मौरीबाटै विष उत्पादन

भरतपुर-मौरीपालनमह उत्पादनका लागि गरिन्छ । तर, ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भरतपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ ।
“मौरीको संरक्षण गर्ने हतियार ‘खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,” सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, “खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपभोग हुन्छ ।” उनका अनुसार १० हजार मौरीबाट एक ग्राम ‘वि भेनम’ संकलन गर्न सकिन्छ । एक ग्राम भेनम संकलन गर्न तीन दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल’ निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेक्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ । नेपालमा हालसम्म ‘वि भेनम’ को व्यवसायीक उत्पादन सुरु भएको छैन । नसा, मुटु,, वाथ जस्ता रोगको उपचारमा वि भेनमको प्रयोग हुन्छ ।‘वि भेनम कलेक्टर’मेसीन मौरी निस्कने घारका प्वालमा जडान गरिन्छ र ‘इलक्ट्रिक सक’ दिइन्छ । जब मौरी आक्रोशित भएर टोक्न खोज्छन्, तब मेसीनको तल राखिएको सिामा खिल गाड्न खोज्छन् र विष झार्छन् । त्यही विष अर्थात ‘वि भेनम’ लाई संकलन गरेर राखिन्छ । मौरीले खिल गाड्न नपाउने भएकाले मौरी मर्न पाउँदैनन् ।
न्यौपाने रामपुर कृषि क्याम्पसका पूर्वप्राध्यापक हुन् । उनले मौरी अध्ययन तथा अनुसन्धानबाटै विद्यावारिधि गरेका हुन् । २०५२ सालमा ‘मौरी पालन तालिम तथा अनुसन्धान केन्द्र’ स्थापना गरेका न्यौपानेले पछि ‘गोर्खा मौरी’ फार्म चलाए । कृषि कार्यालयबाट पाएको २ घार मौरीबाट सुरु गरेको उनले पछि ४० घार मौरी थपे । सुरुमा २ लाख लगानी गरे । हाल २ सय ५० घार मौरीपालन गरेका छन् । हाल उनले व्यवसायमा ६० लाख लगानी गरिसकेका छन् । उनले मौरीबाट ‘मह’ मात्रै उत्पादन गर्दैनन्, अन्य मौरीजन्य उत्पादन समेत गर्दै आएका छन् ।
“मौरीबाट मह मात्रै होइन, अन्य बहुमुल्य उत्पादन लिन सकिन्छ,” उनले भने, “केही प्रविधि विदेशबाट ल्याएर अभ्यास गरेको छु ।” १५ वर्ष यता मौरीबाटै रोयल जेली (शाही खुराक), प्रपोलिस (चोप), पोलन (पराग), मैन (कुट)को उत्पादन लिदै आएका छन् । “मौरीबाट धेरै उत्पादन लिन सकिन्छ, नेपालमा मह उत्पादनमा मात्र सीमित रहदा किसान निराश बन्नु परेको छ”, उनले भने, “अन्य मौरीजन्य उत्पादन बढाउन सकिने सम्भावना छ, प्रविधि, सीप सिकाउन आवश्यक छ ।”
कर्मी मौरीको खाद्य ग्रन्थीबाट उत्पादन हुने सेतो क्रिम जसतो अर्ध तरल वस्तुलाई रोयल जेली भनिन्छ । रोयल जेली संकलन गर्न हरेक घारमा १ दिनको लार्भा राखेर‘ग्राफटिङ’ गरिएको हुन्छ । ग्राफटिङ गरिएको बारमा रानी बनाउन मौरीले रोयल जेली छाड्ने गर्छन् । त्यसरी रोयल जेली जम्मा भएका बारलाई ४ दिनसम्म रानी मौरी नभएको घारमा राखिन्छ । त्यही काठबाट रोयल जेली जम्मा गरिन्छ । १ घारबाट प्रतिवर्ष ५ सय ग्राम रोयल जेली जम्मा गर्न सकिन्छ । यसको बजार मूल्य प्रतिकेजी १ लाखसम्म पर्छ ।
