कर्मचारी अभावले प्रदेशसभा प्रभावित «

कर्मचारी अभावले प्रदेशसभा प्रभावित

समयमै दरबन्दीका कर्मचारी नआइपुग्दा ३ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयको काम कारबाही प्रभावित हुने देखिएको छ । संघीय संसद्बाट काजमा आएका कर्मचारीको काज सकिएर फिर्ता भएसँगै प्रदेशसभा सञ्चालनमा कठिनाइ हुने देखिएको छ ।
१५ दिनको काजमा आएका सचिव डा. रोजनाथ पाण्डे यसअघि नै फर्किसकेका छन् भने उपसचिव अधिराज राईसहितका तीनजना सोमबारको प्रदेशसभा बैठक सकिएपछि फिर्ता भएका छन् । उनीहरूको एक महिने काज सोमबारबाट सकिएको हो । संघीय संसद्बाट आएका उपसचिव राईसहित अधिकृत विनोद पौडेल र रेकर्डिङ अपरेटर रामहरि पोखरेल काठमाडौं फर्किएपछि अबको प्रदेशसभा सञ्चालनमा थप कठिनाइ हुने देखिएको छ । २८ जनाको दरबन्दी रहेको प्रदेशसभा सचिवालयमा सचिव भरतकुमार बुढाथोकीसहित हालसम्म एक शाखा अधिकृत, एकजना कानुन अधिकृत, पाँचजना नायब सुब्बा र २ जना कार्यालय सहयोगीमात्रै रहेका छन् । मर्यादापालकको दरबन्दी भने पूरा भइसकेको छ । प्रदेशसभाको बैठक हुँदा अतिरिक्त मर्यादापालकको समेत व्यवस्था गरिएको छ ।
दरबन्दीबाहेक तीनजना कर्मचारी विभिन्न कार्यालयबाट खटाइएका छन् । नायब सुब्बा रामशरण विडारी, भगवान आचार्य, र कम्प्युटर अपरेटर विद्याचन्द्र शिवहरिले अन्य कार्यालयबाट काजमा आएर काम गरिरहेका छन् ।

रेकर्डिङ अपरेटरको दरबन्दी भएन
प्रदेशसभामा बैठकमा हुने हरेक गतिविधिको रेकर्ड राख्नका लागि रेकर्डिङ अपरेटरको आवश्यकता पर्ने भए पनि त्यसको दरबन्दी नै उल्लेख नगरिएको उपसचिव अधिराज राईले जानकारी दिए । “दरबन्दी राख्दा रेकर्डिङ अपरेटर पनि हुनुपर्ने थियो, हतारमा दरबन्दी कायम गरिएको भएर हो कि के हो रेकर्डिङ अपरेटर पद नै खुलाइएको छैन,” राईले भने । दरबन्दीमा माइक अपरेटर दुईजना उल्लेख भएको तर, माइक अपरेटरले माइकमात्र मिलाउने काम गर्ने उनले बताए । रेकर्डिङ अपरेटर नभए प्रदेशसभा बैठक नै सञ्चालन हुन नसक्ने अवस्था आउने राईको भनाइ छ । संघीय संसद्बाट काजमा आएका रामहरि पोखरेलले हालसम्मको प्रदेशसभा बैठकको रेकर्ड राखेका छन् । उनको काज सोमबार सकिएको छ । अर्को अपरेटर को आउने भन्ने नै निश्चित नभएपछि उनले हालसम्मका रेकर्डसमेत कसैलाई जिम्मा लगाउन पाएनन् ।

माइक सिस्टम नहुँदा शून्य समय तोकिएन
प्रदेशसभाको बैठक चलिरहँदा सदस्यहरूलाई यथास्थानबाट बोल्नका लागि शून्य समय तथा विशेष समय लिएर बोल्ने व्यवस्था गर्नुपर्नेमा माइक सिस्टम नभएकाले प्रभावित भएको छ । सभामुखको कुर्सी र पोडियममा भाडाको माइकले काम चलाइरहेको भए पनि सभासदहरूलाई बोल्नका लागि माइक सिस्टम व्यवस्था भइनसकेको उपसचिव राईले बताए । प्रस्ताव पेश गर्ने बेला विपक्षी दलको नेता, मन्त्रीहरू बोल्दा र कार्यसूचीमा परेका विषय राख्दामात्रै पोडियमको माइक प्रयोग गर्न मिल्ने उनले जानकारी दिए । “शून्य समय वा विशेष समय थोरै हुन्छ पोडियममा गएर बोल्न सम्भव हुँदैन ।” राईले भने, “फ्लोरमा माइकको व्यवस्था गर्न नसकिँदा अहिलेसम्मको बैठकमा शून्य समय र विशेष समय नै राख्न सकिएको छैन ।” स्थायी माइक व्यवस्थापन गर्न आर्थिक समस्या भएकाले सम्भव नभएको उनले बताए ।

केशव समर्पण

प्रतिक्रिया दिनुहोस्