अजिरकोटको समृद्धिमा पर्यटनको महत्व
गोरखा जिल्लाका प्राचीन ३९ कोटमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोटबाट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेपोखरी, माडीक्षेत्र, दूधपोखरी, नारदपोखरी तथा मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिगलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । अजिरकोट गाउँपालिकामा हिमचुली हिमाल, दूधपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढीलगायतका विशाल माढीहरू छन् । यी माढीबाट तराईको मनोहर दृश्य अवलोकन गर्न सकिन्छ । दरौदी र चेपेजस्ता ऐतिहासिक महत्व बोकेका नदीहरू छन् ।
त्यस्तै यहाँको प्रसिद्ध देवालयमध्ये झ्याल्ला भूमे पनि एक हो । यस झ्याल्ला भूमेमा सोमबार पूजा गर्दा भाँडाकुँडाको आवश्यक हुँदा फूलपाती चढाएर ध्यान गर्दा आवश्यक भाँडाकुँडा मन्दिरभित्रै उत्पत्ति हुने गरेको पाइन्थ्यो, पछि पूजा हुँदै जाँदा जुठो, चोखोको ख्याल नगर्नाले भाँडाहरू उत्पत्ति हुन छाडेको भनाइ छ । त्यस्तै, आपत्विपद् पर्दा, खेतीकिसान, वस्तुभाउ, पीरमर्का, झैझगडा, बिरामी, बालवृद्धलाई औषधि उपचार, विभिन्न रोगव्याधि आदि सबै हुँदा झ्याल्ला भूमेलाई आराधना गरी पूजा गरेमा सो समस्या समाधान हुने जनविश्वास छ । झ्याल्ला भूमे देवताको शक्ति धेरै ठूलो छ । साथै, यस मन्दिरको जीर्णोद्वार गरी आकर्षक धार्मिक स्थलका रूपमा विकास गरिएको पाइन्छ ।
त्यस्तै, अजिरकोटमा रहेको पुरानो कालिका मन्दिरको संरचना जीर्णोद्वार गरी पुनः सुन्दर मन्दिर निर्माण गरिएको छ । सो मन्दिर क्षेत्रबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । बाह्रै महिना आन्तरिक पर्यटनको चाप बिस्तारै बढेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा यहाँ मेला लाग्ने गर्छ । चैत-वैशाखमा अजिरकोट कालिकामन्दिर वरिपरि फुलेको विभिन्न लालीगुराँस र सुनाखरी फुलको घुम्टो ओढी तपाईं–हामी सबैलाई स्वागत गरेको जस्तो लाग्छ । सो मन्दिर त्यस क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । बाइसे चौबीसे राज्यको समयमा अजिरगणको रूपमा रहेको सो स्थान हाल अजिरकोट नामबाट प्रसिद्ध छ । पर्यटकीय दृष्टिकोणबाट निकै सम्भावना बोकेको सो क्षेत्रबाट हिमचुली, बौद्ध, अन्नपूर्ण, गणेश हिमाल, चेपे नदी, दरौदी र अन्य कैयौँ मनोहर दृश्य अवलोकन गर्न सकिन्छ ।
अजिरकोट क्षेत्रको महत्वपूर्ण पर्यटकीय स्थल नागेपोखरी पनि हो । नागहरूको पोखरी भएकाले नै यसलाई नागेपोखरी भनिएको हो । सत्ययुगमा देवीदेवताले नागकन्याको रूप लिएर विहार गरेको हुनाले नागेपोखरी भनेको भनी गण्डकी महात्यमा चर्चा गरिएको पाइन्छ । मनोरम १ सय मिटर लामो र ५० मिटर चौडाइ भएको यस पोखरीको प्रत्यक्ष पानीको निकासा देखिँदैन । रमणीय यस पोखरीडाँडाबाट चितवनसम्म देख्न सकिन्छ । हिमाली दृश्यावलोकन गर्न सकिने यस पोखरीमा मूल देखिँदैन, गुराँसको फेदमा नागपूजा गरिन्छ । नीलो आकारको यस पोखरीमा वस्तुभाउले छेउबाट मात्र पानी खान्छन् । सो ठाउँमा प्याराग्ल्याइडिङ तथा जिपलाइनजस्ता साहसिक खेलको सम्भावना रहेको छ । यस ठाउँलाई पर्यटकीय रूपबाट गन्तव्य बनाउन आवश्यक छ । किंवदन्तीअनुसार च्यवन ऋषिको तपो थलो बाङ्गे ओडारलाई मानिन्छ । यहाँ नागपञ्चमीमा विशेष पूजा गर्ने प्रचलन छ ।