प्रपोलिस अर्थात चोप मौरीले घार टाल्न प्रयोग गर्छन् । एपीस मेलिफेरा (विकासे मौरी)ले यस्तो चोप उत्पादन गर्छन् । वनस्पतिका कलिला बिरुवाबाट निस्कने चोप मौरीले बोक्छन् । ‘प्रपोलिस नेट’ बाट जम्मा गर्न सकिन्छ । प्रतिघारबाट ३ सय ग्रामसम्म चोप संकलन गर्न सकिन्छ । प्रतिकेजी ३ हजारसम्म पर्छ । फूल फुल्ने वनस्पतिको भाले अंग पुंकेशरमा उत्पादन हुने मसिनो कण मौरीको खुट्टामा टासिन्छन्, ती घारसम्म आइपुग्छन् । त्यही परागकण (पोलन) लाई ‘पोलन ट्रयाप’बाट ट्रेमा जम्मा गर्न सकिन्छ । प्रतिघारबाट वर्षमा २५ केजीसम्म परागकण जम्मा गर्न सकिन्छ । प्रशोधित पोलन प्रतिकेजी २ हजारसम्म पर्छ । यसमा भिटामिन, मिनरल्स, इन्जाइम्स लगायतका तत्व प्रशस्त पाइन्छ । पुराना चाकाबाट ‘मैन’ संकलन गर्न सकिन्छ । प्रतिघारबाट २५ केजीसम्म मैन वार्षिक उत्पादन गर्न सकिन्छ । मैनको प्रति केजी ८ सय पर्छ । गोर्खा मौरीले ‘नेक्टर हनी’, चाका मह, मौरी कुट तथा पराग, रोयल जेली, प्रपोलिस मह, प्रपोलिस घोल, हनी टनिक, वि डाइट, गोर्खा टिन्च्र, मैन मलम, रोयल जेली क्रिम, धमिरा निवारक क्रिम, लामखुट्टे निवाकर क्रिम जस्ता उत्पादन बजारमा ल्याएको छ । गोर्खा फर्मले २ सय घारबाट पोलन १५ केजी, रोयल जेली ५ केजी, प्रपोलिस १० केजीसम्म उत्पादन गर्न सफल भएको छ । यी सबै उत्पादन प्रत्येक घारबाटै एकपटक लिन सकिन्छ । तर, जनशक्ति र प्रविधिको आवश्यकता पर्छ ।
अन्य मौरीजन्य उत्पादन तथा प्रशोधन तालिम
मौरी विकास केन्द्र गोदावरीले मौरीबाट मह मात्रै नभई अन्य उत्पादनमा समेत किसानलाई अग्रसर बनाउन तालिम सुरु गरेको छ । यही ७ देखि १८ गतेसम्म चल्ने तालिममा ७ वटै प्रदेशका २३ जना व्यवसायीक किसान सहभागि छन् । मौरी विकास केन्द्र गोदावरीका प्रमुख तीर्थकुमार श्रेष्ठले मौरीबाट मह मात्र नभई अन्य बहुमुल्य उत्पादन लिन सकिनेबारे प्रयोगात्मक तालिम दिइएको बताए । उनका अनुसार महको मूल्य सरदर ५ सय पर्छ ।
तर, रोयल जेली, वि भेनम, प्रपोलिस, मैन, पोलन जस्ता उत्पादन गर्न सके किसानलाई फाइदा पुग्ने बताए । “अन्य मौरीजन्य उत्पादन गर्ने किसान नगण्य छन्, केही किसानले मैन उत्पादन थालेका छन्”, उनले भने, “प्रविधि नहुदा परेको समस्या बुझेका छौँ, छिटै प्रविधि भित्र्याउन पहल गरिनेछ ।” उनका अनुसार नेपालमा १० हजार व्यवसायीक मौरीपालक किसान छन् । “मौरी भनेको महका लागि मात्रै भन्ने बुझाई छ”, उनले भने, “मौरीको बहुउपयोगिताबारे बुझाउने, सीप सिकाउन लागेका छौँ ।” मोरङ लेटाङ–९ मा मनकामना मौरीपालन स्रोत केन्द्र चलाउँदै आएका इमनाथ पोखरेलले सर्वसुलभ प्रविधि भित्राएर मौरीबाट बहुउत्पादन लिन सकिने वातावरण बनाउनुपर्ने बताए । तालिम गोदावरी र रामनगरमा गरिएको छ ।