शक्ति पूजा, प्राज्ञिक बेवास्ता र कठै न्याय !
संसारकै शक्तिहीन राष्ट्रहरूको सूचीमा अब्बल दर्जामा गनिने हाम्रो सुन्दर, शान्त, विशाल देशमा नित्य शक्तिकै पूजा–आराधना गर्ने परम्परा वैदिक कालदेखि नै चल्दै आइरहेको एउटा नियमित अभ्यास हो । स्वयंसिद्धहरूले पनि शक्तिको कामना, याचना र चाहना राख्नु कुनै अस्वाभाविक विषय हो जस्तो लाग्दैन । पूर्वीय दर्शनले हामीलाई दिएको दीक्षा पनि त्यही नै हो । शक्ति सँगाल र त्यसको प्रदर्शन गर्न नचुक, अन्यथा तिम्रा प्रतिद्वन्द्वीहरूले तिमीलाई अशक्त वा शक्तिहीन ठानेर तिम्रो उपेक्षा गर्नेछन् । तिम्रो आत्मसम्मानलाई शिरको फेटाबाट मुनिको धोती बनाइदिन अबेर नगर्लान् । देवी भागवत्देखि लिएर हामीसँग भएका सम्पूर्ण धार्मिक ग्रन्थहरूमा शक्तिको उपासना र पूजालाई सर्वश्रेष्ठ कर्मका रूपमा गणना गरिएको छ ।
नेपाल आफैंमा शिवशक्तिको संगम स्थल हो । हिन्दू धर्मशास्त्रका अनुसार ब्रह्मा, विष्णु, महेश त्रिदेवहरू हुन् भने सरस्वती, लक्ष्मी र पार्वती त्रिदेवी मानिन्छन् । राम र रावणका आफ्नै शक्ति छन् । हनुमानका शक्तिको उल्लेख हनुमान चालिसामा पढ्न पाइन्छ । रामायणमा पनि हनुमानको विराट रूप देखिन्छ । महाभारतमा कृष्णको, त्यस्तै विष्णुको विराट रूपको चर्चा पनि हाम्रा शास्त्रहरूमा नभएका होइनन् । शक्ति देखाउने पात्रहरू क्षीर सागरमा आनन्दसँग शयन गरेको विष्णु हाम्रा अगाडि आउँछन् । पाण्डव र कौरव दलको शक्तिउपरको शक्ति महाभारतका पात्र श्रीकृष्णको भूमिकामा चरितार्थ छ । झन्, नेपाल त शक्तिपीठहरूकै लागि मानिएको मुलुक हो । यहाँ तेत्तीस कोटी देवीदेवताको पूजा हुन्छ । अब मानव युगमा शक्ति सञ्चय गरेर अप्राकृतिक रूपले शक्तिशाली बन्ने र कहलिन चाहनेहरूको संख्या पलपलमा बढ्दो छ । मानव त के, यहाँका ढुंगा पनि शक्तिशाली छन् । मित्रराष्ट्र भारतका महान् दार्शनिक, लेखक, कवि अटलबिहारी बाजपेयी भारतको प्रधानमन्त्री बनेपछि पवित्र भूमि नेपालको भ्रमणमा आउनुभएको थियो ।
सन् २००२ को जुनमा काठमाडौंमा आयोजित सार्कको ११ औँ सम्मेलनमा भाग लिन उहाँ काठमाडौँ आउँदा उहाँले भनेको स्मरण हुन्छ, नेपाल के कंकड–कंकड (ढुंगा) मै शंकर बसा है । हाम्रा नेताहरूमा शक्तिको संस्कार गहिरो रूपमा भरिएको छ । त्यसको ज्वलन्त उदाहरण विगत केही दिनदेखि हामीले राजधानीलगायत देशका विभिन्न स्थानमा देख्यौँ । कहिले रास्वपाको, कहिले माओवादीको, कहिले दुर्गा प्रसार्इंको, कहिले नेपाली कांग्रेसको, कहिले अन्य कसैको । जुलुस प्रदर्शनी शक्ति प्रदर्शनीको सान माध्यम बनेको छ । नेकपा एमालेले यसपटक गरेको शक्ति प्रदर्शनमा आम जनतालाई विशेष गरी आफ्नो विभिन्न काममा दौडधूप गर्दा बाटो जाम, पुलिसको रोकथाम आदिले विलम्ब बेहोर्नुपरेको पाइयो ।
फेरि त्यत्रो सहिद मञ्च छँदाछँदै आफ्नो शक्ति सभालाई राजदरबारको गेटमा आयोजना गरेर दरबारमार्गका तमाम व्यवसायीलाई आफ्नो व्यवसायबाट रोक्न बाध्य गर्नुपर्ने काम पनि शोभनीय ठहरिन सक्दैन । १ लाखभन्दा बढी प्रदर्शनकारीको उपस्थिति रहने भनिएको भए पनि प्रदर्शनकारीको संख्या त्यति नरहेको र काठमाडौँका विभिन्न ठाउँ, जसलाई एमालेको गढ पनि भन्ने गरिन्छ, त्यहाँ पनि शक्ति प्रदर्शनमा जाने कुनै चहल–पहल नदेखिएको पर्यवेक्षकहरूले जनाएको पाइन्छ । जे होस्, गठबन्धनको पेटी कसेर देशवासीसमक्ष राजनीतिक बन्जीजम्प नगरेकै बेस ! राजनीति तब सफल हुन्छ, जब यो जनमुखी हुन्छ र जनताको कल्याणका लागि सक्रिय बन्छ । सत्तालोलुपता र स्वार्थमा संलग्न रहेर अहोरात्र दलीय चिन्तनको कृत्रिम प्रवाहमा बग्नु व्यावहारिक हुँदैन, हुन सक्तैन ।
