Logo

चार अर्ब ८१ करोड लागतमा पोखरा खानेपानी सुधार आयोजना

– साढे तीन लाख पोखरेली जनता लाभान्वित हुने
– अझै डेढ लाख पोखरेलीलाई पानी अभाव हुने
– माग पूरा नभएको स्थानीयको गुनासो

पोखरा– काठमाडौंंको मेलम्चीबाहेकको नेपालको ठूलो खानेपानी योजना पोखरामा सम्पन्न भएको छ । जापानी सहयोग नियोग (जाइका) को अनुदानमा सात वर्षमा पोखरा खानेपानी सुधार आयोजना पूरा भएको हो । चार अर्ब ८१ करोड ३० लाख रूपैयाँ लागतमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसँंगै पोखराका तीन लाख ५० हजार जनता त्यसबाट लाभान्वित हुने भएका छन् ।

पोखरामा करिब पाँच लाख जनसंख्या रहेकोमा हालसम्म १९ वटा वडामा उक्त पानीको पहुँच पुगे पनि बाँकी करिब एक लाख ५० हजार जनताका लागि शुद्ध पिउने पानीको व्यवस्था गर्न बाँकी छ । उक्त परियोजनाबाट दैनिक चार करोड १० लाख लिटर शुद्ध पानी पोखरामा उपलब्ध हुने नेपाल खानेपानी संस्थाका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले बताए । उक्त परियोजनाबाट पोखराका करिब ७३ प्रतिशत जनता लाभान्वित हुने उनले जनाए ।

पोखरामा यसअघि चार करोड ६० लाख लिटर पानी दैनिक आउने गरेको थियो । अब पोखरेलीले सिधै धाराबाट शुद्ध पिउने पानी प्राप्त गर्नसक्ने उनले जनाए । उक्त परियोजना १५ फेब्रुअरी २०१७ मा सुरु भई ३१ अगष्ट २०२४ सम्म सञ्चालन हुने गरी सम्झौता भएको थियो । जापानको हाजमा एन्दो कर्पोरेसन कम्पनीले उक्त परियोजना निर्माण गरेको हो । उक्त परियोजनामा १११ किलोमिटर पाइपलाइन पोखरा क्षेत्रमा विस्तार गरिएको छ ।

पानी शुद्धीकरणका लागि पानीको मुख्य स्रोत मर्दी मुहाननजिकै बालुवा हटाउन चार करोड २५ लाख लिटर क्षमताका चारवटा टयांकी, पानी थिग्रयाउनका लागि मर्दी मुहाननजिकै चार करोड २५ लाख लिटर क्षमताका चारवटा टयांकी, पोखरा १९ पुरञ्चौरमा चार करोड २५ लाख लिटर क्षमताका पानी छान्ने फिल्टर ६ वटा, पुरञ्चौरमै ९३० घनमिटर क्षमताका सफा पानी संकलन गर्ने दुईवटा टयांकी र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको संस्थानले जनाएको छ ।

पोखराको मुख्य बजारदेखि करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याइएको नेपाल खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख ई. आशिस कार्कीले बताए । उनका अनुसार पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभानलगायतका गाउँ पर्छन् ।

नेपाल खानेपानी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा पोखरा–१९ को पुरञ्चौर (पानी प्रशोधन केन्द्र) मा शुक्रबार आयोजना भएको परियोजना सम्पन्न तथा हस्तान्तरण कार्यक्रममा तीनै तहका सरकारका प्रतिनिधि, स्थानीयसहित विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसैबीच, शनिबार एक समारोहका बीच जापान सरकारबाट नेपाल सरकारलाई उक्त परियोजना हस्तान्तरणसमेत गरेको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदिप यादवलाई उक्त परियोजना जाईका नेपाल प्रतिनिधि तानाको तोमोले हस्तान्तरण गरेकी हुन् ।

