करोडौंको सम्पति : प्रमाण चिर्कटो «

करोडौंको सम्पति : प्रमाण चिर्कटो

उदयपुर सदरमुकाम गाईघाट र कटारी बजार २०३२ सालमा टाउन प्लानिङ गरेर राखिएको बजार हो । यहाँ तत्कालीन जिल्ला पञ्चायतले न्यूनतम ५० रुपैयाँको सानो चिर्कटो काटेर घडेरी वितरण गरेको थियो । जिल्ला पन्चायतले चिर्कटो काटेर घडेरी वितरण गरेको अहिले चारदशक बितिसकेको छ । तर पनि गाईघाट र कटारी बजारका करिब ३ सय कित्ता घडेरीको जग्गाधनी प्रमाणपुर्जा अहिलेसम्म जग्गाधनीले पाउन सकेका छैनन् ।
“तत्कालीन जिल्ला पन्चायतबाट जग्गाको पुर्जी काटेर बसोबास गरेको चारदशक नाघिसक्यो,” गाईघाट बजारका शेख मुहम्मद सरिफले भने, “तर अहिलेसम्म यसको जग्गाधनी प्रमाण पुर्जा पाउन सकिएको छैन ।” गाईघाट बजारको मध्य भाग पर्ने टेप्पो चोकमा रहेको उनको घडेरी बुबा शेख मुहम्मद मुजम्मिल हुुसेनले १ सय १२ रुपैयाँको पुर्जी काटेर लिएका थिए । अहिले उनको घडेरी ५ करोड रुपैयाँको हाराहारीमा बिक्री हुन्छ । जग्गा लिने सेख मुहम्मद मुजम्मिल हुसेनको मृत्यु भएको पनि झण्डै दुई दशक बितिसकेको छ । तर अहिलेसम्म सरिफको परिवारले जग्गाधनी प्रमाण पुर्जा पाउन सकेको छैन ।
हुसेन परिवार जस्तै गाईघाट र कटारी बजारका मुख्य मुख्य भागमा रहेका करिब ३ सय घडेरीको अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा बन्न सकेका छैनन् । तत्कालीन समयमा गाईघाट र कटारी बजार टाउन प्लानिङभित्र करिब १ हजार ५ सय ओटा घडेरी वितरण गरिएको थियो । शहरोन्मुख बजारका बहुमूल्य घडेरीहरूको प्रमाण जिल्ला पञ्चायतले दिएको सानो चिर्कटोबाहेक अरु केही छैन ।

“तत्कालीन जिल्ला पञ्चायतले प्रमाण स्वरुप दिएका चिर्कटाका भरमा जग्गाधनीले जोतभोग गरिरहेका छन्,” कटारी गाविसका तत्कालीन अध्यक्ष रामकुमार राईले भने, “पुर्जा नबनेका जग्गाहरूको स्वामित्व जिल्ला विकास समितिकै नाममा छ ।” दुई दशकसम्म जनप्रतिनिधि नहुँदा धनीपुर्जा बन्न नसके पनि हालको जिल्ला समन्वय समिति गठन भएपछि पनि ती जग्गाधनीले पुर्जा पाउन नसकेको उनले बताए ।
“लामो समयसम्म निर्वाचन हुन नसकेर जिल्ला विकास समिति जनप्रतिनिधिविहीन हुँदा समस्या भोगेका उनीहरूलाई निर्वाचनपछि पुर्जा पाइन्छ भन्ने आशा थियो,” स्थानीय एवं त्रियुगा माध्यमिक विद्यालय गाईघाटका सहायक प्रधानाध्यापक विदुर खड्काले भने, “तर, जनप्रतिनिधि आएपछि पनि धनीपुर्जा कहिले र कसरी पाउने हो कुनै अत्तोपत्तो छैन ।” बाबुको पालामा लिएको जग्गाको स्वामित्व अहिलेसम्म नपाउँदा आर्थिक कारोबार र अन्य संरचना निर्माणमा उनीहरूले समस्या भोगिरहेको खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्