युवाहरू मुलुकबाट विस्थापित हुँदै गए । मुलुक श्मशानमा परिणत हुँदै जाँदै छ, मुलुक मात्र भूतप्रेत र शक्तिशाली अनौठा प्राणीको मात्रै हो जस्तो अनुभव गरिरहेका बेला अकस्मात् सरकारले विदेश जानेहरूलाई दिने एनओसी पनि अब नचाहिने भइसक्यो भनेको सुन्दा एक प्रकारको गहन पीडाले मन बादलिन्छ । मुलुकमा असंख्य राम्रा कामको थालनी नभएको होइन, भएका छन् तर युवाहरूलाई एक–एक गरी लखेट्नुपछाडिको उद्देश्य के हो त ? रेमिटेन्समार्फत अर्थतन्त्र सुधार्न वा शासक वर्गलाई नपुग भएको सान–सौकतको अभिवृद्धि गर्दै जान ? देशलाई सुखी, समृद्ध बनाउन सरकारले नीतिगत रूपमा चालेका कदमहरूबारे किन कहीं कोही बोल्दैन ? भए पो बोल्छन् । भाषण गरेर एक निरीह जनतालाई चिल्लो घस्न माहिर अहिलेका तानेहरू कोही पनि जनताको नजरमा विश्वासिला हुन नसकेको देख्दा हाम्रो देशको विश्व रंगमञ्चमा के–कस्तो छवि निर्माण हुदै गइरहेको छ ? त्यो चिन्तनीय विषय हो ।
कृषिप्रधान देशका किसानले मुलुकमा सर्वहाराको नेतृत्व हुँदा त यसरी पिरोलिएर बाँच्नुपरेको देख्नुपर्दा साम्यवादी कलंकहरूको जय होस् कसरी भन्नु ? मजदुरी गर्न छिमेकीको ढोका धाउनुपर्ने श्रमिक वर्गको दुःखेसो सुन्ने धैर्य नभएकाहरूले तिनै शोषित–पीडित वर्गको बुई चढेर देश चलाइरहेको गुनासो सर्वव्यापी छ । भ्रष्टाचारका कानुन देशवासी र देशभक्त राष्ट्रसेवकलाई लाग्ने तर सत्ताको महमा लट्पटिएका ताने (नेता) हरूलाई नलाग्ने, यो कस्तो विधि हो ? गृहमन्त्रीका विधिअनुसार कारबाही हुने आश्वासनको पहाड जमिसक्यो ।
यो सरकार चलाएको हो कि चटक देखाएको ! दुःख पाउने त आखिर आममानिस नै हुन् । जसले देशलाई, आफ्नो जन्मभूमिलाई आज पनि सुतेर उठेपछि श्रद्धापूर्वक नमन गर्छन् । तानेहरूको नैतिकता हुँदैन कि जस्तो पनि लाग्छ । गाडी–साडी र पापी भवनमा एउटा कित्ता पाए पुगिहाल्दो रहेछ । देशमा सल्केको आगो न हेर्न सक्ने क्षमता छ, न झुपडीहरूको आर्तनाद सुन्न सक्ने कान छन् उनीहरूसँग । खालि गठबन्धने अंकगणितमा रमेकाहरूले के सधैं यसरी नै राज्य चलाउने सोचेका हुन त ? यदि हो भने त्यो निरर्थक हो । अस्थिर वैदेशिक कूटनीतिले गर्दा मित्रराष्ट्रहरूसमेत चिढिइसके । एमसिसीले गर्दा अमेरिका, बिआरआईले चीन, सार्कले पाकिस्तान, युक्रेनले रूस र हमासले गर्दा अन्य यहुदीहरू । यो फेहरिस्त बनाउँदा धेरै लाम्रो हुन्छ ।
थुप्रिँदै गइरहेको आन्तरिक तथा बाह्य ऋण, असन्तुलित व्यापार घाटा, आयातको दाँजोमा खस्किरहेको निर्यात् व्यापार, उत्पादन र उत्पादकत्वमा निरन्तर वृद्धि हुँदै गइरहेको ह्रास ! अनियन्त्रित बजारभाउ, आमनागरिकको घट्दो क्रयशक्ति, स्थानीय उत्पादनको यथोचित बजारीकरणको अभाव, तानेहरूको अनर्थको वैदेशिक भ्रमण र अपव्ययिता । शिक्षा, स्वास्थ्य र सेवाप्रदायक संघसंस्थाहरूको व्यापक राजनीतीकरण र व्यवसायीकरण, भ्रष्टाचारको भेल उर्लाएर कतिसम्मको अवधिभर सरकार चलाउने हो ? इतिहासका हरपानामा बोलिरहेकै हुन्छ । त्यसबारे पनि सोच्न वा विचार गर्न जरुरी छैन ?
