Logo

३० करोडको लागतमा अग्र्यानिक मल उद्योग सञ्चालनमा

भैरहवा– रुपन्देहीमा ३० करोडको लागतमा अग्र्यानिक मल उद्योग सञ्चालनमा आएको छ । रोहिणी गाउँपालिका–४, कोटहवामा ग्रोमोर फर्टिलाइजर एण्ड केमिकल प्रालिको नामबाट उद्योग सञ्चालनमा आएको हो । भैरहवाका व्यवसायी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गरी रत्नम ब्राण्डमा ‘रत्नम अग्र्यानिक दानेदार मल’ बजारमा ल्याइएको हो ।

उद्योग ५ विघा क्षेत्रफलमा फैलिएको छ । मलमा सबै तत्वको आवश्यक घुलन भएकाले यसले कृषि उत्पादन र उत्पादकत्व एवं माटोको उर्वरा शक्ति बढाउने अपेक्षा गरिएको उद्योगका अध्यक्ष एवं सञ्चालक सिद्धार्थले बताए । उद्योगबाट उत्पादित रत्नम मल लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गर्दै दैनिक एक सय टनभन्दा धेरै परिमाणमा उत्पादन गर्ने गरिएको छ । उद्योगको क्षमता भने दैनिक दुई सय टनको छ ।

‘हाम्रो दैनिक क्षमता दुई सय टन हो, तर नयाँ उद्योग भएकाले विस्तारै बजार विस्तार हुँदै छ, उत्पादन पनि बढाउँदै लगेका छौं’, उद्योगका अध्यक्ष अग्रवालले भने, ‘आम किसानले मलको गुणस्तर र यसको फाइदाबारे बुझेपछि उद्योग पूर्ण क्षमतामा चलाउनु पर्छ ।’ उनले अहिले एक सय बढी स्थानमा डिपो खोलेर मलको बिक्री गरिरहेको बताए । उनका अनुसार पूर्वमा झापा र सुदूरपश्चिमबाट र सीमावर्ती भारतीय क्षेत्रबाट पनि मलका बारेमा चासो राख्दै बुझ्ने काम भइरहेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा सूचीकृत गरी मल उत्पादन गरिरहेको अग्रवालले जानकारी दिए ।

‘कोरोना कालमा मल अभाव र वस्तु आयात तथा ढुवानीमासमेत समस्या देखिएकोले हामीलाई मल उद्योग खोल्न प्रेरणा मिलेको हो’, उद्योगका प्रबन्ध निर्देशक पुनमकुमारीले भनिन्, ‘हामीले उद्योग स्थापनाको निर्णय गर्‍र्यौं, सरकारबाट स्वीकृत लिन एक वर्ष समय लाग्यो । विगत एक वर्ष विभिन्न ठाउँमा परीक्षण गर्यौं र सफल भएपछि बल्ल बजारमा पठाउन सुरु गरेका हौं ।’

उनले रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको गुणस्तरलाई माथि उकास्न र उत्पादन बढाउन रत्नम अग्र्यानिक दानेदार मल फलदायी हुने दावी गरिन् । ‘मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्वनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण छ । रासायनिक मलको तुलनामा रत्नम अग्र्यानिक मलको मूल्य धेरै सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताइन् । ‘रासायनिक मललाई विस्तारै विस्थापित गर्दै जाने लक्ष्य हाम्रो हो’ उनले भनिन् ।

कौँशी तथा करेसाबारीमा लगाइने तरकारी खेतीदेखि धान गहुँ मकैसहित अन्य व्यावसायिक मुख्य खाद्य बाली दाल, प्याज, लसुन, फूल, फलदार रुख, तेलहन, उखु चिया बगान जस्ता नगदेवालीलाई लक्षित गर्दै मल उत्पादन गरिएको हो । उत्पादित मल ५, २५ र ५० केजी तौलको बोरामा उपलब्ध छ । एक वर्ष अघि उत्पादन थालेको उक्त उद्योगले आफ्नो उत्पादित मल उद्योग परिसर, आसपासका पालिकाहरू र सयौं स्थानीय कृषकको खेतमा गरिएको परीक्षण सफल भएको प्रालिका प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।

नेपालमा बर्सेनि मल अभाव हुने र रासायनिक मलको प्रयोगबाट माटोको उर्वरा शक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै ठूलो परिमाणमा अग्र्यानिक मलको व्यवसायिक उत्पादन थालिएको उनले जनाइन् ।

उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य २ हजार ४ सय रुपैयाँ पर्ने गरेकोमा रत्नम अग्र्यानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँ मात्र छ । ‘त्यसैले पनि हामीले सस्तो, स्वस्थ जीवनका लागि र गुणस्तरीय रत्नम अग्र्यानिक मल प्रयोगका लागि सबैमा अनुरोध गरिरहेका छौं’, अग्रवालले भनिन्, ‘कम्तिमा दुई खेती बालीमा प्रयोग गरेपछि यसमा सुखद् परिणाम आउँछ । यसैले स्वदेशी मल प्रयोग गरौं ।’ अग्रवाल दम्पतीले भने ।

प्रतिक्रिया दिनुहोस्