कोभिडपछि कालिगण्डकीमा र्याफ्टिङ गर्ने पर्यटक यस वर्ष उच्च
पर्वत– चिसो बढेसँगै कालिगण्डकी नदीमा सञ्चालित (र्याफ्टिङ) जलयात्रा बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै अंग्रेजी महिना सेप्टेम्बर मध्यदेखि सुरु भएको र्याफ्टिङ आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको सिजनमा र्याफ्टिङ बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका संचालक होम पुनले जानकारी दिए ।
पहिलो सिजन सेप्टेम्वर मध्येदेखि नोभेम्वर अन्तिम सातासम्म संचालन गरिएको हो । विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन गरिएको पुनले बताए । नदिमा पानी अत्याधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को सिजनको जलयात्रा (र्याफ्टिङ) सुरु हुने उनको भनाइ छ ।
छोटो र पारिवारिक जलयात्राका लागि कालिगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक कोभिड संक्रमणपछिकै यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मीले जानकारी दिए । उनका अनुसार लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीमा भन्दा कालिगण्डकीलाई नै रोज्ने गर्दछन् ।
र्याफ्टिङका लागि कालिगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको समेत आकर्षण पनि बढ्दै गएको उनले बताए । कालिगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढिले जलयात्रा गरेको रेग्मीले बताए । दैनिक दुई/तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछि यस वर्ष उच्च मात्रामा बढेको रेग्मीको भनाइ छ ।
‘यो नदीलाई रोजेर पर्यटक बढी नै आउने गरेका छन्,’ उनले भने, ‘कालिगण्डकीलाई र्याफ्टिङको पहिलो गन्तब्य बन्दै गएको छ ।’ पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालिगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी रेग्मीले बताए । पर्वतको कुश्मा नगरपालिका–१ पाङ स्थित नयाँपुल र कुश्मा नगरपालिका–५ गोपाङ्गघाट देखिबाट सुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालिगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ ।
तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । कालिगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे्रलिया, रसियन, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालिगण्डकी नदी पर्दै आएको छ । विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् ।
कालिगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरूको भनाइ छ । अमेरिका र अष्ट्रेलिया लगायतका नदीमा हुने जलयात्राभन्दा कालिगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो । कालिगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक प्रभावित हुने पर्यटन व्यवसायी बताउँछन् । कालिगण्डकीमा जलयात्राका लागि गन्तव्य स्थल बनाउनका लागि केही पूर्वाधारको व्यवस्था गर्न समेत पर्यटन व्यवसायीको आग्रह छ ।
पर्यटकले नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटक यात्रा तय गर्ने गरेका छन् । यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नविन केसीले बताए ।
कालिगण्डकी नदीको दोहनसँगै पछिल्लो समय विभिन्न ठाउँमा डुंगा सयरमा समस्या आउने गरेको छ । पर्वततर्फ निर्माण गरिएको कालिगण्डकी लोकमार्ग र बागलुङ–गुल्मीतर्फको कालिगण्डकी करिडोरबाट खसेका ढुंगामाटोले पनि नदी साँघुरिँदै गएकाले पहिले जस्तो सहज नरहेको पर्यटन व्यावसायी होम पुनले गुनासो गरे ।