अपुग पानीका लागि सरकारले सहयोग गर्छ: मन्त्री यादव
नेपाल सरकारका खानेपानीमन्त्री प्रदिप यादवले पोखरामा अपुग भएको पानी उपलब्ध गराउन सरकारले सहयोग गर्ने बताए । पोखरामा दैनिक चार करोड लिटर शुद्ध पिउने पानीको परियोजनामा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद दिँदै मन्त्री यादवले उक्त परियोजनालाई दिगो रूपमा सञ्चालन गर्न मन्त्रालयसहित स्थानीय सरकारलाई निर्देशन दिए । पोखराको कोलपाटनमा रहेको पानी टयांकी विवाद छिट्टै हल हुने उनले दाबी गरे ।

पोखरेलीहरू अब शुद्ध पिउने पानीबाट वञ्चित हुन नपर्ने मन्त्री यादवको दाबी थियो । पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानअन्तर्गत पोखरा खानेपानी सुधार आयोजना निर्माण सम्पन्न भएका संरचनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले अब नेपालका खानेपानीका अधुरा र अपुरा योजना अघि बढाउने उद्घोष गरे ।

नेपालका अधुरा र अपुरा खानेपानीका योजनालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफूहरूले कुराकानी गर्दै आएकाले मानव जीवनका लागि अतिआवश्यक पर्ने पानी सरकारले उपलब्ध गराउने गरी योजनाबद्ध ढंगबाट अघि बढेको मन्त्री यादवले उल्लेख गरे । प्रतिनिधिसभाका सदस्य दामोदर पौडेल बैरागीले जलविद्युतका कारण पानीका मुहान सुक्ने अवस्था भएकाले पानी वितरणमा विशेष ध्यान दिन आग्रह गरे ।

गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले पानीका मुहानमा अझै पनि घाट अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनप्रसाद गुरुङले उक्त परियोजना सम्पन्न हुँदै गर्दा स्थानीयको माग पूरा नगरेकोमा गुनासो गर्दै अर्बाैंको परियोजना गर्दा स्थानीयलाई राम्रोसंँग नसमेटेको दाबी गरे । उक्त कार्यक्रममा स्थानीयको न्यून सहभागिता भएको उल्लेख गर्दै उनले उक्त परियोजनाबाट पोखरामा पानी लैजाँदा पोखरा महानगरले समेत माछापुच्छ्रेका स्थानीयको माग पूरा गर्न आग्रह गरे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जापान सरकार र माछापुच्छ्रे गाउँपालिकाका स्थानीयको ठूलो सहयोगमा पोखरामा शुद्ध पिउने पानी परियोजना सफल भएकोमा धन्यवाद दिँदै उक्त परियोजनाको क्रममा अझै पोखराका केही सडकमा खानेपानीका पाइपका लागि खनिएका केही ठाउँमा पिच हुन बाँकी रहेको जनाए । पोखरामा बाँकी करिब डेढ लाख जनताका लागि पोखराका तीन ठाँउमा बोरिङ निर्माण गर्ने उनले जनाए ।

जाइका नेपाल प्रतिनिधि तानाको तोमोले दुई देशबीच यस्ता परियोजनाले थप प्रगाढ बनाउने बताउँदै आगामी दिनमा पुन: यस्ता सहयोग गर्ने बताइन् । उक्त परियोजनाबाट दैनिक चार करोड १० लाख लिटर शुद्ध पानी पोखरामा उपलब्ध हुने नेपाल खानेपानी संस्थाका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले बताए ।

उक्त परियोजनाबाट पोखराका करिब ७३ प्रतिशत जनता अर्थात् तीन लाख ५० हजारजना लाभान्वित हुने भएको मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य कर्माचार्यले बताइन् । नेपाल खानेपानी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा पोखरा–१९ को पुरञ्चौर (पानी प्रशोधन केन्द्र) मा आयोजना भएको समारोहमा पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले स्थानीयको माग सम्बोधन नगरी उक्त परियोजना उद्घाटन भएकाले दिगो हुने कुरामा शंका गरे ।

नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थयो । उक्त अवसरमा राष्ट्रपतिका सल्लाहकार एवं संस्थानका पूर्वअध्यक्ष डा. प्रमेश्वर पोखरेल, स्थानीय तहका सरकार प्रमुख, सम्बन्धित वडाध्यक्ष लगायतलाई उक्त परियोजना सफल पार्न सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्