स्वास्थ्य क्षेत्रमा आएका युवा मन्त्रीले आफ्नो कार्ययोजना ल्याए । वाहवाही पनि पाए । तर, त्यस कार्ययोजनाको कार्यान्वयनतर्फ के संघीय सरकार गम्भीर छ त ? स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिने सम्भावना छ । स्थानीय सरकारका प्रत्येक वडामा गम्भीर प्रकारका जस्तै मधुमेह, क्यान्सर, किड्नी, हृदय वा मुटु, दमरोगले ग्रस्त ज्येष्ठ नागरिकको विवरण संकलन गरी उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा र औषधिको व्यवस्था गरिदिए यथेष्ट कल्याण हुने निश्चित छ । त्यसरी नै उच्च शिक्षा क्षेत्रमा अध्ययन र अनुसन्धानमा लीन प्राध्यापकहरूलाई अवकाश दिने÷लिने समय ऐच्छिक बनाइनु उपयुक्त हुन्छ । उनका अनुसन्धानले ज्ञानका अनेकन् ओडारका ढोका खोलिन्छन् । अन्तर्राष्ट्रिय ज्ञान विज्ञानसँग सम्बन्धित सभा–गोष्ठीहरूमा नेपालको प्रतिनिधित्व गर्दै अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गर्ने विद्वान् प्राज्ञिक व्यक्तित्वहरूको राष्ट्रले सम्मान गर्न जान्नुपर्छ । र, उसलाई सेवानिवृत्त बनाएर उनलाई उनको पेसा र अनुसन्धात्मक कार्यबाट पृथक् राख्न राष्ट्रकै निम्ति घातक हुन सक्छ ।
अहिलेसम्म त निवृत्तिभरणको प्रावधान छ । तर, त्यस्ता विद्वान्–विदुषिहरूलाई राष्ट्रले आफ्नो सम्पत्ति ठानेर उपयुक्त पारिश्रमिक र अनुसन्धानमा चाहिने हरप्रकारको सुविधा उपलब्ध गराउनुपर्छ । हेर्नुस्, वर्ष दिनभरिमा कति जना बिदेसिएका त्यस्ता प्राज्ञिक नेपाली व्यक्तित्वहरू आफ्नै देशको राष्ट्रिय गहना बनेर बस्न नेपाल आउँछन् । कति विदेशी शोधकर्ता नेपालबारे थप अनुसन्धानका विषयहरूको चयन गरी नेपाल आउँछन् । नेपालबारे, यहाँको सरकारबारे कति सकारात्मक विचार विश्वका उत्कृष्टतम विश्वविद्यालय र प्राज्ञिक क्षेत्रहरूमा पुग्छन् । हाम्रो देशका बारे कति ग्रन्थहरूको सृजना हुन्छ । शैक्षिक क्षेत्रमा नेपालको लगानी दोब्बर–तेब्बर भएर फर्किन्छ । स्तरीय उच्च शिक्षा पाउन लालायित हाम्रा किशोर–किशोरीहरूले विदेशका छिँडीहरूमा कैयौं डलर बहाल तिरेर बस्नुपर्ने छैन, स्वदेशको ठूलो धनराशि विदेश जानबाट जोगाउन सकिन्छ र आफ्नै देशका महाविद्यालय र विश्वविद्यालयहरूको शैक्षिक उन्नयनमा लगाउन सकिन्छ ।
तर दुर्भाग्य, हामीकहाँ शिक्षण संस्थाहरू सहर–बजारमा बनाइने ‘मल’ जस्ता भए । बडो तीव्र गतिले ती शिक्षण संस्था केही विशिष्ट भनाउँदा व्यक्ति र व्यवसायीहरूको आर्थिक स्रोत बन्न पुगेको हामी टुलुटुलु हेरेर बस्न बाध्य छौं । छोरोले त १२ उत्तीर्ण गरिसक्यो होला, अब के भन्छ ? सोध्यो भने औसत नेपाली अभिभावकबाट सुन्न पाइन्छ— ‘ए ग्रेड ल्याएर उत्तीर्ण भयो, उसले त खुट्टा उचालिसक्यो, क्यानाडा जाने रे ।’ त्यस्तै, उसले त फलानाले चलाउनुभएको क्याम्पसमा पढ्ने रे । त्यो क्याम्पसमा पढाउनुभन्दा त त्यति नै खर्चमा छोराछोरीले अस्ट्रेलियामा पढ्नु नै बेस । पढाइ पनि हुने, कमाइ पनि हुने । यो शैक्षिक जगत्मा व्याप्त एउटा भ्रामक तुवाँलो मात्र हो । जसले गर्दा नेपाली मानसिकतामा छोराछोरी विदेशमा पढ्दै छन् भन्ने विषय काठमाडौँमा घर छ भनेजस्तै एउटा सामाजिक प्रतिष्ठाको विषय बनिसकेको छ । यसमा सरकार र राष्ट्रसेवकहरूले गहन सोच राख्नु नितान्त आवश्यक भइसक्यो । अन्यथा हाम्रो राष्ट्रका कैयौँ कर्णधारले विदेशका हाटबजारका भुइँ पुछेर होस् वा त्यहाँका मानसिक सन्तुलन गुमाएका वृद्धवृद्धाहरूको हात र लात दुवै सहेर होस्, दिन गुजार्न बाध्य हुनेछन् ।
अब त शिक्षाको व्यापक बजारीकरणबारे विद्यार्थी समुदायबाट पनि चर्चा–परिचर्चा बढिरहेको छ । शिक्षामा राजनीतिमा जस्तै अंकगणितीय वृद्धि ल्याएर हात लाग्यो शून्य नै हुन जानेछ । हामीलाई चाहिएको गुणस्तरीय शिक्षा नै हो । नेपाललाई स्नातक र स्नातकोत्तर चाहिएका छैनन्, हामीलाई चाहिएको छ–विज्ञ र विशेषज्ञ । यस्ता विषयहरूलाई देशका विभिन्न ठाउँमा रहेका व्यावसायिक संस्थाहरू (जस्तै— एनटिसी, एनसेल, चौधरी ग्रुप, गोल्छा ग्रुप आदि) ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘कन्क्लेभ’ को आयोजना गरी एउटा जनमतको सृजना गर्न आवश्यक छ । नत्र काग कराउँदै गर्छ बेल पाक्दै गर्छ । हाम्रा तानेहरूलाई देश बचाउनु र सिँगार्नु छैन, देशवासीको जीवनस्तर उकास्नु पनि छैन ।
शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत र हाम्रा प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक धरोहर रहून्-नरहून्, उनीहरू सत्तामा रहिरहनुपर्छ, उनीहरूलाई थाहा भएको यत्ति मात्र हो । देश कसरी बन्छ र कहिलेसम्म हामीले सुख, शान्ति र समृद्धिको बाटो पक्रने हौँ, त्यो अवस्था आउनका लागि हामीलाई हजारौँ हजार बालेनहरू चाहिन्छन्, सुमनाहरू चाहिन्छन् र देशको चिन्तन गर्ने चन्द्र भण्डारी र चित्रबहादुरहरू, प्रेम सुवाल र कुलमान तथा महावीरहरू ! चाहिने त हामीलाई अरू धेरै छन् । हामीलाई चाहिनेहरू आफ्नो शक्ति प्रदर्शन गर्न सडकमा आउँदैनन । किनभने उनीहरू शक्तिप्रदत्त छन् ।
हामीलाई बनारसका हिन्दू कविहरूको व्यंग्य कविता सुनेर रमाउनु छैन । न कि हाम्रा तानेहरूको अर्थहीन भाषण सुनेर । तर्क र वितर्क अहिलेको खाँचो होइन देशलाई । देशलाई खाँचो छ, हाम्रा युवा–युवतीको आँठमा ओजस्वीपूर्ण मुस्कान र देशप्रतिको समर्पण भाव तथा वृद्धवृद्धाहरूमा सुस्वास्थ्य, सुख, शान्ति र श्रमिक वर्गलाई न्याय । तर प्रश्न उठ्छ, यहाँ न्याय छ र ? सबैले मिलेर न्यायका आँखामा कालोपट्टी बाँधिदिएका छन् रे !