५६ % ब्राम्हण महिला छाउगोठमा «

५६ % ब्राम्हण महिला छाउगोठमा

कर्णालीमा छाउपडीको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ । कर्णालीका मुगु, जुम्ला र कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।
जातिगत हिसाबले ब्राह्मण ५५.९५, क्षेत्री ५.२५, दलित ४१.५५ र ठकुरीका २९.७५ प्रतिशत महिला छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ । कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साविक ७ गाविस र १६ वटा वडामा गरिएको अध्ययनमा योे तथ्य फेला परेको हो । भेरी वातारण विशिष्टता समूहले कर्णाली छाउपडीप्रथा न्यूनीकरण परियोजनाले गरेको अनुसन्धानमा छाउपडी भएका महिलाले पुरुष सदस्य, गाईवस्तु, फलफूलका बोट, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न मन्दिर परिसरमा हिँड्न धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन वञ्चित गरेको पाइएको छ ।
अध्ययनकर्ता दमिला शाहीले धेरै समुदायमा, समुदायका ठूला व्यक्ति, श्रीमान्, सासू आमा, पुजारी, धामी झाँक्री तथा हजुरआमाहरूले छाउपडी प्रथालाई सघाउ पु¥याएको देखिएको भन्दै अनुसन्धान गरेमध्ये धेरै जसो महिलाले कुनै कुनै प्रकारको छाउपडी प्रथा जब्बर रहेको तथ्य पाइएको उल्लेख गरिन् । अध्ययनअनुसार ३३.९ प्रतिशतले महिनावारी हुनु भनेको अपवित्र, २७.२ प्रतिशतले महिनावारी भएको बेला महिला छुट्टै कोठमा बस्नुपर्ने, ४३.२ प्रतिशत महिला र पुरुष १९.० प्रतिशत हुँदैन भन्ने मान्यता रहेको पाइएको शाहीले बताइन् । “उमेर भिन्नता र शैक्षिकस्तरले महिनावारी भएको बेला बस्ने ठाउँका बारेमा फरकफरक विचार भएको पाइन्छ,” उनले भनिन् ।
अध्ययनअनुसार साधारण कपडाको सेनेटरी प्याड प्रयोग गर्ने ७५.३ प्रतिशत, घरमा बनाएको सेनेटरी प्याड प्रयोग गर्ने ३१.२ प्रतिशत, पसलमा पाइने सेनेटरी प्याड प्रयोग गर्ने २७.९ प्रतिशत र कुनै पनि साधन प्रयोग नगर्ने १७.७ प्रतिशत रहेको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ ।
अध्ययनअनुसार २.२५ प्रतिशत महिलाले महिनावारी भएका बेला कुनै न कुनै दुर्घटना भोगेको, जंगली जनावरको आक्रमण, सर्पको टोकाइ तथा अन्य शोषण भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्