Logo

शुलभ कर्जामा कृषकको आकर्षण

दाङ– घोराही उपमहानगरपालिका–१८ मसिनाकी भुमाकुमारी घर्तीे व्यावसायिक रुपमा तरकारी खेती गदै आएकी छन् । उनी करिव तीन वर्षदेखि सैघाली कृषि फर्ममार्फत तरकारी खेती गर्दै आएकी हुन् । कृषि व्यवसायमा लागेकी घर्तीलाई सरकारले प्रदान गर्न शुलभ कर्जाले थप सहज बनाएको छ ।

व्यावसायिक रुपमा अगाडि बढ्न सरकारबाट लगानी प्राप्त हुने सुलभ कर्जाले सहयोग पुर्‍याएको उनको भनाइ छ । ‘शुलभ कर्जा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएकी छु’ उनले भनिन्, ‘ बाहिरबाट ऋण लिनु भन्दा धेरै सस्तो व्याजमा पाइने गरेको छ’ । ब्याज कम भएपनि लगानी गर्न सहजता हुने गरेको उनी बताउँछिन् । यस प्रकारको ऋणले कृषि गर्न चाहनेलाई प्रोत्साहन गरेको उनी बताउँछिन् ।

शान्तिनगर गाउँपालिका–४ रोइनेघारीका देवीदत्त कँडेल पनि शुलभ कर्जाले कृषि व्यवसाय गर्न कृषकलाई सहयोग पुगेको बताउँछन् । ‘अन्यत्रबाट ऋण लिएर भन्दा सरकारले प्रदान गर्ने शुलभ कर्जा लिएर काम गर्न सहज भएको छ’ उनले भने । वास्तविक कृषकलाई सरकारले यस प्रकारको ऋण दिएर धेरै सहज बनाएको उनी बताउँछन् ।

‘ऋणको ब्याजसमेत कम रहेकाले लगानी गरेर ऋण तिर्नका लागि समस्या छैन’ उनले भने । उनले तिलादेवी बहुउदेश्य कृषि फर्म स्थापना गरी व्यासायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् । उनले विगत लामो समयदेखि कृषि व्यवसाय गर्दै आएको बताए ।

तुलसीपुर उपमहानगरपालिका–१८ निवासी शंकर नेपाली ५ वर्षदेखि कृषि पेशा गर्दै आएका छन् । उनले अम्विकेश्वरी बहुउदेश्य कृषि अनुसन्धानमार्फत कृषिलाई अगाडि बढाएका छन् । केही वर्षअघि विदेश गएर फकिएका उनले स्वदेशमै केही गर्न कृषि व्यवसाय अंगालेको बताए । ‘विदेशमा गएर अरुको काम गर्नु भन्दा आफनो देशमा मालिक बन्नु पर्दछ भनेर कृषि व्यवसायलाइ अगाडि बढाएको हुँ’ नेपालीले भने ।

उनले कृषि व्यवसाय गर्नका लागि ४५ विगाह जग्गा भाडामा लिएका छन् । जसको वार्षिक २० लाख भाडा तिर्ने गरेको उनको भनाइ छ । उनले अहिले २५ वटा भैंसी, १० वटा गाई, ८० वटा बाख्रा पनि पालेका छन् । फार्ममा उनले ३५ जनालाई रोजगारी दिएका छन् । हालसम्म कृषि व्यवसायमा ३ करोड बढी लगानी भइसकेको उनको भनाइ छ ।

कृषिको हब बनाउ योजनाका साथ उनले कृषि व्यवासय सुरु गरेको बताए । ‘कृषिको पर्यटकीय हब बनाउने योजना रहेको छ’ उनले भने, ‘जिल्लामा आएकालाई एक पटक कृषि फर्ममा आएर हेर्ने बनाउने योजना रहेको छ ।’ आफूले स्थानीय उत्पादन वृद्धि गर्ने र अन्यत्र निर्यात गर्ने योजना उनको रहेको छ ।

कृषि क्षेत्रमा लाग्नेलाई राज्यले समेत सहयोग गर्ने गरेको उनको भनाइ छ । ‘वास्तविक कृषि पेशा गर्नेलाई राज्यले पनि सहयोग गर्ने गरेको छ’ उनले भने, ‘राज्यले सहयोग गरेसँगै कृषिमा लाग्नेलाई सहज भएको छ ।’ प्रदेश सरकारबाट उनले सहुलियत रुपमा कर्जा पाएका छन् । जसले गर्दा व्यवसायमा लगानी गर्न सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्