किसानलाई सहयोग व्यवसायीकरण गर्ने रणनीति
विकासशील देशमा लाखौं मानिसको जीविकोपार्जनको प्राथमिक स्रोत भनेको कृषिक्षेत्र हो । कृषिक्षेत्र नेपालको विकासका लागि पनि मेरुदण्ड हो । यद्यपि यो क्षेत्र सीमित स्रोत, जलवायु परिवर्तन र बजार अस्थिरताजस्ता चुनौतीहरूबाट ग्रस्त छ । यस क्षेत्रमा संलग्न गरिब तथा साना किसानले अत्यन्त महत्वपूर्ण तर प्रायः कम आकलन गरिने भूमिका खेलिरहेका छन् । उनीहरूको सीप, मेहनत र खेती गर्ने कलाले उनीहरूको जीविकोपार्जन मात्र होइन, कृषिक्षेत्रको समग्र वृद्धि र सुधारमा पनि योगदान पुर्याएको छ । यस लेखमा गरिब किसानले नवप्रवर्तन, स्रोतहरूको अनुकूलन र सामुदायिक सहयोगमार्फत कसरी कृषि उत्पादकत्व र स्थायित्व बढाएका छन् भन्ने चर्चा गरिएको छ ।
गरिब तथा साना किसानको प्रमुख शक्ति उनीहरूको परम्परागत ज्ञान र सीप हो । उनीहरूले पुस्तौँदेखि उपयोग गर्दै आएको खेती प्रणालीले स्थानीय प्राकृतिक स्रोतको उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने र वातावरणअनुकूल समाधान दिने काम गरेको छ । गरिब तथा साना किसानले अपनाउँदै आएको अन्तरबाली प्रणाली, जुन एउटै जमिनमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रक्रिया हो, यसले माटोको पोषण सुधार गर्ने, कीरा नियन्त्रणमा सहयोग पुर्याउने र बाली विफलताको जोखिम कम गर्ने काम गर्छ । उदाहरणका लागि, मकैसँगै भटमास लगाउँदा माटोमा नाइट्रोजनको मात्रामा सुधार हुन्छ । त्यसैगरी मिश्रित खेतीअन्तर्गत गरिब तथा साना किसानले बालीनाली, पशुपालन र अन्य सहायक गतिविधिलाई एकैसाथ सञ्चालन गर्छन् । यो प्रणालीले आम्दानीका स्रोत विविधीकरण गर्ने र जलवायु जोखिम न्यून गर्ने काम गर्छ ।
त्यसैगरी कम्पोस्ट मल र स्थानीय जैविक स्रोतहरूको प्रयोगले गरिब तथा साना किसानलाई लागत घटाउन र उत्पादन बढाउन मद्दत गरेको छ । जैविक खेतीले माटोको दीर्घकालीन उर्वराशक्ति कायम राख्छ । गरिब तथा साना किसानले भौगोलिक क्षेत्र, माटोको प्रकृति र स्थानीय मौसमलाई ध्यानमा राखेर बाली छनोट गर्छन् । उदाहरणका लागि नेपालका उच्च पहाडी क्षेत्रका किसानले स्थानीय किसिमका आलु र मकै लगाएर जैविक विविधता कायम राखेका छन् ।
गरिब तथा साना किसानले न्यूनतम स्रोतहरूको अधिकतम उपयोग गर्न उत्कृष्ट क्षमताको प्रदर्शन गरेका छन् । सिँचाइको अभाव हुँदा पनि गरिब किसानले पानीको कुशल व्यवस्थापन गर्न साना बाँध, खाडल र पानी सञ्चित गर्ने अन्य प्रविधिको विकास गरेका छन् । पहाडी क्षेत्रमा गरा बनाएर खेती गर्ने अभ्यासले भूक्षय रोक्न र पानीको अधिकतम उपयोग गर्न सहयोग पुर्याएको छ । त्यस्तै पशुपालनबाट प्राप्त गोबर र कम्पोस्टलाई मलका रूपमा प्रयोग गरी गरिब किसानले रासायनिक मलमा निर्भरता कम गरेका छन् ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले विभिन्न उचाइ र जलवायुमा अनुकूलित विभिन्न प्रकारका आलुको खेती गर्दै जैविक विविधता कायम गरेका छन् । यस्ता अभ्यासले केवल जैविक विविधता संरक्षण गर्दैन, कीरा र रोगहरूको विरुद्धमा पनि प्राकृतिक रूपको विकल्प प्रदान गर्छ । यी सफलताका कथाले गरिब किसानले सीमित स्रोतलाई कसरी कृषि उत्पादन वृद्धि गर्न उपयोग गरेका छन् भन्ने देखाउँछ ।
