पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न माग
पोखरा– पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न माग गरिएको छ । विमानस्थल निर्माण भएको दुई वर्ष पुग्दै गर्दा हालसम्म नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेको भन्दै पोखरेलीहरूले त्यस्तो माग गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघले बिहीबार पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले पोखरामा करिब ४ दशकपछि बनेको पोखरा विमानस्थलबाट अब नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता गर्नु पर्नेमा जोड दिएका हुन् । सरकारले करिब २२ अर्ब ऋणमा निर्माण गरेको उक्त विमान निर्माण भएसँगै पर्यटन क्षेत्रमा अर्बैको लगानी भएको अवस्थामा उद्देश्य अनुरुप विमानस्थल सञ्चालन नहुँदा पोखरेलीहरूले आर्थिक मारमा परेको गुनासो गरे ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले गर्नेमा जोड दिए । उनले भने,‘एयरपोर्ट चल्दैन भन्ने पश्चगामी सोचलाई तत्काल खारेज गर्नुपर्छ ।’ संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको लागि संघले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने चेतावनी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न कुनै समस्या नभएको बताए । पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी)को उडान अतवरण हुने खालेको भएको बताउँदै क्यानका पदाधिकारीले ठूला (वाइड बडी) जहाज भने यहाँ नआउने प्रष्ट पारेका छन् । बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतया १८० सिट हुन्छ ।
पोखरा एयरपोर्टकी उपनिर्देशक तथा सूचना अधिकारी जसुधा सुवेदीले प्राविधिक कारणले नै यहाँबाट अन्तर्राष्ट्रिय उडान नभएको हल्लालाई खारेज गरिने बताइन् । उनले भनिन्, ‘एयरपोर्ट अत्याधुनिक छ, हामी सबै ढोका खोलेर बसेका छौँ, जतिबेला पनि यहाँबाट उडान हुनसक्छ,’। नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकाश साँघुरो भएको तथा वरपरका डाँडाहरूले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानको लागि कुनै अवरोध नभएको जिकिर गरे ।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पको बेला १७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराए । एयरपोर्ट न्यारो बडी विमानबाट अन्तर्राष्ट्रिय उडान भर्न सक्ने गरी बनाइएको उनको भनाइ थियो । पौडेलले एयरपोर्टको धावन मार्ग नै होचो बनाएकोले ठूला जहाज नआएको, प्राविधिक रूपले समस्या रहेकाजस्ता कुराहरू हल्लामात्र भएको बताए ।
प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नको लागि यात्रु हुनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटा, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सदस्य टीकाराम सुवेदीलगायतले पोखरा विमानस्थल नचल्नुको पछाडि भूराजनीति, प्राधिकरणको लापरबाहीलगायतका कारण रहेकोमा जोड दिए ।
भारतबाट पोखरामा पहिलो चाटर्ड उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट पहिलो चाटर्ड उडान भएको छ । भारतको दिल्लीबाट पोखराको लागि बिहीबार साँझ ५:५० बजे जेल एयरको सानो जहाज पोखरामा आएको विमानस्थलका सूचना अधिकारी सुवेदीले बताइन् । चार यात्रु लिएर आएको विमान शुक्रबार अपरान्ह ४:४० बजे बंगलादेशका लागि उडाने उनले जनाइन् । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट विमान भारतबाट पोखरामा पहिलो पटक आएको हो ।
पोखरा विमानस्थल सञ्चालन भएको दुई वर्षको अवधिमा हालसम्म नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि चाइना, भुटानबाट हालसम्म ९ वटा अन्तर्राष्ट्रिय चाटर्ड उडान भएको छ । आगामी डिसेम्बर २६ मा चाइनाबाट चाटर्ड उडान हुने भएको छ । पोखरामा ड्रागन बोर्ट फेष्टिवल, क्रस कन्ट्री पर्वतीय दौडलगायतका कार्यक्रमको लागि खेलाडीसहितका अतिथि चाइनाबाट पोखरा आएका थिए । पोखराका पर्यटन तथा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्दै आए पनि हालसम्म पोखरेलीको माग सम्बोधन हुन सकेको छैन ।