Logo

४५ अर्बको सेयर निकाल्न बाटो खुला

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैल समक्ष मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै । तस्बिर सौजन्य : अर्थमन्त्रीको सचिवालय/रासस

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठले नियुक्ति पाएसँगै एक वर्षदेखि रोकिएको करिब ४५ अर्बबराबरको सेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने भएको छ ।

एक वर्षसम्म बोर्डमा अध्यक्ष नहुँदा ८० वटा कम्पनीको ४५ अर्ब रुपैयाँ हाराहारीको प्राथमिक सेयर निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति निष्काशन प्रक्रिया रोकिएको थियो । अब यी सबै किसिमका सेयर निष्कासनका लागि ढोका खुलेको छ ।

२०८० पुस २१ देखि रिक्त रहेको बोर्ड अध्यक्षमा सोमबार सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो । बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थ मन्त्रालयमा अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग शपथ लिएका हुन् ।

शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने प्रतिबद्धता जनाए । बोर्डसामु धेरै चुनौती रहेको भन्दै उनले त्यसको सामनाका लागि आफू तयार रहेको बताए । अर्थमन्त्री पौडेलले सबै प्रकारका आशंका चिर्ने गरी श्रेष्ठले काम गर्ने विश्वास व्यक्त गरे । सरकारले श्रेष्ठलाई प्रतिष्पर्धाका आधारमा बोर्ड अध्यक्ष नियुक्त गरेको उनले बताए ।

बोर्डका अनुसार गत शुक्रबारसम्म ७६ वटा कम्पनीले आईपीओ तथा १९ वटाले हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपैयाँबराबरको ३१ करोड ७८ लाख ९३ हजार तीन सय ५६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यसबाहेक ऋणपत्र, हकप्रद, एफपीओलगायत धितोपत्र जारी गर्न परेको आवेदन जोड्दा प्रक्रियामा रहेका कम्पनी संख्या झनै बढ्ने देखिन्छ  ।

हाल पुँजी बजारमा ६४ लाख ४९ हजार २८१ वटा डिम्याट खाता र मेरो सेयर लिनेको संख्या ५५ लाख ९ हजार ९३ छ । लगानीकर्ता तथा सरोकारवाला बोर्ड अध्यक्षको पर्खाइमा थिए । अध्यक्ष नियुक्तिसँगै सेयर बजारमा थप माहोल आउने लगानीकर्ताको अपेक्षा छ । ‘बजार चलायमान बनाउन नियामकले भूमिका खेल्न सक्नुपर्छ । बजारको विकासका लागि अनुसन्धान गर्न, नियमन गर्न, नीति बनाउन र कार्यान्वयन गर्न पनि नियामकको नेतृत्व हुँदा सहज हुन्छ,’ नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले भने ।

बोर्ड अध्यक्षले गर्ने सम्बोधन र कामले मनोबल बढ्ने लगानीकर्ताले बताएका छन् । बोर्ड अध्यक्षका रूपमा श्रेष्ठले लगानीको नयाँ बाटो खुलाउँदै जाने, ब्रोकरले नियामकले दिएको दायराभित्र बसेर लगानीकर्तालाई स्वस्फूर्त रूपमा छरितो सेवा दिने र लगानीकर्ताले पनि स्वनियममा बसेर कारोबार गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले लामो समय रिक्त रहेको बोर्ड अध्यक्षमा श्रेष्ठ आउँदा लगानीकर्ता निकै उत्साहित भएको बताए । रोकिएका सबै प्रक्रिया तत्काल खुला गर्नतिर अध्यक्ष लाग्नुपर्ने उनको जोड छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आइतबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसपछि सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । सिफारिस समितिले यसअघि पहिलो चरणमा छानिए पनि कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा सहभागी नभएका कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पछिल्लो पटक आइतबार बोलाएको थियो । तीनमध्ये कार्की र अधिकारी कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा उपस्थित भए । त्यसपछि बसेको सिफारिस समिति बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सेयर बजारमा हरियाली
कारोबारमा सुरुदेखि नै आएको सुधार तथा उतारचढावबीच मंगलबार सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३३.४१ अंकले बढेर परिसूचक २७१६.६६ बिन्दु कायम भएको छ । ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । सबै समूहको उपसूचक बढेको छ । जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्