स्रोतको अनुकूलन गरिब तथा साना किसानको योगदानको विशेषता हो । उन्नत कृषि सामग्री र उपकरणहरूको पहुँच नभएका किसानले माटो, पानी र बीउजस्ता प्राकृतिक स्रोतहरूको उपयोगलाई अधिकतम उपयोग गर्न आफ्नै किसिमको व्यवस्थापन शैली अपनाउँछन् । पानीको संरक्षण प्रविधि जस्तै— साना पोखरीहरूमा आकाशे पानी जम्मा गर्ने, शुष्क क्षेत्रहरूमा पानीको कुशल प्रयोग सुनिश्चित गर्ने तथा पानी कम चाहिने बाली लगाउने प्रविधिहरू अपनाउँदै आएका छन् ।
नेपालको पहाडी र हिमाली क्षेत्रमा भिरालो जमिनमा स–साना गराहरू बनाएर गरिएको खेतीले माटोको भूक्षय रोक्दै जमिनलाई खेतीयोग्य बनाएको छ । साना किसानले आफ्नो श्रम र स्रोतको अधिकतम उपयोग गर्न श्रम र स्रोत साटासाट गर्ने अर्थात् पर्म प्रणाली अपनाउँछन्, जुन गरिब तथा साना किसानका लागि प्रभावकारी रणनीति हो । यस्ता सामुदायिक अभ्यासले लागत घटाउँछ र उत्पादकत्व बढाउँछ । गाउँमा बनेका साना किसान सहकारी संस्थाहरूले गरिब तथा साना किसानलाई सामूहिक रूपमा मल, बीउ र ऋण प्राप्त गर्न मद्दत गरेका छन्, जसले उत्पादनमा महत्वपूर्ण सुधार ल्याएको छ ।
पछिल्लो समयमा कृषिक्षेत्रमा प्रयोगमा आउन थालेको डिजिटल प्लेटफर्मको प्रयोगले गरिब तथा साना किसानलाई दलालको पहुँचबाट बच्न र प्रतिस्पर्धी मूल्यमा आफ्नो उत्पादन बेच्न सक्षम बनाएको छ । यस्ता नवप्रवर्तनहरूले परम्परागत खेती र आधुनिक बजार आवश्यकताबीचको खाडललाई पूर्ति गर्छन्, जसले सीमित स्रोत भएका किसानलाई खेती गर्न सघाउँछ । कृषिक्षेत्रमा गरिब समुदायका महिलाले विशेष भूमिका खेलेका छन् । उनीहरूले रोपाइँ र कटाइदेखि परिवारको खाद्य सुरक्षा व्यवस्थापनसम्म महत्वपूर्ण योगदान गर्छन् । कृषिक्षेत्रमा महिलाको सहभागिता प्रोत्साहित गर्नुले केवल उत्पादन बढाउँदैन, विकासका लागि समान अवसर पनि सुनिश्चित गर्छ । महिलाको सहभागिताले स्रोत व्यवस्थापन र उत्पादनमा सुधार गर्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
गरिब तथा साना किसान प्रायः जलवायु परिवर्तनको सबैभन्दा धेरै जोखिममा हुन्छन् । तथापि उनीहरूको अनुकूलन रणनीतिले यसको प्रभाव कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कृषि वन प्रणाली जसमा रुख, बालीनाली र पशुपालनलाई संयोजन गरिन्छ, यसले माटोको उर्वराशक्ति सुधार र आयस्रोत विविधीकरणजस्ता फाइदाहरू प्रदान गर्छ । त्यसैगरी मिश्रित बाली प्रणालीले प्रतिकूल मौसमका समयमा बाली विफलताको जोखिम कम गर्छ ।
