कहाँ गए ८२ मिलियन चिनियाँ पर्यटक ?
विश्वको समग्र पर्यटन उद्योगसम्बन्धी समाचार प्रकाशित गर्दै आएको संस्था ‘स्किफ्ट’ ले सन् २०२४ मा १ सय २८ मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्वका विभिन्न देशमा घुम्न निक्लने अनुमान गरेको थियो ।
सन् २०२३ मा ८२ मिलियन चिनियाँ पर्यटक विश्वका विभिन्न देशमा घुम्न निक्लेका थिए भने सन् २०२१ मा केवल ३२ मिलियन चिनियाँ पर्यटक विश्वका विभिन्न देश घुम्न निक्लेका थिए । उता सन् २०२० मा त २७.५ मिलियन चिनियाँ पर्यटक मात्र विश्वका विभिन्न देश घुम्न निक्लेका थिए । त्यसको एक मात्र कारण भनेको सन् २०१९ को अन्त्यतिर चीनबाट पैmलिएको कोरोना महामारीको असर नै हो । हुन पनि सन् २०१९ मा १४५.३ मिलियन चिनियाँ पर्यटक मात्र विश्वका विभिन्न देश घुम्न निक्लेका थिए ।
पछिल्लो तथ्यांकअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा केकति संख्यामा चिनियाँ नागरिक पर्यटक भई घुम्न निक्ले त ? संख्यात्मक ढंगले बढेको अथवा भनौं उस्तै रहेको ३० देशको सूची यस प्रकार छः १. कोरिया ६५२ प्रतिशतले बढेर पहिलो नम्बरमा (सन् २०२३ मा तेस्रो), २. जापान ९९० प्रतिशतले बढेर दोस्रो (२०२३ मा छैटौं), ३. अमेरिका २११ प्रतिशतले घटेर तेस्रो (२०२३ मा पहिलो), ४. थाइल्यान्ड ३३९ प्रतिशतले घटेर चौथो (२०२३ मा दोस्रो), ५. हङकङ ४१४ प्रतिशतले घटेर पाँचौं (२०२३ मा चौथो), ६. ताइवान ३२६ प्रतिशतले घटेर छैटौं (२०२३ मा पाँचौं), ७. अस्ट्रेलिया १००८ प्रतिशतले बढेर सातौं (२०२३ मा चौधौं), ८. सिंगापुर ४६६ प्रतिशतले बढेर आठौं (२०२३ मा नवौं), ९. मलेसिया ६५१ प्रतिशतले बढेर नवौं (२०२३ मा १८ औं), १०. इटली २३२ प्रतिशतले घटेर १० औं (२०२३ मा सातौं), ११. भियतनाम ११ औं (२०२३ मा पनि ११ औं),
१२. इन्डोनेसिया ५९६ प्रतिशतले बढेर १२ औं (२०२३ मा १९ औं), १३. क्यानाडा २४८ प्रतिशतले घटेर १३ औं (२०२३ मा आठौं), १४. फिलिपिन्स ३८१ प्र्रतिशतले घटेर १४ औं (२०२३ मा १२ औं), १५. मकाउ २३०४ प्रतिशतले बढेर १५ औं (२०२३ मा ४४ औं), १६. बेलायत ५२५ प्रतिशतले बढेर १६ औं (२०२३ मा २२ औं), १७. स्पेन २३९ प्रतिशतले घटेर १७ औं (२०२३ मा १० औं), १८. लाओस ४३१ प्रतिशतले बढेर १८ औं (२०२३ मा २१ औं), १९. रुस ७५८ प्रतिशतले बढेर १९ औं (२०२३ मा २६ औं), २०. जर्मनी ३२९ प्रतिशतले घटेर २० औं (२०२३ मा १७ औं), २१. संयुक्त अरब इमिरेट्स २७२ प्रतिशतले घटेर २१ औं (२०२३ मा १५ औं), २२. न्युजिल्यान्ड ४४२ प्रतिशतले बढेर २२ औं (२०२३ मा २४ औं), २३. फ्रान्स ३०९ प्रतिशतले घटेर २३ औं (२०२३ मा २० औं), २४. कम्बोडिया २०८ प्रतिशतले घटेर २४ औं (२०२३ मा १३ औं), २५. भारत ५२० प्रतिशतले बढेर २५ औं (सन् २०२३ मा २७ औं), २६. इजिप्ट ३५४ प्रतिशतले घटेर २६ औंमा (२०२३ मा २५ औं), २७. दक्षिण अफ्रिका १३९ प्रतिशतले घटेर २७ औं (२०२३ मा १६ औं), २८. टर्की २८ औं (२०२३ मा पनि २८ औं), २९. कजाखस्तान ५९८ प्रतिशतले बढेर २९ औं (२०२३ मा ४० औं) र ३०. बंगलादेश ६०३ प्रतिशतले बढेर ३० औं (२०२३ मा ४६ औं) स्थानमा रहेका छन् ।
यस्तै गरेर लगभग एक वर्षअघि फोकस अन ट्राभल न्युज (एफटिएन न्युज डटकम) ले एक फिचर न्युज प्रकाशित गरेको थियो । सो फिचर न्युजमा जनाइएअनुसार सन् २०३० सम्ममा २ सय २८ मिलियन चिनियाँ नागरिक विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लनेछन् । यत्रो ठूलो संख्यामा पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने चिनियाँ नागरिक कहाँ जाँदा हुन् ? हामीलाई पनि चासो हुनुपर्ने देखिन्छ । किनभने ती २ सय २८ मिलियन चिनियाँ नागरिक विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लनेछन्, तीमध्ये वार्षिक रूपमा सुरुको पहिलो वर्ष (सन् २०२४) मा १ लाख ४०-५० हजार, सन् २०२५ मा २ लाख ८०÷९० हजार, सन् २०२६ मा चार लाख ८०-९० हजार, क्रमशः बढाउँदै लगेर सन् २०३० सम्ममा १ मिलियन चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सके हामीलाई आर्थिक रूपमा धेरै फाइदा हुने र हामीले चिनियाँ पर्यटकबाट अनपेक्षित ढंगले फाइदा लिन सक्छौं ।
