लमाएखोलाको पुल पुनर्निर्माण सुरु
पर्वत– उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पर्वत खण्डमा पर्ने लमाएखोलामा बाढीले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ । गत असार ५ गते राति आएको भिषण वर्षासँगैको बाढीले निर्माणाधीन अवस्थामा रहेको पुल बगाएको थियो ।
पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाएखोलामा निर्माणाधीन पुल बाढीका कारण पूर्ण क्षति पुगेको थियो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बाढीले बगाएपछि पुल निर्माण रोकिएको थियो । पुल बगाएको पाँच महिनापछि पुन: पुनर्निर्माण गर्न थालिएको कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका साइट इन्जिनियर पिपुल गौतमले जानकारी दिए ।
इन्जिनियर गौतमका अनुसार अबको दुई सय दिनभित्र काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको छ । बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौं बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप, र अन्य टेवा सामग्री पुरै बगाएको थियो । नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले खोलाको बहाव घटेलगत्तै पाँच महिनापछि पुल निर्माणको काम पुन: सुरु गरिएको बताए । अहिले माटो फिलिङको काम भइरहेको उनको भनाइ छ ।
यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी विसं २०७४ असार २८ गते सम्झौता भई विसं २०७५ पुस १९ गतेदेखि निर्माणकार्य सुरु भएको थियो । तर असारसम्म जम्मा ६० प्रतिशतमात्र काम सम्पन्न भएकोमा बाढीका कारण दुईतर्फको टेवा पर्खालबाहेक सवै संरचनामा क्षति पुगेको थियो । यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद गत असोज मसान्तसम्म सकिएकोले जरिवाना लगाएर दुई सय दिनभित्र पुल सम्पन्न गर्न निर्माण व्यवसायीलाई आयोजनाले निर्देशनसमेत दिएको छ ।
पाँच करोड ८९ लाख रुपैयाँको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दिपज्योती निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालिगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।
कालिगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर पिपुल गौतमले बर्खायाममा खोला बढेकाले काम हुन नसकेको बताउँदै अबको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने दाबी गरे । गौतमका अनुसार हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम सकिएको छ भने स्ल्याब ढलानको तयारीमा रहेको थियो । वर्षायाम सुरुवात नहुँदै स्ल्याब ढलान गरिएको भएमा वर्षायाम अगावै सवारीसाधन वारपार गर्न सक्ने भए पनि ठेकेदारको लापरबाहीका कारण ठूलो क्षति बेहोर्नुपरेको उनको भनाइ छ ।
करिडोरअन्तर्गत स्याङजाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाएखोलासम्मको सडक कालोपत्रे भइसकेको छ । लमाएखोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात सञ्चालन हुन नसकेको हो । कालिगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो ।
डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । २०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो । २०७५ पुसमा काम सुरु गरेका व्यावसायिले विसं २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो ।
दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुन: आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मंसिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघि नै सम्पन्न भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रका सांसद, नगरप्रमुख लगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।