गाउँघरमा स्थापित बचत तथा ऋण सहकारीहरू गरिब किसानका लागि एउटा महत्वपूर्ण सशक्तिकरणको माध्यम बनेका छन् । तिनीहरूले मल, बीउ, उपकरण र ससाना पूर्वाधारमा लगानी गर्न सक्षम बनाएको छ । कृषि समूह र वित्तीय संस्थाहरूले किसानलाई बिनाधितो थोरै ऋण उपलब्ध गराउँदै आएका छन् । सहकारी संस्थाहरूले स्रोत साझा गर्दै र सौदाबाजी गर्ने शक्ति सुधार्दै महत्वपूर्ण भूमिका खेलेका छन् । उदाहरणका लागि दुग्ध सहकारी संस्थाहरूले साना किसानलाई बजारसम्मको पहुँच प्रदान गर्दै आय सुधार गर्न मद्दत गरेका छन् । गैरसरकारी संस्थाहरू र सरकारी कार्यक्रमहरूसँगको साझेदारीले यी प्रयासलाई प्राविधिक सहयोग र बजार पहुँच प्रदान गरेर अझ बढी प्रभावकारी बनाएको छ ।
जाम, अचार, मसला, पीठो आदि प्रशोधन गतिविधिहरूमा साना तथा गरिब किसान संलग्न छन्, जसले कृषि उत्पादनको सानो स्तरमा प्रशोधन र मूल्य अभिवृद्धिमा सघाएको छ । यसले केवल आय बढाएको छैन, फसल भित्र्याएपछि हुने क्षति (अर्थात् पोस्ट–हार्भेस्ट क्षति) पनि कम गर्छ । साना तथा गरिब किसान स्थानीय बजारहरूमा उपभोक्तालाई प्रत्यक्ष बिक्रीमा पनि संग्लग्न हुन्छन्, जसले नाफाको ठूलो हिस्सा उनीहरूसँगै राख्न मद्दत गर्छ र सामुदायिक अर्थतन्त्रलाई बलियो बनाउँछ ।
साना तथा गरिब किसानको योगदान महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूले भूमि स्वामित्व, शिक्षा र आधुनिक प्रविधिको सीमित पहुँचजस्ता चुनौतीहरूको सामना गर्नुपरेको छ । जमिन स्वामित्वको समस्याले दीर्घकालीन सुधारमा लगानी गर्न उनीहरूको क्षमतालाई सीमित बनाएको छ । त्यसैगरी तिनीहरूले पूर्वाधार अभाव (जस्तै— सडक, भण्डारण सुविधा, बजार पहुँच आदि) र कटाइपछि हुने क्षति उच्च रूपमा बेहोर्नुपरेको छ । यी संरचनात्मक अवरोधहरू सम्बोधन गर्न नीति निर्माता, विकास साझेदार र निजी क्षेत्रका खेलाडीहरूको समन्वयात्मक प्रयास आवश्यक छ ।
गरिब किसानले सीमित स्रोतका बाबजुद कृषिक्षेत्रमा परिवर्तनकारी योगदान पुर्याएका छन् । उनीहरूको योगदानलाई अझ बढी प्रभावकारी बनाउन संरचनात्मक सुधार र समावेशी नीति निर्माण आवश्यक छ । गरिब किसानको सशक्तीकरणले केवल उनीहरूको जीवनस्तर सुधार गर्न सक्दैन, यसले व्यापक कृषि विकासलाई पनि गति दिन्छ । गरिब तथा साना किसानको पूर्ण क्षमताको उपयोग गर्न सरकार र सहयोगी संस्थाहरूले सडक, सिँचाइ प्रणाली र भण्डारण सुविधाजस्ता ग्रामीण पूर्वाधारमा लगानी गर्नुपर्छ । साना किसानको आवश्यकताअनुसार शिक्षादेखि तालिम कार्यक्रमसम्म पहुँच प्रदान गर्न आवश्यक छ ।
सार्वजनिक–निजी–साझेदारीले नवीन समाधान गर्न र समावेशी कृषि विकासका लागि आवश्यक सहयोग प्रदान गर्न सक्छ । यसैगरी नीति निर्माणमा भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्ने, कृषि कर्जामा पहुँच सुनिश्चित गर्ने र वातावरणीय रूपमा दिगो अभ्यासलाई प्रोत्साहन गर्ने कुरामा जोड दिनुपर्छ । यो एक मात्र तरिका हो, जसले गरिब किसानको महत्वपूर्ण योगदानलाई पहिचान र पुरस्कृत गर्न सक्छ ।