त्यसैले अब चिनियाँ पर्यटकलाई कसरी हुन्छ, नेपालतर्फ आकर्षित गराउनका लागि हामी सबै लागिपर्नुपर्ने देखिन्छ । हुन पनि हामीले वार्षिक १ मिलियन अर्थात् १० लाख चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सके कस्तो हुँदो हो ? एफटिएन न्युज डटकमले लेखेको अर्को समाचारमा जनाइएअनुसार सन् २०१४ देखि मात्रै १ करोड चिनियाँ नागरिक विश्वमा पर्यटक भई घुम्न निक्लेका थिए । उता सन् २०२३ को जनवरीमा ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको समाचारमा जनाइएअनुसार चीन सरकारले सो वर्षको जनवरीदेखि मात्रै विश्वका २० देशमा चिनियाँ नागरिकलाई पर्यटकको रूपमा भ्रमण गर्न अनुमति दिएको थियो । त्यसअघि कोभिड–१९ का कारण चीन सरकारले आफ्नो देशका नागरिकलाई पर्यटक भई विदेश घुम्न निषेध गरेको थियो । दुःखको कुरो के भने चीनले चिनियाँ नागरिकलाई पर्यटक भई घुम्न जाने अनुमति दिएका २० देशको सूचीमा सुरुमा नेपाल परेको थिएन ।
चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको २० देशको सूचीमा सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, न्युजिल्यान्ड, स्वीजरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडियालगायत युरोपियन देशहरू रहेका छन् । चिनियाँ पर्यटकको हालको प्रथम रोजाइका देशहरूमा चाहिँ जापान, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड आदि छन् । खासमा चिनियाँ पर्यटकको फेमस डेस्टनेसनमा पर्ने देशहरू पनि फ्रान्स, इटली, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्वे, मोनाको, सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, मंगोलिया, न्युजिल्यान्ड, स्वीजरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, टर्की, इरानलगायत हुन् ।
धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउनका लागि चोङकिङ, सांघाई, बेइजिङ, छेङ्दु, ग्वाङ्झाओ, सेनजेन, तियानजिन, बुहान, सुझोउ, लिनयी, हार्बिन, सिझियाझुवाङ, ह्वाङ्झाओ, झेङ्झोउ, सियान, नानयाङ, गाङझोङ, हान्दाङ, क्विङदाओ, बाओदिङ, वेइफाङ, वेनझोउ, जिनान, सुझोउ, हेजे आदि चीनका ठूला सहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । चीनको ठूला २५ सहरमा ३२.०५ मिलियनदेखि ८.७८ मिलियन चिनियाँ नागरिकको बसोबास छ । ती सहरबाट ०.१ प्रतिशत मात्रै चिनियाँ नागरिक नेपाल भ्रमण गर्न आए भने पनि उनीहरूको संख्या कति पुग्ला ? त्यसका लागि हामीले चिनियाँ एयरलाइन्स, साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयरलाइन्स, साङ्घाई एयरलाइन्स, साङदोङ एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एक–एक उडान गराउन सके सुनमा सुगन्ध हुने थियो । हुन त गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेइजिङमा आफ्नो उडान सुरु गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि बेइजिङ, गुइयाङ, चाङ्सा, सेनजेन, चोङकिङलगायत सहरमा उडान गर्ने तयारी गर्दै छ ।
चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिएको हो । सोही वर्ष ७ हजार ५ सय ६२ चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको छ, कोभिडको समयबाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १३–१४ वर्षदेखि विश्वकै पहिलो नम्बरमा रहेर विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका तिनै चिनियाँ पर्यटक नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरू नेपाल आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा हामीले बेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने रणनीति बनाउनुपर्ने देखिन्छ ।