Logo

तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत

काठमाडौं- मुलुकभित्र निर्माणको तयारीमा रहेका तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत गरिएको छ । तीन जलविद्युतको गरी कुल एक खर्ब ४१ अर्ब १३ करोड लगानी स्वीकृत भएको हो ।

लगानी बोर्ड नेपालको बिहीबार बसेको बैठकले बुढीगण्डकी, चैनपुर सेती र जगदुल्ला जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

यस्तै दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । एक सय ६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत परियोजनाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ ।

बोर्डका अनुसार बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ । पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय पनि गरिएको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णयसमेत बिहीबारको बोर्ड बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले यी आयोजनाहरु सफल बनाउन सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको वातावरण सृजना गर्न र समृद्धिको यात्रामा काम गर्न आग्रह गरेका थिए । बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्