पादुकाको कथा ‘माग्युद् खोना’लाई प्रथम पुरस्कार
काठमाडौं- बाह्रखरी मिडियाले संचालन गरेको १२खरी कथा प्रतियोगिताको प्रथम पुरस्कार विष्णु पादुकाले प्राप्त गरेका छन् । पादुकाको कथा माग्युद् खोनाले उक्त पुरस्कार पाएको हो । आइतबार आयोजित प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता-२०८१’ कार्यक्रममा कथाका विजेताहरुको नतिजा सार्वजनिक गरिएको थियो ।
यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ ले द्वितीय पुरस्कार प्राप्त गरेको छ भने कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ । यस्तै २५ जना कथाकारहरुलाई पनि पुरस्कृत गरिएको थियो । बाह्रखरी मिडियाका अनुसार प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट ९३७ कथा प्राप्त भएका थिए । यसमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तक प्रकाशित गरिएको छ । उक्त पुस्तकको लोकार्पण पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा डा ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य थिए ।
साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरी मिडियाले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनलाई महत्त्व दिँदै आएको छ । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ ।