लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी
भैरहवा– बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा यही मंसिर २० देखि लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो ।
महोत्सवको यो नवौ संस्करण हो । ‘लुम्बिनी महोत्सव आर्थिक क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौं’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘महोत्सवमा व्यापारीक कार्यमात्र नभई उद्यमकला सिक्न चाहनेका लागि एक प्लेटफर्म हुने गरी आयोजना हुँदैछ र आफ्ना उत्पादन बिक्री वितरणको थलो मात्र नभई ब्राण्डिङ र बजारीकरण गर्ने अवसरसमेत हुनेछ ।
महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानबीचको तुलनात्मक मूल्यबारे जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्ने विश्वास लिइएको उनले जनाए ।
संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापारमा संलग्न भएकालाई यो मेला शिक्षा हो । जो व्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले व्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै विशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएका बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य महोत्सवको रहेको संघका सचिवसमेत रहेका प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए ।
‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानको प्रत्यक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रियस्तरका उद्योगका उत्पादनको विशेष प्रस्तुतीकरण हुने र महोत्सवमा मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रवर्द्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ ।
पुस १ गतेसम्म चल्ने महोत्सवमा सीमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था छ ।