Logo

चन्दननाथ मन्दिरको यज्ञशाला भत्काइयो

जुम्ला– जुम्ला सदरमुकामस्थित कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा निर्माण गरिएको कंक्रिट यज्ञशाला विवाह मण्डप भत्काइएको छ । पुरातात्विक विभागले मापदण्डविपरीत निर्माण भएको ठहर गर्दै हटाउन परिपत्र गरेपछि चन्दननाथ गुठि व्यवस्थापन समितिले मंगलबार डोजर प्रयोग गरी भत्काएको हो । २०७८ सालमा गुठिकै व्यवस्थापन समितिको र चन्दा संकलन गरेको ११ लाख लगानीमा यज्ञशाला निर्माण गरिएको थियो । तत्कालीन अध्यक्ष पूर्ण सिंह कठायतको कार्यकालमा यज्ञशाला निर्माण गरिएको हो ।

तर २०७८ लाल पुस १६ गते कार्यवाहक अध्यक्ष रत्नचन्द्र उपाध्यायको अध्यक्षतमा आधुनिक यज्ञशाला निर्माण गर्ने निर्णय गरिएको थियो । तर २०७९ मंसिर १८ गते पुरातत्व विभागले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको तथा राष्ट्रिय सम्पदा सूचीमा रहेको चन्दननाथ मन्दिर परिसरमा बनेको यज्ञशाला भनिएको आधुनिक नयाँ संरचनाले चन्दननाथको मौलिक स्वरुपलाई असर पारेकाले उक्त संरचना तत्काल हटाउन भन्दै विभागको ०७९ मंसिर १६ को निर्णयनुसार पत्र पठाएको थियो । त्यतिबेला पनि सुनुवाइ हुन सकेन ।

पुन: पुरातत्व विभागले ०७९ मंसिरमै हटाउन पत्राचार गरिए पनि हालसम्म यथावत नै रहेको जानकारी आएकाले यज्ञशालाका नाममा मन्दिर परिसरमा निर्माण गरिएको आधुनिक संरचना हटाउन २०८१ भदौ २६ गते दोस्रो पटक गुठि समिति, प्रशासन, प्रहरी र नगरपालिकालाई बोधार्थ गरेर पत्राचार गरेको देखिन्छ । दुई पटकको पचात्रारपछि गुठि व्यवस्थापन समितिको मंसिर ५ गते बसेको बैठकले मंसिर ११ गते भत्काउने निर्णय भएअनुसार मंगलबार आधुनिक यज्ञशाला भत्काइएको गुठि व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष अमरबहादुर थापाले बताए ।

पुरातत्व विभागको निर्देशनअनुसार हामीले भत्काएका हौं । यसमा पुरानो समितिसँंग हाम्रो कुनै पूर्वाग्रह छैन । उनले भने, ‘मन्दिरको मौलिक स्वरुपमै असर परेको कुरा विभागले ठहर गरेर भत्काउन भनेपछि हामीले भत्काएका छौ । विभागले निर्देशन गरेको खण्डमा मन्दिर परिसरका सबै आधुनिक संरचना हटाउन समितिले कदम चाल्छ । यो सुरुवातमात्र हो ।’ चाडै नै मन्दिर परिसरमा विभागले भनेकै स्थानमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुरुपको मौलिक संस्कृति झल्किने खालको संरचना बनाइने अध्यक्ष थापाले उल्लेख गरे ।

यज्ञशाला भत्काएपछि तत्कालीन चन्दननाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले असन्तुष्टि व्यक्त गरेका छन् । विगतमा विवाह मण्डपको निकै समस्या र आवश्यकतालाई मध्यनजर गरी आफ्नै लगानीमा निर्माण गरेका हांै । उनी भन्छन्, ‘आधुनिक संरचनाका नाममा पूर्वाग्राही रूपमा पुरानो समितिले बनाएको संरचना भत्काउन थालिएको छ । यो सरासर गलत छ । मन्दिर छेउमै आकाश छुने पक्की संरचना बनेको पुरातत्व विभागले नदेख्ने तर यज्ञशाला मात्रै भत्काउने विभागले अन्याय गरेको छ ।’

गुठिको आठ लाख र तीन लाख चन्दा संकलन गरी ११ लाखमा निर्माण भएको हो । हामीलाई हाम्रो पैसा विभागले फिर्ता गर्नुपर्छ । अन्यथा मुद्दा प्रक्रियामा अघि बढ्नेसमेत निवर्तमान अध्यक्ष कठायतले चेतावनी दिए । चन्दननाथ मन्दिर गुठिको जग्गाका नाममा भ्रष्टचार मौलाएको अवस्थामा सुतिरहेको वर्तमान समिति र प्रशासनले बनेको संरचना भत्काएर गलत गरेको उनको आरोप छ ।

यता नागरिक समाजका अध्यक्ष राजबहादुर महतले अपरिपक्क निर्णय र हचुवाको भरमा निर्माण भएकोले हाल संरचना भत्काउनु परेको बताए । अब विभागले मन्दिर आसपासका सबै कंक्रिट संचरना हटाउन कदम चाल्नुपर्ने उनको भनाइ छ । पहिलाका समितिको कमजोरीले पैसा पनि रहेन, संरचना पनि रहेन । अब मन्दिरमा संचरना बनाउँदा विशेष ध्यान उनको सुझाब छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले गुठिको विषय प्रशासनको क्षेत्राधिकारभित्र नपर्ने र विभागको निर्णय तथा निर्देशननुसार गुठिले भत्काएको बताए । मन्दिरको संरक्षण सुरक्षामा प्रशासनको भूमिका भए पनि संरचना बनाउने भत्काउनेसँग कुनै संलग्नता नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्