अजिरकोट गाउँपालिकामा सतुवा, वनलसुन, पाँचऔंले, नीरमसी, जटामसी, भूतकेश, यार्सागुम्बा, पाखनभेद, रथविरथ, हर्रौ, बर्रौ, जुर्गो, लेमनग्रास, तिते, अँलैची, कुरिलो, बोजो, कम्मरी लहरा, हात्तीपाइलेजस्ता अनगिन्ती जडिबुटी पाइन्छन् । वनस्पतिमा गुराँस, चिमल, चाँप, धूपी, भोजपत्र आदि पाइन्छ । फलफूलमा भुइँचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, ऐंसेलु, मडिलो, मेल, नाल्चे आदि फलफूल पाइन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाइन्छन् । जीवजन्तुमा काँडे भ्याकुर, मृग, हिम चितुवा, कस्तूरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, वनबिरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, वनकुखुरा आदि पाइन्छन् ।
अजिरकोट क्षेत्रको मार्गबाट हरियाली माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविक नै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, श्रृङ्गी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ ।
हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्राह्मण–क्षत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोकसंस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, बोलीवचन, साइनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पत्ति हुन् ।
अजिरकोट क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधि विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण अजिरकोट क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा कृषि एवं पर्यटनको विकास गर्न सकिनेछ ।
ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो । दुःखको कुरा, यस क्षेत्रबाट बर्सेनि सयौँ परिवार बसाइँ सरेर बस्ती उजाड भई जमिन बाँझो, वनजङ्गल, झाडी, चरन र खर्कको रूपमा रहेको छ । वन्यजन्तु आफ्नो बास क्षेत्र छोडेर मानवले प्रयोग गरिरहेको खेती बाली क्षेत्रमा आई बालीनाली सखाप पारिदिने, घर पालुवा जनावर नष्ट पारिदिने गर्छन् । वन्यजन्तुको उपद्रोबाट हैरान भएपछि मानिस आफ्नो छातथलो छोडेर बसाइँ सरिरहेका छन् । युवा खाडीमा छन् भने गाउँमा ज्येष्ठ नागरिक मात्र छन् ।
अजिरकोट क्षेत्रको आम्दानीबाट पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गरी समग्र नेपालको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । अजिरकोट क्षेत्रभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ ।
स्थानीय सरकारले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ समृद्धिको यात्रा कहाँबाट सुरु गर्ने निक्र्योल गरी अगाडि बढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी गरिबी न्यूनीकरण गर्दै देशभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । साथै, देशभित्र ट्रेकिङ स्थलको विकास गर्नु जरुरी छ, जसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ ।
अतः समुदायमा आधारित प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । जसले देश विकासमा जनसहभागिता जुटाउने कार्य गरी यस क्षेत्रलाई नमुनाको रूपमा विकास गर्न सकिन्छ । यातायातको विकाससँगसगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । हाम्रो देशभित्र अजिरकोटजस्ता हजारौँ सुन्दर र प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण धरोहरहरू छन् । यस्ता क्षेत्रको पहिचान गरी पर्यटकीय सर्किटको रूपमा विकास गरेर विश्व बजारमा प्रचारप्रसार गर्न सके पर्यटन आगमनमा वृद्धि गरी राष्ट्रिय अथतन्त्रमा सुधार ल्याउन सकिन्छ ।