Logo

सिमेन्टमा कार्टेलिङ, १२० रुपैयाँसम्म बढ्यो मूल्य

भैरहवा– उत्पादन तथा बिक्रीमा एकरुपता कायम गर्ने भन्दै नेपालका ठूला सिमेन्ट उद्योगहरुले कार्टेलिङ सुरु गरेका छन् । सरकारले खुला प्रतिष्पर्धाबाहेक अन्य कुनै सिन्डिकेट, कार्टेलिङ निषेध गरे पनि उद्योगहरुले उत्पादन र बिक्रीमा कार्टेलिङ गरेका हुन् ।

विशेषगरी क्लिंकर उत्पादन गर्दै आएका होङ्सी, अर्घाखाँची, सर्वोत्तम, पाल्पा, सिजी, शिवम्लगायत उद्योगले कार्टेलिङ गरेका हुन् । कार्टेलिङ गर्ने १८ वटा ठूला सिमेन्ट उद्योगले उत्पादनको दैनिक कोटासमेत निर्धारण गरेका छन् । एकै दिन पिपिसी र ओपिसी सिमेन्ट उत्पादन गर्न नपाइने, एक दिन बिराएर उत्पादन गर्नुपर्ने, कोटाअनुसार सिमेन्ट उत्पादन गरी बजारमा पठाउने सहमति उनीहरुले गरेका छन् । क्लिंकर उत्पादन गर्ने ठूला उद्योगहरुले अन्य साना उद्योगलाई क्लिंकरसमेत कम दिन थालेका छन् । अहिले ठूला सिमेन्ट उद्योगका कारण सबैभन्दा मर्कामा साना उद्योग परेका छन् ।

ठूला सिमेन्ट उद्योगको कार्टेलिङपछि सिमेन्टको मूल्य ह्वात्तै बढेको छ । सिमेन्टको मूल्य अहिले प्रतिबोरा १२० रुपैयाँले बढिसकेको छ । ब्रिज सिमेन्ट इण्डस्ट्रिज भैरहवाका महाप्रबन्धक रविरञ्जन गुप्ताले सिमेन्ट उद्योगहरुको कार्टेलिङका बारेमा आफूलाई थाहा नभएको तर अहिले क्लिंकर भनेजति पाउन नसकिएको र पाए पनि विगतको तुलनामा अस्वाभाविक मूल्यवृद्धि भएको बताए । ‘हामी क्लिंकर पाए जति पनि सिमेन्ट उत्पादन गरी बजारमा पठाउँछौं, हामीलाई कार्टेलिङको बारेमा थाहा छैन,’ उनले भने, ‘ठूला सिमेन्ट उद्योग जसले क्लिंकरसमेत उत्पादन गर्छन्, उनीहरुले हामीले माग गरेअनुसार क्लिंकर दिएका छैनन् । भारतबाट ल्याउन यहाँभन्दा महँगो पर्छ । क्लिंकर नहुँदा भनेजति उत्पादन हुन सकेको छैन ।’ सिमेन्टको मूल्यवृद्धि भने स्वाभाविक रहेको उनले बताए । ‘हामीले तिहारसम्म प्रतिबोरा ७० रुपैयाँसम्म नोक्सानी व्यहोरेर सिमेन्ट बिक्री गर्र्दै आएका थियौं । अहिले क्लिंकरको मूल्यवृद्धि भएको छ । सञ्चालन खर्च पनि बढी छ, त्यसैले पनि सिमेन्टको मूल्य बढेको हो,’ महाप्रबन्धक गुप्ताले भने ।

सुप्रिम सिमेन्ट उद्योगका महाप्रबन्धक सरोज पौडेलले ठूला उद्योगले कोटा सिस्टम गरेको हुन सक्ने बताउँदै क्लिंकरको अभाव सिर्जना भएको बताए । ‘अहिले बजारमा अस्वस्थ प्रतिष्पर्धा छ । यसलाई रोक्न पनि मूल्यमा एकरुपता भएको हो । यसलाई कार्टेलिङ भन्न मिल्दैन । उत्पादन र बिक्रीमा कोटा प्रणालीबारे हामीलाई केही जानकारी छैन । अहिले क्लिंकर अभाव भने छ,’ पौडेलले भने । सिमेन्टको मूल्यवृद्धि स्वाभाविक भएको उनको तर्क छ । ‘नोक्सानमा कहिलेसम्म उद्योग चलाउने भन्ने थियो । सञ्चालन खर्च बढेको बढ्यै थियो, उत्पादन लागत बढेको थियो । सिमेन्टको मूल्यवृद्धि नभई एक किसिमले समायोजन हो,’ पौडेलले भने ।

अम्बुजा सिमेन्ट उद्योगका सञ्चालक ऋषि अग्रवालले कोटा प्रणालीको हल्ला आफूले पनि सुनेको बताए । ‘ठूला उद्योगले केकसो गर्छन् हामी ध्यान राख्दैनौं । तर, अहिले पर्याप्त माल (क्लिंकर) भने पाइएको छैन । मूल्य पनि अस्वाभाविक बढाएका छन् । माल पठाए पनि पहिलाभन्दा निकै कम पठाउने गरेका छन्,’ उनले भने ।

प्रतीक्षा सप्लायर्सका सञ्चालक प्रियबन्धु न्यौपानेले पछिल्लो तीन हप्तामा प्रतिबोरा सिमेन्ट १ सय रुपैयाँसम्म बढेको र सिमेन्ट पनि भनेजति नपाएको बताए । अहिले बजारमा पिपिसी सिमेन्टको मूल्य (उद्योग) ४४० रुपैयाँ प्रतिबोरा र ओपिसी ५३० देखि ५४० रुपैयाँ हाराहारीमा छ । सिमेन्टको गुणस्तर हेरेर मूल्य १०–२० रुपैयाँ तलमाथि पर्छ । ठूला उद्योगले सानालाई पर्याप्त क्लिंकर नदिएपछि क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योगमा आश्रित साना उद्योगको सिमेन्ट उत्पादन घटेको छ । साना उद्योगले बजारमा सिमेन्ट पठाउन नसक्दा ठूलाको एकाधिकार देखिएको छ ।

विभिन्न संघसस्थाले कार्टेलिङ र मूल्यवृद्धिको विरोध गरेका छन् । लुम्बिनी निर्माण व्यवसायी संघले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ । अहिलेको असहज परिस्थितिमा मूल्यवृद्धिका कारण आम उपभोक्तालाई प्रत्यक्ष असर गर्नेमात्र नभई विकास–निर्माणका काममा समेत प्रभाव पार्ने भएकाले फिर्ता लिन संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्