उखुको समर्थन मूल्य २० रुपैयाँ बढ्यो
काठमाडौं– सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँ बढाएको हो ।
यसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउनेछन् । सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।