बोर्ड अध्यक्षपछि मौद्रिक नीति समीक्षाको पर्खाइमा लगानीकर्ता
काठमाडौं– एक वर्षपछि धितोपत्र बोर्डले अध्यक्ष पाएपछि उत्साहित बनेका सेयर लगानीकर्ता अब मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा छन् । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी गरेसँगै लगानीकर्ताको ध्यान त्यसतर्फ मोडिएको हो ।
लगानीकर्ताले सेयर बजार सुधारका लागि मौद्रिक नीतिको समीक्षामार्फत तीन वटा संशोधन आउनुपर्ने माग गर्दै आइरहेका छन् । सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गरिनुपर्ने, सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताको सीमा १५ करोडबाट बढाउनुपर्ने वा सीमा नै हटाउनुपर्ने, त्यसो नभएमा एकाघर शब्द हटाउनुपर्ने उनीहरुको माग छ । साथै बैंक तथा वित्तीय संस्थाले सेयर लगानी गरेको एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था पनि संशोधन गर्नुपर्ने लगानीकर्ताको माग छ ।
मौद्रिक नीतिले सेयर बजारका विभिन्न नीतिहरूलाई लचक बनाउँदै लगे पनि यी तीन विषय संशोधन नहुँदा बजारमा असर परिरहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यी बुँदालाई संशोधन गर्नुपर्ने उनीहरूको भनाइ छ । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै लगानीकर्ताले उनीमार्फत यी बुँदा संशोधनका लागि पहल गर्न आग्रह गर्न थालेका छन् । श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताएका छन् । आईपीओ निष्काशन समेत अब क्रमशः हुँदै जाने उनले बताएका छन् ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले यी बुँदाहरू विगतका समयमा आवश्यक भए पनि अब संशोधन गरिनुपर्नेमा जोड दिए । सेयर बजारलाई थप अगाडि बढाउनका लागि यी बुँदामा संशोधन आवश्यक रहेको उनले बताए । राष्ट्र बैंकले पुँजी बजारलाई सहयोग पुग्ने गरी नीतिगत परिमार्जन गर्दै गएको सन्दर्भमा थप लचकता अपनाइदिए सहज हुने उनको भनाइ छ ।
सेयर बजारका जानकार अम्बिर बोगटीले पनि अहिले यी बुँदाहरूमा संशोधन गरिनुपर्ने भए पनि संशोधनको अपेक्षा भने नगरिएको बताए । उनले भने, ‘मौद्रिक नीतिको समीक्षामा यस्ता विषयहरू संशोधन हुन्छन् भन्ने लागेको छैन ।’ यी बुँदा संशोधन भए लगानीका लागि सहज हुने उनले बताए । जोखिमभारले भने अहिले सेयर बजारलाई असर नगरेको उनको भनाइ छ ।
बिहीबार नेप्से परिसूचक ८.३० अंक घटेर २७४८.०५ बिन्दुमा कायम भएको छ । लगातार तीन कारोबार दिन बढेको बजारमा कारोबारीले नाफा कमाउन सेयर बेचेसँगै केही घटेको हो । बिहीबार ३०७ धितोपत्रको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८३ हजार १२८ पटकमा ८ अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
७६ कम्पनीको आईपीओ आउँदै
धितोपत्र बोर्डमा ७६ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनका लागि पाइपलाइनमा छन् । बोर्डका अनुसार ४८ अर्ब ५८ करोड रुपैयाँको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता सेयर पाइपलाइनमा छ ।
पाइपलाइनमा रहेका कम्पनीमा होटल तथा पर्यटन क्षेत्रका ७ वटा छन् । यी कम्पनीको ३ अर्ब ३१ करोड रुपैयाँको ३ करोड ५३ लाख ६० हजार कित्ता सेयर आउनेछ । यस्तै, जलविद्युत क्षेत्रका सबैभन्दा बढी ३७ वटा कम्पनी छन् । यी कम्पनीले १५ अर्ब ७३ करोड रुपैयाँको १५ करोड ७३ लाखभन्दा बढी सेयर निष्कासन हुँदैछ । इन्भेष्टमेन्टतर्फका ३ वटा कम्पनीको २ अर्ब ८४ करोड रुपैयाँको १ करोड ५६ लाख कित्ता सेयर पाइपलाइनमा छ ।
उत्पादन तथा प्रशोधन समूहका १५ वटा कम्पनी छन् । यी कम्पनीको २२ अर्ब ६८ करोड रुपैयाँको ९ करोड १६ लाख कित्ता सेयर पाइपलाइनमा छ । माइक्रो फाइनान्सतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्थाले ८० लाख रुपैयाँको ८० हजार कित्ता सेयर निष्कासन गर्दैछ । यसैगरी ३ वटा माइक्रो इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएका छन् ।
अन्य क्षेत्रका १० वटा कम्पनीको ३ अर्ब ३२ करोड रुपैयाँको २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर पाइपलाइनमा रहेको बोर्डको तथ्यांक छ ।