नबिल एसएसईले मनायो तेस्रो वार्षिकात्सव
काठमाडौं– नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।
बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढीले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ। यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
स्थापनाकालदेखि हालसम्म नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियु) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।
सहभागीले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ ।
नबिल एसएसई अन्तर्गत हालै सुरू भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् । तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ ।
यस कोर्सका सहभागीमध्ये ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् । नबिल एसएसईले सामाजिक उद्यमीलाई महत्त्वपकूर्ण सामाजिक समस्या समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको बताइएको छ ।