमै रहेर केही काम गरी जीविकोपार्जन गर्न सक्छु भन्ने अवस्थाको निर्माण पनि गर्न सकेको छैन । बाध्य भएर अरब र युरोपका देशमा पसिना बगाउन जानुपरेको छ । शिक्षाका लागि पनि राज्यको अर्बौं रकम मासिक रूपमा बाहिरिने गरेको तथ्यांक छ । हरेक ग्रामीण क्षेत्र आज युवाविहीनजस्तो बनेको छ । त्यही कारणले खेतीपातीमा लागेर भविष्य सुनिश्चित नहुने देखेर नै हरतरहले बिदेसिने गरेका छन् । हामी घरखेत नै बन्धकी राखेर विदेश गएर हन्डर, गोता खाई स्वदेशमा रकम पठाई रमेका छौँ । यता लाखौं श्रमिक भारतबाट आई हामीले सामान्य भनेका कामबाट ठूलो रकम भारतमा लगिरहेका छन् । हामीमा कामको सम्मान गर्ने संस्कृतिको विकास भएको छैन । यसकारण पनि रोजगारी र आम्दानीमा अपेक्षित विकास हुन सकेको छैन । यसैकारण छिमेकका श्रमिकबाट करोडौं रकम बिदेसिने गरेको देखिन्छ । हाम्रो ध्यान तेस्रो मुलुकबाट आएको विप्रेषणमा मात्र रहेको देखिन्छ ।

हामी स्वरोजगारी सिर्जनामा पनि गम्भीर भएका छैनौँ । सीप सिकेर आफैं काम गरी रोजगारीसमेत अन्यलाई दिन सकिन्छ । तर, त्यसप्रति हामी चासो राख्दैनौँ । यसो गर्दा हाम्रो संस्कृति नै परनिर्भरता हो जस्तो भएको छ । दिन–प्रतिदिन परनिर्भरतामा रम्न थालेका छौँ । हरेक उपभोग्य वस्तु तथा सामान अन्य देशबाट आयात गरिरहेका छौँ । यसले दोहोरो घाटाको अवस्थासमेत सिर्जना भएको छ । आफ्नो उत्पादन क्षमता घट्दो र बाहिरबाट अर्बौं रकम तिरेर आयात गर्न बाध्य हुनु भनेको हरेक हिसाबले सकारात्मक होइन । यस अवस्थाबाट आत्मनिर्भरताको मार्गमा जाने हो भने उत्पादन, त्यो पनि कृषिको विकासमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्