Logo

बुटवलबाट चार महिनामा ९ हजार श्रमस्वीकृति

बुटवल– श्रम तथा रोजगार कार्यालय बुटवलले चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा जाने ९ हजार ३३९ जनालाई श्रमस्वीकृति प्रदान गरेको छ । यो साउनदेखि कात्तिक मसान्तसम्मको तथ्यांक हो ।

जसअनुसार साउनमा १ हजार ७३१, भदौमा १ हजार ३२४, असोजमा १ हजार ७२८ र कात्तिकमा ४ हजार ५४६ जनालाई व्यक्तिगत श्रमस्वीकृति प्रदान गरिएको श्रम कार्यालयका सूचना अधिकारी केशवराज भट्टराईले जानकारी दिए । गत आर्थिक वर्ष २०८०–८१ को सुरुवाती ४ महिनामा १० हजार ९४९ जनाले श्रमस्वीकृति लिएका थिए । यो वर्ष थोरै घटेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षभरमा कुल २२ हजार ४५९ जनाले श्रमस्वीकृति लिएको कार्यालयले जनाएको छ । श्रम तथा रोजगार कार्यालय बुटवल मातहत भैरहवामा पनि कार्यालय छ । बुटवल र भैरहवामा खासगरी पुन: श्रमस्वीकृतिको लागि आवेदन पर्ने गरेको छ । पहिले वैदेशिक रोजगारीमा गएर आएकाहरु फेरि सम्बन्धित देशमा जान खोजेको अवस्थामा पुन: श्रमस्वीकृति प्रदान गरिन्छ ।

जापानबाहेक अरु देश जानको लागि बुटवलबाट श्रमस्वीकृति लिन सकिन्छ । जापानको लागि काठमाडौंको ताहाचाल कार्यालय बाहेक अरु ठाउँबाट सबमिट हुँदैन । नयाँ र पुन: श्रमस्वीकृति दुवै बुटवलबाट गर्न सकिन्छ । तर, पुन: श्रमस्वीकृतिको तुलनामा नयाँ श्रमस्वीकृति निकै कम पर्ने गर्छ । नयाँ श्रमस्वीकृति लिएर विदेश जानेहरुले अभिमुखीकरण, स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पूरा गर्नुपर्छ ।

भिसा प्रक्रिया, म्यानवापर र स्वास्थ्य परीक्षणको लागि काठमाडौं जानुपर्ने कारण बुटवलबाट नयाँ श्रमस्वीकृति खासै हुन नसकेको श्रम कार्यालय बुटवलका सूचना अधिकारी केशवराज भट्टराईले बताए । ‘यहाँ अभिमुखीकरणको लागि ३ वटा स्थान छ । त्यसमा खासै समस्या छैन । स्वास्थ्य परीक्षणको लागि एउटा मेडिकल तोकिएको छ । खाडी मुलुक र मलेसियाको हकमा यहाँबाट मेडिकल हुँदैन,’ उनले भने, ‘पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरु संस्थागत रुपमा जाने गर्छन् । त्यसको लागि म्यानपावर कम्पनीहरु पनि काठमाडौंमै छन् । भिसाको लागि पनि काठमाडौं जानुपरेकाले नयाँ श्रमस्वीकृति यहाँबाट कम हुने गरेको हो ।’

हालैमात्र भैरहवाबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । ५ वटा विमान कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका छन् । यसले मुलुकको पश्चिम भेगकालाई वैदेशिक रोजगारीमा जान सहज भएको छ । तर श्रमस्वीकृति बाहेक अरु कतिपय प्रक्रियाको लागि काठमाडौं जानुपर्छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन श्रमस्वीकृतिसँगै स्वास्थ्य जाँच, अभिमुखीकरण, भिसा लगायतका प्रक्रिया रुपन्देहीबाट हुनुपर्ने आवाज उठ्ने गरेको छ ।

हालै सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा अन्तर्राष्ट्रिय उडानको निरन्तरताको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे उपस्थित कार्यक्रममा रुपन्देहीका उद्योगी, पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले अन्तर्राष्ट्रिय उडान निरन्तरताको वातावरण बन्नुपर्ने बताएका थिए । उनीहरुले भिसा, स्वास्थ्य परीक्षण लगायतका सहज सुविधा रुपन्देहीमै हुनुपर्ने धारणा राखेका थिए ।

साथै म्यानपावर कम्पनीहरु पनि रुपन्देहीमा स्थापना हुनुपर्ने उल्लेख गरे । मन्त्री पाण्डेले आफू काठमाडौं पुगेपछि सम्बन्धित सबै मन्त्रालयसँग छलफल गरेर यसबारे निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । काठमाडौं उपत्यकामा मात्र हाल १ हजार ६७५ म्यान पावर कम्पनी छन् । तर लुम्बिनी प्रदेशमा ५५ वटा मात्र म्यानपावरका शाखा छन् ।

यीमध्ये दाङमा ३, कपिलवस्तुमा २ वटा र बाँकी रुपन्देहीमा छन् । तर यस क्षेत्रमा म्यानपावरका मुख्य कार्यालय भने खुलेका छैनन् । म्यानपावरको मुख्य कार्यालय स्थापनाको लागि २ करोडदेखि ६ करोडसम्म धरौटी राख्नुपर्छ । शाखा स्थापनाको लागि ५ करोड धरौटी आवश्यक पर्छ । भैरहवाको अन्तरक्रियामा सहभागीहरुले रुपन्देहीमै म्यानपावर कम्पनी स्थापना हुने वातावरण सरकारले निर्माण गर्नुपर्ने माग गरेका थिए ।

भिसा, स्वास्थ्य परीक्षण प्रक्रियासँगै म्यान पावर कम्पनीहरु रुपन्देहीमा खुल्ने हो भने नयाँ श्रमस्वीकृति पनि बुटवलबाट धेरै हुने छ । नयाँ श्रमस्वीकृति पनि यहीबाट हुने वातावरण भयो भने भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनेछ । साथै आगामी दिनमा अन्तराष्ट्रिय उडानको संख्या थप हुने र यस क्षेत्रमा आर्थिक चलायमान हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्