Logo

धनगढी–दिपायल–चैनपुर–उरै सडक पुलमा बजेट अभाव

धनगढी– दिपायल द्रुत मार्गको रूपमा सुरु भएको धनगढी–दिपायल–चैनपुर–उरै सडकको पुल निर्माणको ठेक्कामा बजेट अभाव भएको छ ।

धनगढी–दिपायल–चैनपुर–उरै सडक आयोजना कार्यालयले तीन वर्ष पहिले लगाएको आठवटा पुल निर्माणको ठेक्कामा बजेट अभावको कारण पुल निर्माणले तीव्रता पाउन सकेको छैन । २०७८ माघमा ६ वटा र २०७९ जेठमा दुईवटा गरी आठ वटा पुल निर्माणका लागि आयोजना कार्यालयले २८ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । तर ती पुलमा सुरुदेखि नै बजेट अभाव भएपछि निर्माण कार्य समयमा सकिएको छैन ।

सरकारले दायित्व सिर्जना भएको योजनामा पर्याप्त बजेट विनियोजन नगरेको हुनाले समयमा काम गर्न नसकिएको मित्र बिल्डर्स प्रालिका सञ्चालक मोहित चन्दले बताए । ‘करोडौंका ठेक्कामा सरकारले ४०/५० लाखका दरले बजेट विनियोजन गरेपछि निर्माण व्यवसायीले उधारोमा काम गर्न सक्दैन,’ उनले भने, ‘सरकारले विनियोजन गरेको बजेट जत्तिको काम हामीले गरिरहेकै छौं ।’

नेपाल सरकारले यी आठवटै पुलका लागि गत आर्थिक वर्षमा ४०/४० लाख दरले बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा ८०/८० लाखका दरले बजेट विनियोजन गरेको छ । आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले बजेट अभावको कारण गत आर्थिक वर्ष मसान्तसम्म निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न बाँकी रहेको बताए ।

‘निर्माण व्यवसायीले गत वर्ष गरेको कामको भुक्तानी यस वर्षको आएको ८० लाख बजेट भुक्तानी दिइसक्दा पनि प्रत्येक पुलमा २५/३० लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ,’ उनले भने, ‘भुक्तानी नपाएको कारण निर्माण व्यवसायीले सजिलोसंँग काम गरिरहेका छैनन् । जसले गर्दा पुल निर्माणका ठेक्कामा गतिलो प्रगति पनि भइरहेको छैन ।’

सो सडकअन्तर्गत सलेनामा सालाकोट पुल निर्माण गर्न गल्वा–जगदम्बा–सुर्मा सरोबर जेभीसंँग तीन करोड ५१ लाख रुपैयाँमा सम्झौता भएको थियो । जेभीले असार मसान्तसम्म ९० प्रतिशत काम सक्याएको छ । सो कम्पनीलाई चालु आर्थिक वर्षमा विनियोजन गरेको ८० लाख भुक्तानी गरिसक्दा समेत असारसम्मको कामको २६ लाख २४ हजार रुपैयाँ दिन बाँकी रहेको इन्जिनियर रैखोलाले बताए ।

उनका अनुसार चौकीगडा खोलामा असार मसान्तसम्म काम गरेको मित्र बिल्डर्सलाई १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मित्र बिल्डर्स र आयोजना कार्यालयबीच चार करोड १६ लाख २२ हजार रुपैयाँमा सम्झौता भएको थियो । मित्र बिल्डर्सले सो पुलको ६० प्रतिशत काम गरेको छ ।

मित्र बिल्डर्सका सञ्चालक चन्दले पुलको संरचनागत काम सकिएको बताए । उनले पुलको सेक्युरिटी बाल बनाएर माटो फिलिङ गरी सडक सञ्चालन गर्नमात्रै बाँकी रहेको बताए । तीनवटा पुलको ठेक्का र दुई पुलको पेटी ठेक्का लिएको मित्र बिल्डर्सले मटेलीखोली पुलमा ३०, हाटखोली पुलमा ३५, चेप्टे खोला पुलमा ३० प्रतिशत काम भएको छ भने ग्वासी खोलामा काम सुरु नभएको आयोजना कार्यालयले जनाएको छ ।

मटेली खोला पुल निर्माण गर्नका लागि दुई करोड ८८ लाख, चेप्टेखोला पुल निर्माण गर्नको लागि दुई करोड ६२ लाख ९७ हजार रुपैयाँमा मित्र बिल्डर्ससँंग सम्झौता भएको थियो । ग्वासी खोलामा तीन करोड ९८ लाख ७७ हजार ५५८ र हाटखोली खोलामा चार करोड ५९ लाख ९८ हजार रुपैयाँमा पुल निर्माण गर्न गुल्लीभर–कुटुम्बा–भुवनेश्वरी जेभीसंँग सम्झौतामा भएकोमा मित्र बिल्डर्सले नै काम गरिरहेको छ ।

यसैगरी, जमुनाबासस्थित कालागाडमा पुल निर्माण गर्नका लागि टिडिआर कन्स्ट्रक्सन प्रालिसँंग तीन करोड ५८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको थियो । सो पुलको काम सुरु नै हुन सकेको छैन भने गडशेरास्थित नकसराडी गाडमा पुल निर्माण गर्नका लागि मालिका–सनीदेव–जेबी जेभीसँंग तीन करोड ३८ ७१ हजार रुपैयाँमा सम्झौता भएकोमा ३० प्रतिशत काम भएको छ । आठमध्ये ६ वटा पुलको ठेक्कामा पनि ५/६ लाख रुपैयाँका दरले भुक्तानी दिन बाँकी रहेको इन्जिनियर रैखोलाले बताए ।

धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि तीन खण्डमा ठेक्का लगाइएको छ । सडक निर्माणमा चालु आर्थिक वर्षमा पर्याप्त बजेट रहेको आयोजना कायार्ललयले जनाएको छ । पुल निर्माण नभएकोले सडक बाह्रै महिना यातायात सञ्चालन हुन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्