Logo

कृषकले बेचेनन् खाद्य कम्पनीलाई धान

दाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद गर्ने निर्णय गरे पनि पाउन सकेको छैन । कृषकहरुले खाद्यलाई धान नदिएका हुन् ।

कृषकहरु धान बिक्री गर्न नआएको कम्पनीका शाखा प्रमुख तिलक सुनारले जानकारी दिए । धान खरिदका लागि कम्पनी विभिन्न स्थानसम्म पनि पुगेको थियो । हालसम्म खाद्यले गढवा, राजपुर र तुलसीपुरमा गरेर १ हजार ६ सय ३२ क्विन्टलमात्र धान खरिद गरेको उनले जानकारी दिए । यस वर्ष जिल्लामा खाद्यले ८ हजार क्विन्टल धान गरिद गर्ने लक्ष्य लिएको छ । ‘धान बिक्री गर्न आएमा हामीले खरिद गरिरहेका छौं, तर किसान आएका छैनन्,’ प्रमुख सुनारले भने । सरकारले तोकेको मूल्यमा खाद्यले धान खरिद गरेको हो ।

जिल्लामा गएको कातिक २१ बाट धान खरिद सुरु गरिएको हो । कोटा पूरा नहुँदासम्म खरिद गरिने भए पनि कृषक नआएको प्रमुख सुनारले बताए । धान खरिदका लागि स्थानीय तहसँग समेत समन्वय गरिएको थियो । खाद्यले गढवा, राजपुर, लमही, राप्ती, घोराही र तुलसीपुरका खरिद केन्द्रमार्फत् धान गरिद गर्ने योजना बनाएको थियो । खाद्यले एक कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने बताएको छ ।

धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण २ प्रतिशतभन्दा कम, टुक्रेको–बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु पर्नेछ । सबै धान एकनासको, नभिजेको, सफा, किरारहित, ढुसी नपरेको हुनुपर्ने प्रमुख सुनारले बताए । केही वर्षअघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष खरिद गर्ने निर्णय गरेको थियो । यस वर्ष धान नपाएपछि आउँदो वर्ष के गर्ने भन्ने अन्योल भएको छ ।

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि खरिद सुरु गरिएको थियो । केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्नका लागि परिपत्र गरेको छ । असोज २३ गते परिपत्र गरेर धान खरिद गर्ने भनिएको थियो । कम्पनीले सरकारले तोकेको मूल्यमा कृषकबाट धान किन्ने गरेको छ । खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न कृषक बाध्य हुँदै आएका छन् । कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरू बताउँछन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ निर्धारण गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५ सय ८० रुपैयाँ तोक्ने निर्णय भएको छ । यस वर्ष दाङमा ३७ हजार २२५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार गत वर्ष ३५ हजार ३८४ हेक्टरमा धान रोपाइँ भएको थियो । तुलसीपुर उपमहानगरपालिकामा आठ हजार ३१५, घोराही उपमहानगरपालिकामा सात हजार १७३, दंगीशरण गाउँपालिकामा पाँच हजार ७६८, राप्ती गाउँपालिकामा तीन हजार ५७६, लमही नगरपालिकामा तीन हजार ४६०, बबई गाउँपालिकामा दुई हजार चार सय सात हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

यसैगरी गढवा गाउँपालिकामा दुई हजार ११५, शान्तिनगर गाउँपालिकामा एक हजार ८७०, राजपुर गाउँपालिकामा एक हजार ४९९ र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । दाङमा धानखेती हुने ३९ हजार चार सय हेक्टर भए पनि तरकारी खेती पनि हुने अवस्थाले धानखेती हुने क्षेत्रफललाई ३७ हजार २२५ हेक्टर मानिएको छ । रोपाइँको क्षेत्रफल गत वर्षभन्दा बढेकोले त्यसैअनुसार मौसम अनुकूल भएमा तथा सिँचाइ, मललगायतको व्यवस्थापन राम्रो भएमा धान उत्पादन बढेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्