स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, करिब ६२ प्रतिशत मतदान
काठमाडौं- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उनले जानकारी दिइन् । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आइतबार मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।