Logo

विदेशमा औषत मासिक ११० नेपालीको मृत्यु

फाइल तस्बिर

काठमाडौं– वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये मासिक औषत ११० नेपाली श्रमिकको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको चार महिना १० दिनमा विदेशमा मृत्यु भएका ४७७ जना श्रमिकका परिवारले आर्थिक सहायता लिएका छन् । आर्थिक सहायता लिएको आधारमा विदेशमा मृत्यु हुने नेपालीको संख्या निकालिँदै आएको छ । यसरी हेर्दा मासिक औषत ११० श्रमिकको रोजगारीका क्रममा विदेशमा मृत्यु भएको देखिन्छ । यो संख्या श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश पुगेका नेपालीको हो ।

बोर्डका निर्देशक टीकाराम ढकालले विदेशमा मृत्यु भएका ४७७ जनाका परिवारले यो अवधिमा १८ करोड १५ लाख आर्थिक सहायता लिएको जानकारी दिए । बोर्डले श्रमस्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि ७ लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पु¥याएको छ । बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको संख्या जोड्ने हो भने विदेशमा हुने मृत्युको संख्या अझ बढी छ । यसैगरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अंगभंग भएका १७४ श्रमिकले ५ करोड ६३ लाख रुपैयाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुनेको संख्या लामो समयदेखि घट्न सकेको छैन । मेडिकलमा विभिन्न चरण पार परेर जाने स्वस्थ नेपालीको कसरी मृत्यु हुन्छ भन्नेबारेमा खासै अध्ययन पनि भएको छैन । औद्योगिक दुर्घटना, कार्डियाक अरेस्ट, सडक दुर्घटना, आत्महत्या आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको विवरण आउने गरेको छ । वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले रोजगारीका क्रममा विदेशमा मृत्यु हुने नेपालीको संख्या घट्दै गइरहेको देखाएको भए पनि विगतमा भने स्थिति डरलाग्दो थियो । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तव्य मुलुकमा मृत्यु हुनेको संख्या पनि घटेको देखिन्छ, तर अहिले फेरि बढ्ने क्रममा देखिएको छ ।

रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षण मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको जुन आँकडा आइरहेको छ, त्यो अस्वाभाविक भएको बताए ।

‘स्वास्थ्य परीक्षणमा फिट भएर गएका युवा विदेशमा सुतेको सुतै हुने गरेको धेरै पाइएको छ । संख्याको आधारमा वैदेशिक रोजगारीको मृत्युलाई अस्वाभाविक मानिदैन । सानो प्रयासबाट पनि विदेशमा हुने बढ्दो मृत्यु संख्यालाई घटाउन सकिन्छ,’ उनले कारोबारसँग भने । उनका अनुसार सडक दुर्घटनामा हुने मृत्यु रोक्न विदेश जानुअघि दिइने अभिमुखिकरण तालिमलाई प्राथमिकतामा राख्नुपर्छ । नेपालीको मृत्यु संख्यालाई हेर्दा प्रमुख चार श्रम गन्तव्यमध्ये मलेसिया नेपाली श्रमिकका लागि बढी जोखिमपूर्ण छ । साउदी अरब, कतार र यूएईको तुलनामा मलेसिया गई रोजगारीका क्रममा मृत्यु हुने श्रमिकको संख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस्