भएन पर्यटकीय गन्तव्यको प्रवर्द्धन
बुटवल– बुटवल र आसपासका पर्यटकीय गन्तव्यको समुचित विकास, प्रवर्द्धन हुन सकेको छैन । पर्यटकीय क्षेत्रकोे प्रवर्द्धन हुन नसक्दा त्यसको अस्तित्व नै संकटमा पर्न सक्ने सम्भावना देखिएको हो ।
बुटवल उद्योग वाणिज्य संघअन्तर्गत गठित टुर एण्ड ट्राभल वस्तुगत समिति र होटल तथा रेष्टुरेन्ट वस्तुगत समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पर्यटकीय स्थलहरूको विकास र प्रचार–प्रसार गर्न सकेमा बुटवल राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बुटवलका पर्यटकीय स्थलहरूको प्रवर्द्धन, विकास तथा प्रचार–प्रसार आवश्यक भएकोमा जोड दिए । बुटवललाई अरु पर्यटकीय स्थलहरूको कनेक्टिभिटी मिलाउन सकेमा यो क्षेत्र उपयुक्त गन्तव्य स्थल बन्ने विश्वास व्यक्त गरे । ‘अब पर्यटकीय स्थलहरूको कनेक्टिभिटी र एकीकृत संरचना निर्माणमा जोड दिनुपर्छ, ‘उनले भने,‘सहज यातायात मिलाउन सके पर्यटकीय गतिविधि बढ्ने छ ।’
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठले पर्यटन विकाससँग सम्बन्धित विषयमा धेरै कार्यक्रम भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटकीय गन्तव्यको विकास हुन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रको विकासले यस क्षेत्रको होटल व्यवसायसँगै जोडिएका अरु पेसा व्यवसायमा समेत ठूलो योगदान पुग्ने भनाइ राखे ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसाय चलायमान हुँदा होटल रेष्टुरेन्ट मात्रै नभएर अन्य पेसा र व्यवसाय समेत चलायमान हुने बताए । यस क्षेत्रको आर्थिक समुन्नतीको लागि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने भन्दै उनले त्यसका लागि यहाँका सबै पेसा र व्यवसायीको एकता हुनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका सहकारी तथा उद्योग शाखा प्रमुख गुणाखर खनालले यस क्षेत्रको पर्यटकीय विकासको लागि स्थानीय सरकार मात्रै नभएर संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक भएको बताए । उनले तीनै तहको सहकार्यमा पर्यटकीय क्षेत्रको विकास, कनेक्टिभिटीलगायतका विकास योजना बनाएर काम गर्नुपर्ने बताए ।
मणिमुकुन्द सेन उद्यान पार्कका अध्यक्ष माधव नेपालले भएका नयाँ पुस्ताको मागअनुसारका पर्यटकीय क्षेत्रको विकास योजना बनाउनु पर्ने धारणा राखे । प्लानेटोरियम, ट्रि रेष्टुरेन्ट एण्ड लज, ग्लास ब्रिज, हिल स्टेशनमा बुटवलबाट देखिने र पर्यटकलाई आकर्षित गर्नेगरी विशिष्ट खालका मूर्ति निर्माण गर्न सकिने उनको भनाइ छ ।
संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले यस क्षेत्रको विकासको लागि पर्यटन विकास अपरिहार्य रहेको बताउँदै पर्यटन विकासका लागि मेलामा मात्रै नभएर त्यसपछिका दिनमा पनि संघले पहल र पैरवी गर्ने जानकारी दिए । ऐतिहासिक बटौली बजार, अंग्रेजलाई पराजित गरेको जितगढी, मणिमुकुन्द सेन उद्यान बुटवलका मुख्य पर्यटकीय गन्तव्य हुन् ।
त्यस्तै मानव सभ्यताको उद्गमस्थल रामापिथेकसको अस्थिपञ्जर भेटिएको स्थान (रामापिथेकस पार्क), सिद्धबाबा धाम, निलकण्ठ बाबा धाम, मुक्तिनाथको झल्को दिने मुक्तिनाथ धाम, भैरवस्थान मन्दिरलगायतका मठमन्दिरहरू पनि बुटवल र आसपासमा रहेका छन् । प्राकृतिक रूपमा हिलपार्क, पिस पार्क, शंकनगर वन बिहार, नवनिर्मित सिद्धार्थ केवलकार र लुम्बिनी केवलकारलगायतका पर्यटकीय गन्तव्य रहेका छन् ।