Logo

आठ वर्षपछि मध्यपहाडी लोकमार्ग कालोपत्रे

पर्वत– मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ सदरमुकाम खण्डको काम धमाधम भइरहेको छ । बागलुङ सदरमुकाम खण्डअन्तर्गत अहिले अछेतेमा धमाधम कालोपत्रे भइरहेको हो । १३ किमि लामो सडक दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि आठ वर्षमा अन्तिम चरणमा पुगेको हो ।

अहिले पेटी ठेकेदारले निर्माणलाई गति दिएका छन् । १३ किमिमध्ये अहिले १० किमि सडक कालोपत्रे भइसकेको छ । चौथो पटक म्याद थपेपछि निर्माणले अन्तिम रूप लिएको छ । उपल्लाचौरदेखि अछेते हुँदै बयलडाँडासम्मको १३ किमिमा ठेक्का रद्द गर्ने तयारी भए पनि डेढ वर्षअघि स्थानीय पेटी ठेकेदारलाई निर्माणको जिम्मेवारी दिने सहमतिअनुसार कामअघि बढेको हो ।

अहिले बागलुङ बजारको उपल्लाचौरदेखि अछेतेसम्मको सडक पूरै सम्पन्न भएको र अछेते बजारदेखि बिहुँको बयलडाडाको ३ किमिमा कालोपत्रे भइरहेको र अन्य ३ किमिमा ग्राभेलको काम भइरहेको डेढ वर्षदेखि उक्त सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी राजु गौतमले जानकारी दिए ।

निर्माण व्यवसायीले अलपत्र पारेर छोडेपछि ठेक्का रद्द गर्ने तयारी आयोजनाले गरेपछि स्थानीय समुदायले सडकसमेत अवरुद्ध गरेका थिए । सडक अलपत्र परेपछि स्थानीय निर्माण व्यवसायीलाई सडक निर्माणको जिम्मा दिने गरी जिल्ला प्रशासनमा सहमति गरेपछि सडक निर्माणको जिम्मा राजु गौतमले पाएका थिए । सहायक ठेकेदारको जिम्मा पाएपछि सडक कालोपत्रले गति लिएर अहिले अन्तिम रुप लिएको छ ।

‘सिङ्गल कोट कालोपत्रे १० किमिमा भएको छ, कालोपत्रे सम्पन्न ६ किमिमा भयो, अझै तीन किमि सडकमा कालोपत्रेको तयारी भइरहेको छ, पुस मसान्तभित्र कालोपत्रे सम्पन्न गर्ने योजना छ,’ निर्माण व्यवसायी गौतमले भने, ‘सम्झौताको साढे पाँच वर्ष कालोपत्रे नभएको सडक आफूले जिम्मा लिएपछि डेढ वर्षमै सक्न थालेको छु, स्थानीयको साथ र सहयोगले कालोपत्रे गर्न सहज भएको हो ।’

लोकमार्गको उपल्लो खण्ड बिहुँदेखि घोडाबाँधेको १२ किमि सडकको निर्माण व्यवसायीको ठेक्का सम्झौता गरेको आठ वर्षमा ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायी काममा आएको छ । लाकमार्गको बागलुङ खण्डमा १४२ किमि सडक पर्ने भए पनि सदरमुकाम खण्डबाहेक अन्य सडक चार वर्षअघि नै कालोपत्रे सम्पन्न भएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बिुहँदेखि घोडाबाँधेसम्मको १२ किमि सडक पाँच पटकसम्म म्याद थप गर्दा समेत काम नभएपछि गत आर्थिक वर्षमै ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायी काममा आएको छ । उपल्लो खण्डमा अहिले पूर्वाधारको काम थालिएको छ ।

यस्तै उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेबीसँंग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । निर्माण व्यवसायी पटक पटक सडक अलपत्र पारेर सम्पर्कविहीन भए पनि स्थानीय पेटी ठेकेदारमार्फत् काम गर्दा प्रगति भएको हो । चौथो पटक म्याद थप गर्दा बल्ल कालोपत्रे अन्तिम चरणमा पुगेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्